हिमालहरू जसरी निर्धक्क खुलेका छन्, पाेखराका पर्यटन व्यवसायीको मन त्यसरी खुल्न सकेकाे छैन। उनीहरूको मनमा डर र चिन्ताको तुवाँलो छाएको छ।
पोखरा - महामारी नहुँदो हो त पोखरा यतिबेला पर्यटकले भरिभराउ हुन्थ्यो। के साँझ के बिहान हरक्षण पर्यटकको चहलपहल देख्न पाइन्थ्यो पोखरामा।
मौसम पनि त पर्यटनकै जो छ। अहिले हिमालहरू धक फुकाएर खुलेका छन्। यसरी खुलेका हिमालहरूसँग अन्तरंग गर्न पाउँदा पर्यटक कति रमाउँदा हुन् ? हिमालले पनि पर्यटकमाझ आफूलाई पस्किन पाउँदा गति गौरवको महसुस गर्दो हो ?
हिमालहरू जसरी निर्धक्क खुलेका छन्, पाेखराका पर्यटन व्यवसायीको मन त्यसरी खुल्न सकेकाे छैन। उनीहरूको मनमा डर र चिन्ताको तुवाँलो छाएको छ।
साँझ परेपछि जहिल्यै गुल्जार हुने पोखराको लेकसाइड अचेल घामसँगै अस्ताउँछ। यहाँ पर्यटकीय चहलपहलको ध्वनि होइन, प्रहरीको सिट्ठीका आवाज सुनिन्छन्।
‘यहाँको पर्यटन उद्योग अहिले ८० प्रतिशत डाउन भइसक्यो,’ पोखरा पर्यटन परिषद् अध्यक्ष गोपी भट्टराई भन्छन्।
कोभिड–१९ महामारीको पहिलो लहरले थिचिएको पोखराको पर्यटन विस्तारै तंग्रिने प्रयत्न गर्दै थियो। फेरि महामारीको दोस्रो लहर सुरु भएसँगै यहाँको पर्यटनमा कालो बादल मडारिएको छ। धर्मराएको छ।
अहिले पोखराका पर्यटन व्यवसायीहरू खोल्नका लागि मात्रै व्यवसाय खोलेर बसेका छन्। ‘अब बन्द गरेर पनि विकल्प त छैन,’ भट्टराईले भने।
पर्यटनको सिजनमै ८० प्रतिशतसम्म व्यापार घाटा हुँदा चिन्ता थपिएको यहाँको व्यवसायीको गुनासो छ।
घरभाडा, मजदुरको तलब, बैंकको ऋणलगायतको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवसायीमा चिन्ता थपिएको भट्टराईको भनाइ छ।
कोरोनाको पहिलो लहर आएका बेला गत वर्ष पनि सिजनमै सरकारले लकडाउन ग¥यो। २०७७ असोज १५ गतेदेखि लकडाउन खोलिएपछि यहाँका होटलको ‘अकुपेन्सी’ १० देखि १५ प्रतिशतसम्म पुगेको थियो। तर, फेरि भारत हुँदै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेपछि होटलको अकुपेन्सी पाँच प्रतिशतभन्दा तल झरेको छ।
‘अहिले पोखराको पर्यटन व्यवसायमा ३५ हजार भन्दा बढी मजदुर आश्रित छन्, अब व्यवसाय नचले उनीहरूको भविष्य के हुन्छ ?,’ भट्टराईले चिन्ता व्यक्त गरे।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले होटलहरूको बुकिङ् धमाधम रद्द भइरहेको बताए। ‘केही सेमिनार र संस्थागत भ्रमणका बुकिङ्हरू आएका थिए, ती सबै रद्द भएका छन्,’ उनले भने।
यस क्षेत्रको पर्यटनमा प्रमुख मानिने पदयात्राको हालत पनि उस्तै छ। यस क्षेत्रका प्रमुख पदयात्रामार्गहरू अहिले सुनसान छन्। लकडाउन खोलिएपछि केही आन्तरिक पर्यटकले यहाँका पदयात्रा मार्गलाई तंग्राउन खोजेका थिए। तर, कोरोना संक्रमण एकाएक बढ्न थालेपछि पदयात्रा पर्यटन पनि धर्मराएको छ।
‘खासगरी पर्वतारोहण र साहसिक पर्यटनको सिजन हो, केही माउण्टेनियरिङ् ट्रेकको बुकिङ् हुनेवाला थियो, त्यो पनि सकियो,’ ट्रेकिङ् एजेन्ट्स एशोसिएसन अफ नेपाल पोखरा च्याप्टरका अध्यक्ष सुशीलराज पौडेलले भने।
अन्नपूर्ण, मनास्लु फेरो, धौलागिरि र मर्दी हिमाल रुट गण्डकी प्रदेशका ठूला पदयात्रा मार्ग हुन्। अन्य साना र छोटा पदयात्रा मार्गहरू यिनैसँग जोडिएर निर्माण भएका छन्।
यी पदयात्रा मार्ग कोरोनाको चपेटामा परेपछि यो पर्यटनसँग आबद्ध गाइड, भरिया तथा उनीहरूको परिवार साथै पदयात्रा मार्गमा सञ्चालन भएका होटल तथा टी हाउसहरू पनि थलिएको पौडेलले जानकारी दिए ।
सरकारले घोषणा गरेरै लकडाउन नगरेको भए पनि पर्यटन व्यवसायीहरूलाई भने लकडाउन जस्तै भएको छ।
कोरोनाको पहिलो चरणमा त उनीहरूले जसोतसो थेगे, अब यो अवस्था लम्बियो भने थेग्न सक्ने अवस्था नरहेको उनीहरू बताउँछन्।
‘अब विशुद्ध पर्यटन व्यवसाय मात्रै गरेर नहुँदो रहेछ भन्ने व्यवसायीहरूमा परिसक्यो, मजदुरहरूमा पनि यो क्षेत्रमा भविष्य छैन भन्ने मानासिकता विकास हुँदै गएको छ,’ परिषद् अध्यक्ष भट्टराई भन्छन्, ‘यसै त पर्यटन क्षेत्रमा मानव संशाधान अभाव छ, त्यसमा पनि अहिलेको महामारीका कारण मजदुरहरूले छोडेर जाने, अनि नफर्किने अवस्थामा पोखराको पर्यटन उद्योगको हालत कसैले आकलन गरेको छैन।’