काठमाडौं- त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ६९ रनको सानदार जित निकालेको छ।
नेपाली ब्याट्स्मेनले बिस्फोटक ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा २१७ रन बनाएको थियो।
२१८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा निस्किएको मलेसिया पाँच बल बाँकी रहँदै पुरा विकेट गुमाएर १४८ रनमा समेटिएपछि नेपालले सानदार जित निकालेको हो।
नेपालको जितका लागि करण केसीले १३ बलमा सात छक्कासहित ४५ रन बनाएपछि अन्तिम चार ओभरमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। उनलाई सियल अजिजले अनवर रमहानको हातबाट क्याचआउट गराए। त्यसअघि ओपनिङमा आएका कुशल भुर्तेलले १६ रन बनाउँदा अर्को ओपनर आसिश शेखले ४२ रन बनाए।
त्यस्तै, कप्तान ज्ञानेन्द्रमल्ले पाँच बाउन्ड्रीसहित ४१ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन जोड्दै पेवेलियन पर्किए।
खेलमा अवितिज रहेका कुशल मल्लले १९ रन जोडे। खेलका दौरान नेपाली खेलाडीले १९ छक्का बनाए भने नौ चौका प्रहार गरे।
ठूलो सट खेल्ने क्रममा विनोद भण्डारी भने आठ रनमै क्यटआउट भए। मलेसियाका लागि फित्री शम, सियाद अजिज र अनवर रहमानले समान २–२ विकेट लिए भने मुहम्मद वाफिक विकेट गिराए।
दोस्रो इनिङमा मलेसियाका लागि अहमद फिजले ३१, विरन्दिप सिंहले १३, अमरुद्धिन रामलीले ४१ र फित्री शामले १४ रन बनाए।
नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले समान ३–३ विकेट लिए। ऐरीको टी–२० अन्तराष्ट्रियमा यो डेक्यू खेलसमेत हो।
यससँगै नेपालले लिग चरणमा चार खेलबाट तीन जितसहित ६ अंक जोडेको छ भने नेदरल्यान्ड्सको पाँच अंक छ। त्यस्तै मलेसियाले एक अंकमा चित्त बुझएको छ।
फाइनलमा पुग्नबाट चुकेको मलेसियोको जारी सिरिजमा यो अन्तिम खेल हो। नेपालले भने फाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। फाइनल खेल आगामी शनिबार यही मैदानमा हुनेछ।