काठमाडौं - हरेक महिलाको चाहना हुन्छ, आमा बन्ने। आमा बन्न पाउँदा खुसी नहुने महिला सायदै होलान्।
जति आमा बन्न पाउँदाको खुसी महिलामा हुन्छ, उत्ति नै पुरुषमा बाउ बन्दा।
सल्यान कमाख गाउँपालिकाकी अमृता राना पनि आमा बन्न पाउने भएपछि खुसी थिइन्। तर, पतिकाे साथ भने पाउन सकिनन्। कारण- धन कमाउन परदेश हानिनुपर्याे।
बाउ बन्ने बेलामा परदेश जाने रहर अमृताका पतिलाई पनि त थिएन होला। घरपरिवारको आर्थिक अवस्था सुधार्न र आउने सन्तानको पालनपोषणमा कमी नहोस् भनेरै उनी विदेश हानिएका थिए। ‘आठ महिनाको गर्भवती हुँदा उहाँ परदेश जानुभयो,’ अमृता भन्छिन्।
तीन वर्षअघि गर्भवती पत्नी छाडेर अमृताका पति नरेश राना मलेसिया गएका थिए। धन कमाएर ल्याउने आस र उज्जवल भविष्य सम्झेर अमृताले आफ्नो चित्त बुझाइन्। उनीसँग विकल्प पनि त थिएन। आफ्नो सन्तानको अनुहार हेरेर जानुस् भनेर रोक्न पनि सकिनन्, भिसा जो झरिसकेको थियो।
अमृतालाई अहिले त्यही एउटा कुराले खाइरहन्छ– उनका पतिले आफ्नो मायाको निशानी हेर्न नपाई परदेशबाटै परलोक भए।
गत पुस २३ गते पतिकाे मृत्युको खबर पाउँदा उनी छाँगाबाट खसेजस्तै भएकी थिइन्। कैयौं घण्टा मुर्छा परिन् रे।
‘पतिले अब नेपाल आउँछु भन्नुहुन्थ्यो तर, बाकसमा शव आयो,’ उनी भन्छिन्, ‘मैले मेरो छोरीलाई आफ्नो बाउको अनुहारसमेत देखाउन पाइनँ।’
जीवनभरकाे साथ त टुटिगयाे, कमाएर ल्याउने पति नभएपछि अमृतालाई अहिले घरखर्च चलाउन मुस्किल पर्न थालेको छ। ‘स्वदेशमै दुःख गरेको भए सायद यस्तो हुने थिएन होला,’ दुई वर्षकी छोरी च्यापेर वैदेशिक रोजगार बार्डमा आर्थिक सहायताका लागि पुगेकी उनले भनिन्, ‘बरु खोले खाएर बस्नु परोस्, परदेश कोही नजाओस्।’
मोरङ सुन्दर हरैंचा-१० की मञ्जु झागर पनि बोर्डमा आर्थिक सहायता लिन आइपुगेकी छन्।
उनका पति मणिलाल झाँगर दुई वर्षअघि साउदी अरब गएका थिए। पतिकाे कमाइ राम्रै थियो। त्यही कमाइले आफ्ना दुई छोराको पालनपोषण गर्दै आएकी थिइन्।
मञ्जु यही वैशाख १५ पति नेपाल आउने भनेर दिन गन्दै बसेकी थिइन्। ‘फागुन १० गते उहाँले फोनमा अब आउँछु भन्नुभएकाे थियाे। तर, बेलुका एक्कासि मृत्युको खबर आयो,’ उनले भनिन्, ‘त्यही बिहानको कुरा नै अन्तिम बन्यो।’
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्लाहीका विमलनाथ राहुल पनि आफन्तकाे शवकाे पर्खाइमा थिए। तीन वर्षअघि धन कमाउन मलेसिया गएका मुना कहर आउँदा बाकसमा फर्किए। कहरले हृदयाघातका कारण ज्यान गुमाएका थिए।
यस्तै गुल्मीका देवबहादुर थापा पनि साउदीमा मृत्यु भएका काका दिलबहादुर थापाको आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा आएका छन्। गत वर्ष मंसिर ४ गते काकाको मृत्यु भएको थियो।
यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्। वैदेशिक रोजगारीमा गएका युवामध्ये हरेक दिन दुईदेखि तीनजनाको शव नेपाल आउने गरेको छ।
पछिल्लो १२ वर्षमा १२ हजारभन्दा धेरै युवाले अकालमा ज्यान गुमाएका छन्। सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका आफन्तलाई सात लाख आर्थिक सहायता दिँदै आएको छ।
आर्थिक वर्ष | मृत्यु संख्या |
२०६५/६६ | ७७ |
२०६६/६७ | ४१९ |
२०६७/६८ | ५६६ |
२०६८/६९ | ६४८ |
२०६९/७० | ७२२ |
२०७०/७१ | ८७७ |
२०७१/७२ | १००६ |
२०७२/७३ | ८१६ |
२०७३/७४ | ७५६ |
२०७४/७५ | ८२२ |
२०७५/७६ | ७५३ |
२०७६/७७ | ६४३ |
२०७७/७८ (चैतसम्म) | ६१८ |
रोजगारीकै क्रममा मृत्यु भएका तर नेपाल ल्याउन सम्भव नभएका तथा उतै शवलाई अन्त्येष्टि गरिएका आफन्तलाई सात लाख ५० हजार आर्थिक साहयता प्रदान गर्दै आएको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले जानकारी दिए। यस वर्ष मात्रै ५४ करोड बराबरको आर्थिक सहायता रकम सरकारले मृतकका आफन्तलाई प्रदान गरेको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा गएकामध्ये ११ जना युवा कोमामा छन्। उनीहरूको विभिन्न देशमा उपचार भइरहेको छ। ४२३ जना जेलमा जीवन बिताइरहेका छन्।