विश्व फुटबलमा हल्ला छ- कप्तान लियोनल मेस्सीले बार्सिलोना छोड्दैछन्। यो आजभोली मात्र चलेको हल्ला होइन। सिजनको सुरुवात देखि नै सुरु भएको हो। तर, क्लब छाड्ने मनशायका बीच मेस्सी चालू सिजन बार्सिलोनामै बस्न राजी भए। तर, सिजन अन्त्यतर्फ उन्मुख हुँदै जाँदा पुनः यस्तो गाइँगुइँ चलिरहेको छ।
गत वर्ष बार्सिलोना उपाधि विहिन बन्न पुग्यो। धेरैले सोचे- अब मेस्सी बुढा भए। निराशाजनकरुपमा सिजनको अन्त्यपछि मेस्सीले क्लब छोड्ने निर्णय गरे। उनका निकट साथीहरूलाई बार्सिलोनाले विदा गर्यो। र, त मेस्सीले पनि क्याटलन क्लबबाट विदा हुने निर्णय लिए।
तर, उनको योजना सफल भएन। उतार चढाबका बाबजुद उनी क्लबमै बसे। अहिले, सिजन सकिन लाग्दा फेरि हल्ला छ कि मेस्सीले क्लब छोड्नेछन्। अब उनी क्याटलान क्लबमा रहने छैनन्। र, नयाँ क्लबको यात्रामा निस्कने छन्।
तर, समर्थकलाई गत साल उनले गरेको निर्णय र अहिलेको मौनता मन परेको छैन्। किनभने मेस्सीले त्यासपछि क्लबमै बस्ने वा क्लब छोड्ने अभिव्यक्ति दिएका छैनन्। यसकारण धेरै बार्सा समर्थकको मनमा लागेको कुरा हो- मेस्सीले क्लब छोडनु हुन्न।
समर्थकलाई त्यस्तो लाग्नुको अर्को कारण अर्को पनि छ। त्यो हो– कमजोर मानिएको बार्सिलोनाले पनि शनिबार राति कोपा डेल रेको उपाधि जित्यो।

बार्सिलोनाका कप्तान भएर मेस्सीले पहिलो पटक उपाधि उचाले। बार्सिलोनाले मेस्सीले खेल्न थाले यता सात पटक कोपा डेल रे को उपाधि जितेको छ। तर, मेस्सीले भने पहिलो पटक कप्तानको आर्मब्यान्ड भिरेका उपाधि उचाले।
यसअघि जित्दा आर्मब्यान्ड आन्द्रे इनिएस्टाको पाखुरामा थियो। ‘मैले कप्तानको रुपमा उपाधि जित्दा निकै खुसी छु। धेरै उतारचढाबबीच यो सिजन चुनौतिपूर्ण पनि थियो। त्यसमा उपाधि हात पर्दा खुसी छु,’ उनले फाइनलमा एथ्लेटिक क्लबलाई हराएपछि भने।
उसले यसअघि उपाधि जित्दा रंगशालाभरी समर्थक हुन्थे। २०१८–१९ मा ला लिगाको उपाधि जितेयताको पहिलो उपाधि उचाल्दा रंगशाला खालि थियो। ‘समर्थकसँग उपाधि उचाल्न नपाउँदा खल्लो लागेको छ। महामारीका कारण अवस्था अप्ठ्यारो छ,’ उनले समर्थकलाई सम्झँदै भने, ‘तपाईंहरू पनि घरमा उत्सव मनाउनु होला।’
फाइनलको दोस्रो हाफमा मेस्सीले पनि दुई गोल गरे। तर, उपाधि जित्नेसाथै समर्थकको मनमा एउटा प्रश्न शंका पलाएको छ– बार्सिलोनाबाट मेस्सीको यो नै अन्तिम उपाधि त होइन?
च्यान्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोना ला लिगाको तेस्रो स्थानमा रहेका उपाधिका लागि संघर्ष गर्दैछ। उसको तुलनामा बलिया देखिएका एट्लेटिको मड्रिड र रियल मड्रिड शीर्ष र दोस्रो स्थानमा छन्।
यस्तोमा बार्सिलोनाले उपाधि जित्न नसके र समरमा मेस्सीले क्लब छोडे यो नै उनको बार्सिलोनाबाट जितेको अन्तिम उपाधि हुनेछ। मेस्सीको बहिगर्मनबारे कोपा डेल रेको उपाधि उचालेपछि प्रशिक्षक रोनाल्ड कोयम्यान, क्लबका अध्यक्ष जुवान लापोर्टा र मेस्सीका टिममेट जोर्डी आल्वाले बोलेका छन्।
‘उनी क्लबमै बस्ने कुरामा म पूर्ण विश्वस्त छु। उनका लागि हामी जे पनि गर्न तयार छौं,’ लापोर्ताले भने, ‘आज मैले देखेँ की उनी राम्रा खेलाडीबीच छन्। उनीहरूले उत्कृष्ट फुटबल खेलेका छन्।’
त्यस्तै प्रशिक्षक कोयम्यान बार्सिलोनाबाट मेस्सीको यो नै अन्तिम उपाधि नहुने बताउँछन्। ‘भविष्यका को हुन्छ कसलाई थाहा! तर, उनको अन्तिम फाइनल यो होइन भन्नेमा आशावादी छु,’ उनी भन्छन्, ‘सबैको इच्छा छ कि उनी क्याटलान क्लबमै बसुन।’
त्यस्तै, मेस्सीको भित्री चाहना बुझेका र उनीसँग मैदानमा रमाइरहेका अल्वाले पनि मेस्सीको चहाना भने व्यक्त गरेनन्। तर उनीले यति भने, ‘मैले यो कुरा धेरै पटक भनेको छु कि मेस्सीले क्लबमै बस्ने निर्णय गर्नेछन्। र, जब समयमा आउनेछ उनले यो कुरा भन्नेछन्।’
तर, त्यो समय कहिले हो भन्ने कुराको उत्तर उनले दिएनन्। ‘उनी आफ्नो क्लबप्रति प्रतिबद्ध छन्। जुन उनको जिवनको क्लब हो,’ उनले भने।
चाहे जे होस्। नबोलेरै पनि खेलाडी, समर्थक देखि अफिसियलसम्मको ध्यान आफूतिर खिचेका मेस्सीले उपाधि उचाल्दा उनको मुहारमा देखिएको हाँसोले सुखद् संकेत भने गरेको छ। त्यो हो– उनी बार्सिलोनामा खुसी छन्।
तर, आउँदो जुलाईमा बार्सिलोनासँग उनको सम्झौता सकिँदै छ। मेस्सीसँग क्लबले नयाँ सम्झौता गर्ने प्रयास सफल हुन सकेको छैन। बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता कहिले हुन्छ? कि हुँदैन? के बाल्यकाल देखिको क्लब छोडेर मेस्सी अन्यत्र जाँदैछन् वा मेस्सीका लागि यो नै अन्तिम उपाधि हो त? यी प्रश्नको जवाफ समयले दिनेछ।