काठमाडौं- पोल्याण्डमा जारी एआईबीएल युवा पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२१ मा नेपाली सुष्मा तामाङले जित निकालेकी छन्।
प्रतियोगिताअन्तर्गत शनिबार भएको प्रिलिमिनरी बक्सिङ बाउटको लाईट फ्लाईमा ४८ केजी तौल समूहमा तामाङले लिथुआनियाकी बजाल्याते डिजालाई हराएकी हुन्।
डिजालाई तेस्रो राउण्डमा आरएससीको आधारमा पराजित गर्दै उनले क्वार्टरफाईनलको यात्रासमेत तय गरेकी छिन्।
पहिलो राउण्डबाटै आक्रामक रुपमा देखिएकी डिजामाथि आफ्नो प्रभाव देखाउन सफल शुष्माले दोस्रो राउण्डमा थप उत्कृष्ट खेल प्रस्तुत गरिन्।
तेस्रो राउण्डमा उनको कडा प्रहारले लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिँदै खेल नै स्थगित गरी सुस्मालाई आरएससीको आधारमा विजयी घोषित गरे।
अब उनको अर्को भिडन्त आयोजक पोल्याण्डकी खेलाडी नतालिया डोमिनिक्लसंग हुनेछ। उक्त भिडन्त जितेमा नेपालले आईबायुथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ।