पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७३ पुगेको छ। महामारीको अवस्थामा नागरिकको सहज पहुँच स्वास्थ्यमा हुन्थ्यो भने ती सक्रिय संक्रमित अस्पतालमा चिकित्सकको निगरानीमा बस्नुपर्ने हो। तर, यहाँ यस्तो छैन। सबै सक्रिय संक्रमितहरु घरमै आइसोलेसनमा बसेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।
घरमै बसिरहेका सक्रिय संक्रमितले स्वास्थ्य मापदण्ड पूरा गरेका छन् वा छैनन् भन्नेबारेमा पनि कुनै निकायले अनुमगन गरेका छैनन्। अनुगमन गर्ने संयन्त्र पनि छैन। अनुगमन नहुँदा गण्डकी प्रदेश पनि कोरोना संक्रमणको उच्च जोखिममा पुगेको छ।
सक्रिय संक्रमितका लागि स्वास्थ्य निर्देशनालयले १०९२ नम्बरको हटलाइन टेलिफोन उपलब्ध गराएको छ। यो नम्बरमा फोन गरेपछि संक्रमितले सेवा पाउने निर्देशनालयले बताएको छ। ‘घरमै आइसोलेसनमा बसेका सक्रिय संक्रमितलाई केही समस्या देखियो भने फोन गर्नुहुन्छ र हामी यहाँबाट चिकित्सकसहितको टोली गएर उहाँहरुको उपचार व्यवस्था मिलाउँछौं,’ डा. शर्माले नेपाल समयसँग भने।
निर्देशनालयले पोखरा र आसपासमा रहेका संक्रमितहरुको उपचार व्यवस्था त त्यसरी मिलाउला, तर पोखराबाट धेरै टाढाको दूरीमा रहेका गाउँका घरमा आएसोलेसनमा रहेका संक्रमितलाई समस्या देखियो भने कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा केही सोचेको छैन।
धमाधम संक्रमित र बिरामी थपिए भने कसरी व्यवस्थापन र उपचार गर्ने भन्नेबारेमा ठोस योजना पनि प्रदेशसँग छैन। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ। तर कोरोनाको पहिलो लहर मत्थर भएपछि केन्द्रको सक्रियता पनि मत्थर भएको छ।
कोरोना संक्रमण रोक्नका लागि प्रदेशमा रहेका मठमन्दिरमा पूजाआजा र मेलामा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले वैशाख पहिलो साता नै मुक्तिनाथ मन्दिर तथा गुम्बाहरु यो महिनाभरि बन्द गर्ने निर्णय गरेको छ। बढी भीडभाड हुने प्रदेशको अर्को चर्चित मन्दिर बागलुङ कालिकामा पनि भीडभाड गर्न रोक लगाइएको छ।
उता, सक्रिय संक्रमित घरमै आइसोलेट भएर थप जोखिम बढिरहेका बेला प्रदेशको ठूलो मानिने बागलुङको धौलागिरी अस्पतालमा जनशक्ति अभाव भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले अस्पतालमा चिकित्सक अभाव भएको बताए। ‘दुई जना फिजिसियन हुनुहुन्छ, उहाँहरुले आईसीयू, आइसोलेसन, ओपीडी, इमरजेन्सी, वार्ड सबै भ्याउनुपर्छ,’ पोखरेलले नेपाल समयसँग भने, ‘कामको चापले ज्वरो निकालेको छ।’
अस्पतालमा यसअघि ६ जना मेडिलक अफिसर कार्यरत थिए। करारमा भएका कोही थप अध्ययन गर्न गए, कोही सरुवा भए। अहिले दुईजनाको भरमा अस्पतालले सेवा दिइरहेको छ। अस्पतालमा ६ जनाको दरबन्दी भए पनि जनशक्ति अभाव छ। डा. पोखरेलका अनुसार अस्पतालको क्षमता र अस्पतालले सेवा दिने जनसंख्याअनुसार यहाँ कम्तिमा १४ जना मेडिकल अफिसर आवश्यक पर्छ। प्रदेशकै ठूलो अस्पतालमा विषेशज्ञ डाक्टरको पनि अभाव छ।
सरकारले केही समयअघि अस्पतालको स्तरोन्नति गरी दुई सय शैय्याको बनाउने घोषणा गरेको थियो। त्यो घोषणा पनि घोषणामा नै सीमित भएको छ। २०६६ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरवृद्धि भएको अस्पतालमा त्यतिबेलैदेखिको दरबन्दी कायम छ। ५० शैय्या क्षमताका लागि निर्धारण गरिएको ७८ जनाको दरबन्दीमा मुस्किलले आधामात्रै जनशक्ति छ।
अस्पतालमा जनशक्ति अभाव भयो भन्दै डा. पोखरेल संघ र प्रदेश सरकारमा पनि धाए। तर दुवै सरकारले जनशक्ति उपलब्ध गराउन सकेनन्। ‘काठमाडौं पनि गएँ, पोखरा पनि गएँ तर जनशक्तिको अभाव पूरा हुन सकेन,’ उनले भने।