काठमाडौं – बाँके कोरोना संक्रमणको हटस्पट बनेको छ। भेरी अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन्। कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पनि कोरोना संक्रमितले भरिएको छ।
बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मात्र कोरोना संक्रमितको उपचार भइरहेको छ। भेरी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका १ सय ४० बेड सबै भरिएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए।
संक्रमितमध्ये आठ जना भेन्टिलेटरमा छन् भने उपचार गराइरहेका ८० प्रतिशतलाई अक्सिजन दिइरहनुपरेको डा. रिसालले बताए। उनले भने, ‘अवस्था भयावह छ। अब हामीलाई धान्न गाह्रो छ।’
भेरी अस्पतालमा बेड नभएपछि करिब ६०० जना बिरामीलाई होम आइसोलेसनमा बस्न परामर्श दिइएको जानकारी उनले दिए। डा. रिसालले भने, ‘बुधबारदेखि नै अस्पतालका बेड भरिएका हुन्।’ अस्पतालमा बिहीबार ३५० जनामा पीसीआर परीक्षण गर्दा २०५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
यस्तै कोहलपुर मेडिकल कलेजमा ६५ बेड भए पनि ६९ बिरामी भर्ना भएका छन्। बेड अभावमा सास्ती खेप्दै उपचार गरिरहेको मेडिकल कलेजका सहायक निर्देशक नितेश कनौडिया बताउँछन्।
कलेजले एक सय बेड कोरोनाका लागि छुट्याउने तयारी गरे पनि अहिले ६५ बेडबाट सेवा दिइरहेको छ। अक्सिजन पाइप अभावमा सबै बेडबाट सेवा दिन गाह्रो भइरहेको कनौडियाले बताए। उनका अनुसार अस्तालमा थप बिरामी भर्ना गर्न सकिने अवस्था छैन।
बेड अभावले अन्य बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपरिरहेको स्वास्थ्यकर्मीको गुनासो छ। कतिपय बिरामीलाई उपचारै नगरी फर्काउन थालिएको कनौडियाले बताए। उनले भने, ‘अलि सहज प्रकृतिका बिरामीलाई ठाउँ अभावमा परामर्श दिँदै घर पठाउन थालेका छौं। कतिपयलाई फोनबाट पनि परामर्श दिने गरेका छौं।’
कोहलपुर मेडिकल कलेज सुदूरपश्चिम र मध्य पश्चिमको रेफरल अस्पताल भएकाले अन्य गम्भीर प्रकृतिका बिरामीको पनि उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। उनले भने, ‘एउटै भवन भएकाले सबै खाले बिरामीको उपचार गर्न गाह्रो छ।’
गम्भीर प्रकृतिका र निमोनिया भइसकेका बिरामी संख्या दिनहुँ बढ्न थालेकाले आईसीयू अभाव भइरहेको कनौडिया बताउँछन्। ‘आईसीयू र भेन्टिलेटर भरिभराउ छन्। बेडमा गम्भीर बिरामी छटपटाइरहेका छन्। अब बेलैमा सरकार गम्भीर हुन आवश्यक छ’, उनी भन्छन्, ‘बाँकेका सबै अस्पतालमा गरी बेड संख्या १५ सय पनि छैनन्। यो भयावह अवस्थालाई हामीले कसरी नियन्त्रण गर्ने?’
मेडिकल कलेजको आफ्नै ‘अक्सिजन ट्यांक’ भए पनि आपूर्तिको समस्या भइरहेको उनले बताए। ‘कोरोना वार्डमा अक्सिजन पाइपलाइनको समस्या छ। त्यसलाई हामीले सकेजति व्यवस्थापन गरिरहेका छौं’, उनले भने। अस्पतालमा शुक्रबार बिहान मात्रै दुई संक्रमितले ज्यान गुमाएका छन्।
बाँकेमा गम्भीर खालका संक्रमित संख्या ह्वात्तै बढेको छ। रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने बिरामीको संख्या बढ्दै गएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओली बताउँछन्।
‘बाँकेको अवस्था नियन्त्रणबाहिर गइसक्यो। दिनकै बिरामीले ज्यान गुमाइरहेका छन्। लक्षण देखिएका बिरामी ह्वात्तै बढिरहेका छन्। अस्पतालमा बेड अभाव छ’, उनले भने।
ओलीले सरोकारवाला निकाय गम्भीर नबने अवस्था एकदमै भयावह हुने चिन्ता व्यक्त गरे। ‘अब बिरामीले बेड र अक्सिजन नपाएर मर्ने अवस्था आउँछ। मान्छेलाई कोरोना वार्डको गेटसम्म पुग्न पाए हुन्थ्यो लागिरहेको छ। बाहिरै उपचार गरिरहेका छौं’, उनले भने।
