पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार जोगाउने अन्तिम कसरतमा जुटेका छन्। यसका लागि गुरुङले साना दलका सांसदलाई मन्त्री बनाउने आश्वासन दिएका छन् भने संघीय राजधानीमा बसेर केन्द्रीय नेताहरूसँग छलफल तीव्र पारेका छन्।
काठमाडौंमा रहेका मुख्यमन्त्री गुरुङले टेलिफोनमा भने, ‘आफ्नो सरकार जोगाउने कसरत त जोकोहीले पनि गर्छ नि!’ यद्यपि उनले आफू नेतृत्वको सरकार ढल्ने आसय व्यक्त गरे। उनले भने, ‘तैपनि मैले प्रयास जारी राखेको छु।’
उनी निकट एक नेताले पनि मुख्यमन्त्री गुरुङ काठमाडौंमा बसेर सरकार जोगाउने अन्तिम कसरतमा लागेको बताए।
जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले गुरुङले रोजेका मन्त्रालय दिन्छु भनेर आश्वासन दिएको बताए।
उनले भने, ‘उहाँले फोन गरेर रोजेका मन्त्रालय लिनुहोस् भन्नुभएको छ। लुम्बिनीमा चारवटा मन्त्रालय दिइएको छ, यहाँ दुई जना हुनुहुन्छ, दुईवटा मन्त्रालय रोज्नुहोस भन्नुभएको छ। तर लुम्बिनी जस्तो गण्डकी होइन, पार्टी निर्णयबाट तलमाथि हुँदैन।’
उनले गुरुङको बहिर्गमन निश्चित रहेको बताए। जनता समाजवादीका सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।
नयाँ सरकार बनाउने कि पुरानै सरकार टिकाउने भन्ने निर्णायक भूमिका रहेका साना दलका सांसद पनि अब प्रदेश सरकारमा एमालेको कुनै सम्भावना नरहेको दाबी गर्छन्।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफूहरुले पार्टी निर्णयअनुसार अविश्वासको प्रस्तावमा मतदान गर्ने बताए।
यसो त मुख्यमन्त्री गुरुङ अविश्वासको प्रस्ताव सामना गर्ने निष्कर्षमा पुगिसकेका छन्।
गुरुङले भने, 'प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरिसकेको सन्दर्भमा संसद्मा प्रस्तुत हुनुको विकल्प छैन।’ प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि डाकिएको छ। गुरुङले १३ गतेको संसदमा नै प्रस्तुत हुने पनि बताए।
गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेशको चालू हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि वैशाख २ गते मध्यरातमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्यको घोषणा गरेका थिए।
भोलिपल्टै प्रतिपक्षमा रहेका २८ सांसदले प्रदेशको विशेष अधिवेशन बोलाउन समावेदन पेस गरेका थिए। समावेदन दर्ता गरेपछि प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री गुरुङ सँगसँगै संघीय राजधानी गएका थिए। दुई दिन राजधानी बसेर शेरचन पोखरा फर्किएका छन् भने मुख्यमन्त्री गुरुङ काठमाडौंमै छन्।
प्रदेशसभाका सचिव हरिराज पोखरलेले सोमबार अबेर प्रदेश प्रमुख कार्यालयबाट आएको विशेष अधिवेशन डाकिएको पत्र दर्ता भएको जानकारी दिएका छन्। उनले भने, ‘सबै कर्मचारी गइसक्नुभएको थियो अबेर नै पत्र दर्ता भएको छ।’
संसद् सचिवालयले अब सो पत्र दर्ता भएको जानकारी सभामुखलाई दिनेछ। त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले उपयुक्त समयमा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर सरकारविरुद्धको अविश्वासको प्रस्ताव कार्यसूचीमा राख्नेछन्।
प्रतिपक्षी दलले पनि विशेष अधिवेशनको पहिलो बैठकमा सरकारविरुद्धको अविश्वासको प्रस्तावले स्थान पाउने जनाएका छन्।
संसद्मा रहेका दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले अब गण्डकी प्रदेशमा गुरुङ नेतृत्वको सरकार रहने सम्भावना नरहेको दाबी गरेका छन्।
गण्डकी प्रदेशसभामा ६० सदस्यमध्ये एमालेसँग २७ सिट छ। माओवादी केन्द्रका १२ सांसद छन्। कांग्रेससँग १५, जनमोर्चा ३ र जसपासँग २ सांसद छन्। एक जना सांसद भने स्वतन्त्र छन्।
कांग्रेस, माओवादीलगायत प्रतिपक्षी दलले कांग्रेसका पुराना नेता तथा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेका छन्।