काठमाडौं - स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेविरुद्ध सानदार जित निकालेको छ।बार्सिलोनाको क्याम्प नोउमा भएको खेलमा घरेलु टिमले गेटाफेलाई ५–२ गोलअन्तरले हराएको हो।
बार्सिलोनाको जितका लागि मेस्सीले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, १२ औं मिनेटमा बार्सिलोनाका क्लिमेन्ट लगेन्लेटले आफ्नै पोस्टमा गोल गरेपछि भने खेल बराबरीमा आएको थियो।
यता २८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आफ्नै पोस्टमा गोल गरे भने ३३ औं मिनेटमा मेस्सीले गेटाफेकै पोस्टमा गोल गरे। यससँगै बार्सिलोनाले पहिलो हाफमा ३–१ गोलको अग्रता बनायो।
दोस्रो हाफको ६९ औं मिनेटमा गेटाफेका एनिस उनालले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए। त्यसपछि बार्सिलोनाका रोनाल्ड अराउजो र एन्टोनी ग्रिजम्यानले गोल गर्दै घरेलु टिमलाई सानदार जित दिलाएका थिए। यो जितसँगै बार्सिलोनाले ३१ खेलबाट ६८ अंक बनाएको छ। ऊ शीर्षस्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि छ।
एट्लेटिकोले पनि गएरातिको खेलमा ह्वेस्काविरुद्ध जित निकाल्दै शीर्षस्थानमा उक्लिएको थियो। यता दोस्रो स्थानमा झरेको रियल मड्रिडको ७० अंक छ।