काठमाडौं– दुई दशकभन्दा बढीको पर्खाइपछि राजधानीमा ल्याइएको मेलम्चीको पानीले राजधानीको सडक जलमग्न हुन थालेको छ। पाइप फुट्दा सडकभरि पानी बगेको छ।
काठमाडौंका बालाजु, बौद्ध, थापागाउँ, बालुवाटार लगायतका तीन सय २० स्थानमा पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख मिलन शाक्य बताउँछन्। उनी भन्छन्, ‘तीन सय २० मध्ये दुई सय ठाउँमा मर्मत गरिएको छ। अन्य ठाउँमा पनि मर्मत कार्य चलिरहेको छ।’
केयूकेएलले खुमलटारबाहेक अन्यत्र पुरानै वितरण प्रणालीमा मेलम्चीको पानी वितरण गरेको छ। शाक्य भन्छन्, ‘पानीको फोर्स धान्न नसक्दा पुराना पाइप फुटेका हुन्।’ उनले एउटा धारामा वितरण भएको पानीमध्ये दैनिक करिब ५०० लिटर सडकमै खेर गइरहेको बताए
निर्माणको काम पूर्ण रुपमा सम्पन्न गरेर ती पाइपमा परीक्षण सफल भएपछि मात्रै पानी काठमाडौं झारेको भए यस्तो नआउने शाक्य स्वीकार गर्छन्। उनी भन्छन्, ‘वर्षाैं पुराना पाइपमा पानी छोड्दा उच्च बहावले धान्न नसकेका कारण पाइप फुटेको हो।’
केयूकेएलले पहिलो चरणमा महांकाल चौर, मीनभवन, खुमलटार र अनामनगरस्थित ओभर हेड ट्यांकीबाट चार करोड लिटर पानी भरेर वितरण परीक्षण सुरु गरेको थियो। दोस्रो चरणमा बालाजु र तेस्रो चरणमा पानीपोखरी र बाँसबारीस्थित पोखरीबाट पानी वितरण भइरहेको छ।
बुधबारदेखि भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएको छ। मध्यपुर थिमी नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत वितरण सुरु भएको हो। स्थानीय बासिन्दालाई दैनिक १० लाख लिटर मेलम्चीको खानेपानी वितरण गरिनेछ। केही दिनभित्रै मध्यपुर थिमी क्षेत्रमा दैनिक ३० लाख लिटर खानेपानी वितरण गरिने शाक्यले बताए।
मेलम्चीबाट आएको १७ करोड लिटर पानी नै केही नयाँ र अधिकांश पुरानै प्रणालीबाट वितरण गरिएको छ। राजधानीमा दैनिक ४३ करोड लिटर पानीको माग छ। १७ करोड लिटर पानीले केही राहत दिए पनि पुरानै पाइप र वितरण प्रणालीका कारण समस्या देखिएको हो।
अझै काम बाँकी छ आयोजनाको
३५ अर्ब लगानीमा निर्माण भएको आयोजनाको काम भने अझै बाँकी छ। अहिले मेलम्ची खोलाको पानी अस्थायी बाँध बनाएर सुन्दरीजलस्थित पोखरीमा झारिएको छ। स्थायी रूपमा व्यवस्थित पानी पठाउन चाहिने ‘हेडवक्र्स’ भनिने निर्माणकार्य अझै सकिएको छैन। कतिपय ठाउंँमा धारा जडान बाँकी नै छ भने काठमाडौं उपत्यकाका विभिन्न १० मध्ये ९ ठाउंँको मात्रै ट्यांकी निर्माण भएको छ।
एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा आर्थिक वर्ष २०५८/५९ देखि सुरु गरिको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झर्न २० वर्ष लाग्यो।
सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ र ०७२ सालको भूकम्प, भारतले लगाएको नाकाबन्दी लगायतका थुप्रै समस्याबाट आयोजना प्रभावित भएको थियो।
भिडियाे : गिरी प्रसाद भुसाल।