काठमाडौं - इटालियन सिरी ए को शीर्षस्थानमा रहेको इन्टर मिलान १५ औं स्थानको स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको छ।
जारी सिजनमा सुरुआतबाटै उत्कृष्ट खेलका साथ सानदार जित निकाल्दै आएको इन्टर बुधबार रातिको खेलमा भने बराबरीमा रोकिएको हो।
स्पेजियाको मैदानमा बुधबार राति सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थामा इभान पर्सेचले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यसअघि खेलको १२ औं मिनेटमा स्पेजियाका डियागो फरियसले गोल गरेका थिए।
यो बराबरीसँगै इन्टर मिलानले शीर्षस्थानमा १२ अंकको अग्रता बनाउने अवसर गुमाए पनि दोस्रो स्थानको एसी मिलानभन्दा १० अंकले अघि छ।
इन्टरको ७६ अंक छ भने एसी मिलानको ६६ अंक छ। दुवै टिमले समान ३२ खेल खेलेका छन्।
सिरी ए को डिफेन्डिङ च्याम्पियन युभेन्टस् भने अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। सिजनबीच खराब प्रदर्शन गरेको युभेन्टस्ले आफ्नो खातामा ६५ अंक जम्मा गरेको छ।
युभेन्टस्ले गएरातिको खेलमा पार्मालाई ३–१ गोलले हराएको थियो। युभेन्टस्को जितका लागि एलेक्स सेन्ड्रोले दुई गोल गरेका थिए भने डी लिग्टले एक गोल गरेका थिए।