सोमबार, असार २९, २०८३

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् नेपाली चेली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ । 

बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायतका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ । 

'हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्,', माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, 'दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन् ।' अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ । 

स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ । पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुवई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ । 

'पहिले जस्तो भारतकै कोठीमा बेचिने क्रम अलि कम भएको छ,' संयोजक भट्टले भनिन्, 'अहिले दलाल समूह युवतीलाई अनेकन प्रलोभनमा पारेर तेस्रो मुलुक पठाउने काममा बढी सक्रिय देखिन्छ ।'

बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पुर्‍याउन आफै जाने गरेका छन् । 'सबै कागजात दिल्लीमै छ भनेर लगिन्छ,' उनले भनिन्, '“विश्वासमा परेर आफन्तहरु नै सीमा कटाउन संलग्न भएका धेरै घटना छन् ।'

माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्याङ्क छ । गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवालगायत जिल्लाका बढी रहेको भट्टले जानकारी दिइन । 

पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ । भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन् । नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ । माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो । 

माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा दुर्इ सय चार जनाको निवेदन परेको थियो । ती मध्ये २८ जना मात्रै भेट्टिएको र ५५ जना हराएको निवेदन परेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।