काठमाडौं– नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बुधबार बिहान ११ बजे शंखमूलस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाइएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।
‘पार्टी एकताका लागि भइरहेका प्रयास लगायतका विषयमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भनिन्,‘पछिल्लो घटनाक्रम र पार्टी एकताका प्रक्रियाकै विषयमा छलफल हुन्छ।’
सरकारमा सहभागी हुनुपर्ने गठबन्धनका दलहरूको दबाबकै बीच केन्द्रीय सदस्यहरूसँग नेता नेपालले यसबारेमा पनि धारणा लिने बताइएको छ ।
नेपाल निकट तेस्रो तहका केही नेताहरूले सरकारमा सहभागी हुनुपर्ने बताउँदै आइरहेका छन् भने दोस्रो तथा एकताका लागि क्रियाशिल विघटित कार्यदलका सदस्यहरू भने सरकारमा संलग्न भए पार्टी एकताको सम्भावना समाप्त हुने बताउँदै आएका छन्।
सोमबार नेता नेपालले आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा नेता नेपालले सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए।
पार्टी एकताका लागि गठित कार्यदलमा रहेका नेपाल समूहका नेताले सकेसम्म एकता नै गर्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन्। विघटित कार्यदलका दुवै तर्फका नेताहरू एकता जोगाउनुपर्ने भन्दै निरन्तर रुपमा छलफलमा केन्द्रीत छन्। तर, ठोस निष्कर्ष निस्कन सकेको छैन।
१० बुँदे सहमतिमै टेकेर एकतालाई अघि बढाउनुपर्ने बताउँदै आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन्। दोस्रो अध्यक्षसमेत दिन तयार रहेको भनी पार्टी अध्यक्ष र उनी निकट नेताहरूले गरेको प्रस्तावमा पनि नेपाल सहमत भइसकेका छैनन्।