स्थानीय र प्रदेश सरकारले केन्द्र सरकारको मुख नहेरी हजार बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउनुपर्ने कोरोना फोकल पर्सन ओलीको तर्क छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल जिल्लामा पीसीआर परीक्षण गर्दा ६० देखि ८० प्रतिशतमा कोरोना पुष्टि भइरहेको बताउँछन्। यसले जिल्लामा संक्रमणले भयावह रुप लिइरहेको प्रस्ट भएको उनको भनाइ छ।
‘स्रोतसाधन अभाव छ। स्वास्थ्यकर्मीको समस्या छ। बेड अभाव छ। यस्तो बेला सबै सजग हुनुपर्छ’, उनी भन्छन्।
अस्पताल पुगेर बिरामीले बेडका लागि स्वास्थ्यकर्मीलाई हारगुहार गरिरहे पनि पाउन निकै गाह्रो रहेको उनले बताए।
भारतसँग जोडिएको खुला सीमाका कारण जिल्लामा संक्रमण तीव्र फैलिएको जनगुनासो छ। पहिलो संक्रमणबाट सरकारले पाठ सिकेर भारतमा दोस्रो लहर फैलिँदा नेपाली सीमा नाकामा समयमै कडाइ गर्नुपर्नेमा त्यो हुन नसकेको स्थानीय बताउँछन्। बाँकेमा शुक्रबार यो समाचार तयार पार्दासम्म १ हजार ६ सय ५९ संक्रिय संक्रमित छन्।
प्रदेश र केन्द्र सरकार रमिते बने : उपप्रमुख थापा
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर बाँकेमा कोरोना भयावह बन्दा पनि प्रदेश र केन्द्र सरकारले कुनै वास्ता नगरेको आरोप लगाउँछिन्। उनले स्थानीय सरकारले उपमहानगरको मनिकापुर-३ राँझामा १२० बेडको आइसोलेसन सेन्टर तयार गरेको बताइन्।
‘अहिले सोही आइसोलेसनमा बिरामी बसिरहेका छन्। तर, बेड भरिएकाले थप संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या छ। प्रदेश र केन्द्र सरकारको यतातिर चासो नै छैन’, उनले भनिन्।
व्यवसायीसँग मिलेर भेरि अस्पतालमा ६५ बेडको अक्सिजनसहितको आईसीयू कक्ष पहिलो पटक र फेरि ८० बेडको कक्षसहित १४२ बेड स्थानीय सरकारले तयार गरेको उनको भनाइ छ। अहिले तीनै बेडमा बिरामीको उपचार भइरहेको उनले बताइन्।
‘हामीले तत्काल संघ र प्रदेशलाई हेरिदिनुपर्यो भनेर पत्र लेखेका छौं। तर, सुनुवाइ नै हुँदैन’, उनले भिनन्।
नेपालगन्जमा ५० बेडको भवन डेडिकेटेड अस्पताल बनाउने योजना भए पनि अक्सिजन सिलिन्डर अभावले काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ।
उनले खुला नाका रहेकाले नेपालगन्ज संक्रमणको उच्च जोखिममा रहेको बताइन्। ‘हामीले सीमामा कडा गरेका थियौं। मानिसहरु चोरबाटोबाट नेपाल भित्रिरहेका छन्। तिनैबाट जोखिम बढेको छ’, उनले भनिन्।
‘शंकास्पद संक्रमितलाई क्वारेन्टाइनमा राख्ने, प्रमाणित भएका संक्रमितलाई आइसोलेसन गर्ने र संक्रमणको जोखिम क्षेत्रको आवागमन बन्द गर्नुपर्छ’, उनी भन्छन्।
के छ सरकारको आपत्कालीन तयारी?
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक कृष्णप्रसाद पौडेलले आफूहरूले यसबारे आग्रह गरिरहे पनि सुनुवाइ नभएको बताए।
‘जोखिम घटेको छैन भन्दै हामी कराएका कराएै थियौं। कसैले सुनेनन्। राजनीतिक सभा–सम्मेलन रोकिएन। अनि अहिले अवस्था भयावह भयो’, उनी भन्छन्।
२०७६ वैशाख ६ गते नै सरकारले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइसकेको बताए। उनले आपत्कालीन अवस्थामा स्थानीय तहले नै आवश्यक निर्णय लिएर अगाडि बढ्न सक्ने बताए।
उपमहानगरपालिकाको हकमा पाँच सयभन्दा बढी संक्रमित भए आफैं निर्णय लिन सक्ने अधिकार स्थानीय तहलाई छ। नेपालगन्ज उपमहानगरपालिकाले सोहीअनुरुप काम गरिरहेको पौडेलले बताए। जोखिमयुक्त स्थानका भीडभाड हुने क्षेत्र बन्द गर्न पनि सरकारले निर्देशन दिइसकेको उनले बताए।
सरकारको निर्देशनअनुसार काम गरेमा केही हदसम्म संक्रमण नियन्त्रण गर्न सकिने बताए। प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएकाले स्थानीय तहमै योजना बनाएर जोखिम नियन्त्रण गर्न सकिने उनको भनाइ छ।