काठमाडौं- सोमबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओली कालो कोट र सेता दौरा सुरुवालमा सजिएर प्रदेश नम्बर–३ को संसद भित्र प्रवेश गरे । राष्ट्रिय गान पछि सभामुख सानु श्रेष्ठले बैठक शुरु भएको घोषणा गरे ।
ओलीले ब्यासआसनमा पण्डित झैं बसेर संसदमा सम्बोधन गर्न थाले । सम्बोधनका क्रममा उनले भने, ‘हाम्रा पुर्खाले नखाएको पात थिएन, जरा थिएन, बोक्रा थिएन ।’ यही कारण हामी नेपाली ऋषिको सन्तान भएको र नेपाल तपोभूमि भएको सन्दर्भ सुनाए ।
संसारमा कतै औषधिको विकास नभएको बेला नेपालमा ऋषिहरुले आयुवेद औषधी तयार गरेको बताए ।
प्रदेश नम्बर ३ को संसदमा ओलीको सम्बोधन सुन्दा उनी भ्यालेन्टाईन डेदेखि परिवार नियोजन सम्म राम्ररी ज्ञान भएको कुरा थाहा हुन्छ । रसायन प्रयोग गरिएका आयातित माछा स्वास्थ्यको लागि हानिकारक भएको भन्दै ओलीले भने, ‘आयत गरिएका माछा हामी खान्छौ परिवार नियोजन गर्ने पर्दैन । १० वर्षमा मान्छे नपुंशक हुन्छ ।’ उनले प्रेम दिवसको प्रसंग निकाल्दै ओलीले आफूलाई प्रेमी दर्शाए । भ्यालेन्टाईन डे को अघिल्लो दिन धेरै गुलाफ आयात हुने सन्दर्भ उठाएर यो राम्रो संस्कार नभएको बताए ।
ओलीको अर्को रुप थियो भ्रष्टचार बिरोधी । उनको कथन थियो भ्रष्टचार गर्नेको त्यो जतिसुकै ह्याण्डसम भएपनि अनुहार हेर्दिन ।
आफ्नो भारतभ्रमणका विषयमा भएको टिप्पणीको कुरा उठाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पहिला कता गयो भन्ने ठुला कुरा होइन, सार्बभौमसत्ता कस्तो रहयो, सम्झौता कस्तो भयो भन्ने कुरा मुख्य हो ।’
सबैसँग मित्रवत व्यवहार राख्ने भन्दै ओलीले भने, ‘हामी जुंगाको लडाई लड्दैनौं, बरु जुंगा नै खोरिन्छौ ।’
उनले लोकतन्त्र भनेको चुन्न चुनिन र भोट हाल्न मात्र नभई मानवीय आवश्यकताको परिपुर्ति भन्दै चरा र मुसाको जीवनलाई समेत संसदमा सुनाए । ‘बिहानै चार गुँडबाट निस्कन्छ चारो खोज्न हिड्छ, बिहानै मुसा दुलो बाट निस्कन्छ त्यो पनि चारो खोज्न हिड्छ, तर हामी यो जमानाका मान्छेको पनि त्यही हालत छौं,’ ओलीको कथन थियो ।
उनले बिद्धानहरु माथि पनि बिस्तारै प्रहार गरे । ‘बहुमतको स्थिर सरकार चाहियो भनेर लेख्ने बिद्धान सर्टिफिकेटधारीहरु अहिले बहुमतले अधिनायकवाद ल्याउने कुरा गर्छन,’ ओलीले भने ।
उनले यसभन्दा अघि प्रयोग गर्ने गरेको महाभारतको उदाहरण समेत संसदमा सुनाउन भ्याए । ‘महाभारतमा द्रोणचार्यले अर्जुनलाई सोधे रुख देख्छौ भन्दा अर्जुनले देख्दिन भनेँ । हाँगा देख्छौ भन्ने प्रश्नमा पनि देख्दिन भने । चरा देख्र्छौ भन्दा चरो पनि नदेखेको बताए । फेरि द्रोणचार्यले झोक्किएर के देख्छौ त ? भन्दा अर्जुनले जवाफ दिए म चराको टाउको मात्र देख्छु,’ संसदमा ओलीले सुनाए । उनको यो सन्दर्भ भने आफु समृद्धि बाहेक अरु केही देख्दिन भन्नेमा थियो । ‘समृद्ध नेपाल भनेको कुनै भुगोल विशेष हैन । सम्र्पूण नेपाल हो’ प्रधानमन्त्री ओलीले भने, ‘अनि सुखी नेपाली भन्नुको अर्थ प्रतिपक्षी नभएको भन्ने होइन । सबै सुखी हुनुपर्छ भन्ने नै हो ।’
संसदमा ओलीको अर्को रुप थियो कवि । उनले भाषणका क्रममा यसरी कविता भने ‘जुन लाई टाढाबाट हेर प्रिय नजिकबाट हेर्दा दाग देखिन सक्छ ।’ उनले यो भनाईबाट भ्रष्टचारलाई नजिकबाट हेर्न समेत आग्रह गरेका थिए ।
यमराज र चित्र गुप्तको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री ओलीले चित्रगुप्तको हिसाब किताब तल माथि हुदैन, अहिलेका जनता त्यस्तै रहेको बताए । उनले आफू प्रधानमन्त्री कार्यालयमा आफ्नो फोटो झुनड्याउनमात्र नभई नेपाललाई नै अघि बढाउन पुनः प्रधानमन्त्री भएको सुनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४