काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव पार्टीको आधारभूत मान्यता विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डेसहित चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक प्रस्ताव अघि सारेका छन्।
पाण्डेसहित पार्टीका केन्द्रीय सचिवालय सदस्यत्रय केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन्। मिश्रको व्यक्तिगत धारणा पार्टीको आधारभूत मान्यताकै विपरीत भएको निष्कर्ष उनीहरुको छ।
वैकल्पिक राजनीतिमा आउन सक्ने वैचारिक विचलन रोक्न भन्दै आफूहरुले नयाँ प्रस्ताव अघि सारेको उनीहरुले जनाएका छन्। केही दिनअघि व्यक्तिगत धारणा भन्दै मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्षतामा जनमत संग्रह र राजतन्त्रको पक्षपोषण गर्दै ‘मार्ग परिवर्तन’ नामक प्रस्ताव ल्याएका थिए।
मिश्रको उक्त प्रस्तावका मूल एजेन्डाहरू पार्टीको उद्देश्य र आधारसँग मेल नखाने भन्दै त्यो दिशातर्फ गए वैकल्पिक राजनीतिको मर्म मर्ने र पार्टी दुर्घटनामा पर्ने भएकाले मूल बाटोमा फर्काउन यो कदम चालिएको नेताहरुको दाबी छ।