छोरोले इन्जिनियरिङ गर्दै छ भन्ने सोच्थे बाबु। तर, शाहबाज विश्वविद्यालयभन्दा धेरै समय क्रिकेटमा बिताउँथे।
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा शाहबाज अहमद रोयल च्यालेन्जर्स बैंगलोरका स्टार खेलाडीका रूपमा स्थापित छन्।
उनले बुधबार सनराइजर्स हैदाराबादविरुद्ध दुई ओभरमा सात रन दिँदै तीन विकेट लिएका थिए। यससँगै इन्डियन राष्ट्रिय टिमका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको टिमलाई उनले जित दिलाए।
शाहबाजले तीन विकेट १७ औं ओभरमा लिए। त्यही ओभरबाट नै सो खेलको नतिजा बैंगलोरतर्फ ढल्केको थियो। त्यसपहिले ब्याटिङमा पनि उनले १० बलमा १४ रन बनाएका थिए।
उनको त्यो प्रदर्शन अहिले क्रिकेट समर्थकबीच चर्चाको विषय बनेको छ।
शाहबाज हरियाणाका मवात जिल्लाका सिकरागा गाउँका बासिन्दा हुन्। उनको बाबु अहमद जान एक कम्पनीमा जागिर गर्छन्। तर, अहमद बालबच्चाको पालन र पढाइका लागि गाउँ छोडेर हथिन पुगेका थिए।
बाबु अहमद चाहन्थे कि आफ्नो छोरो इन्जिनियर बनोस्। तर, शाहबाज क्रिकेटर बन्न चाहन्थे। र, उनले त्यसमै आफ्नो भविष्य खोजे।
अहमद जानका अनुसार उनका पिता (शाहबाजका हजुरबुबा) पनि क्रिकेट खेल्थे। शाहबाजलाई पनि हजुरबुबाकै जस्तो क्रिकेट खेल्न मन थियो। उनको गाउँ मेवातमा चाहिँ पढाइको वातावरण राम्रो भएकाले खेल भावना कम थियो।
गाउँका धेरै मानिस इन्जिनियर र डाक्टर छन्। शाहबाजकी बहिनी फरहिन पनि डाक्टर हुन्। उनी फरिदाबादको एक अस्पतालमा काम गर्छिन्। उनको पिताको इच्छा थियो कि छोराछोरी डाक्टर र इन्जिनियर बनुन्। त्यसैले त १२ कक्षापछि उनी फरिदाबादको एक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा भर्ना भए।
बाबुलाई थाहा नदिई शाहबाज कक्षा छोडेर क्रिकेट खेल्न जान थालिसकेका थिए। छोरोले इन्जिनियरिङ गर्दै छ भन्ने सोच्थे बाबु।
तर, शाहबाज विश्वविद्यालयभन्दा धेरै समय क्रिकेटमा बिताउँथे। यसको जानकारी बाबुलाई तब मात्र भयो जब उनले विश्वविद्यालयबाट छारोबारे सन्देश प्राप्त गरे। शाहबाजले क्लास नलिएको बेहोरा पत्रमा उल्लेख गरिएको थियो।
पढाइ छाड्दै क्रिकेट चुनेपछि....
‘अब पढाइ र क्रिकेटमध्ये एउटा छान्नुपर्छ,’ सन्देश प्राप्त भएपछि अहमद जानले छोरालाई भनेका थिए- जे छान्ने हो त्यसमा केन्द्रित भएर लाग्नुपर्छ।
त्यतिबेला नै हो उनले घरमा इन्जिनियरिङ छोडेर क्रिकेट रोजेको। ‘अब म क्रिकेटमै केन्द्रित हुन्छु,’ उनले बाबुसामु प्रतीज्ञा गरेका थिए।
त्यसपछि गुडंगाउँको एक एकेडेमीमा भर्ना भएर उनी क्रिकेटर बन्ने ध्याउन्नमा लागे। प्रशिक्षक मन्सुर अलि उनका प्रशिक्षक थिए। यससँगै उनले पढाइलाई पूरै छोडेनन्। जारी राखे। केन्द्रमा क्रिकेट साइडमा पढाइ। त्यो उनको लक्ष्य बन्यो।
तर, वर्षभरि क्रिकेटमै व्यस्त बनेका कारण उनले कलेजपछि त्यता सोच्न भ्याएका छैनन्। छोराले क्रिकेटबाट यति धेरै उपलब्धि हासिल गर्ला भनेर अहमदले सोचेका पनि थिएनन्।
‘आज म निकै खुसी छु। किनकि शाहबाजले जो फैसला लिए त्यो सही थियो। उसले धेरै मिहिनेत गरेको छ,’ अहमदले भने।
पढाइसँगै उनले क्रिकेटमा ठूलो फड्को मार्न सकेका थिएनन्। जब पढाइ छोडे तब उनको क्रिकेट यात्राले उडान भर्यो।
साथी प्रमोद चन्दिलासँग क्रिकेट सिक्न बंगाल गए। शाहबाजले त्यहाँको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१८–१९ को रणजी ट्रफीमा स्थान बनाए।
त्यसपछि २०१९–२० मा इन्डियाको ए टिममा चयन भए। २०२० को अक्सनमा पर्दै उनलाई बैंगलोरले २० लाख रूपैयाँमा आफ्नो टिममा लिएको थियो।
पछिल्लो सिजमा दुई खेलमात्र खेले पनि उनले यो सिजनको सुरुआतमै अवसर पाउँदा कमाल देखाएका छन्।