काठमाडौं – त्रिदेशीय टी २० क्रिकेट शृंखलाअन्तर्गत बुधबार जारी खेलमा टस जितेर फिल्डिङ राजेको मलेसियाले १०८ रनको प्रतिस्पर्धी लक्ष्य पाएको छ।
मौसम खराब भएका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले प्रतिस्पर्धात्मक लक्ष्य पेस गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले सात ओभर छोट्याइएको खेलमा चार विकेट गुमाएर १०७ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित ५४ रन बनाए भने पिइटर सिलरले ३७ रन जोडे। त्यस्तै एन्टोनियसले पाँच बलमा १० रन जोडे।
मलेसियाका लागि मोहम्मद वाफिकले दुई विकेट लिए। यस्तै प्रविनदीप सिंह र विरन्दीप सिंहले समान १–१ विकेट लिए।
पहिलो र दोस्रो खेलमा हार बेहोरेको मलेसियालाई आज जित निकाल्नैपर्ने दबाब छ। पराजित भएमा फाइनलमा पुग्ने अन्तिम अवसर गुम्नेछ।
जित निकाल्न सके नेदरल्यान्ड्स भने फाइनल पुग्नेछ। नेदरल्यान्ड्सले जितेमा नेपाल पनि फाइनलमा पुग्नेछ र मलेसिया बाहिरिनेछ। अहिले नेपाल र नेदरल्यान्ड्सको समान ४–४ अंक छ भने मलेसियाले खाता खोल्न सकेको छैन।