काठमाडौं - नेपालमा पछिल्लो समय काेराेनाकाे नयाँ भाइरस तीव्र रुपमा फैलिरहेको छ। युवा र बालबालिका पनि यसको मारमा पर्न थालेका छन्।
अगाडि हटस्पट बनिसकेका जिल्लामा फेरि संक्रमण बढ्दो दरमा देखिएको हो। कोरोना संक्रमणको पहिलो चरणमा वृद्धवृद्धा बढी प्रभावित थिए। दोस्रो लहरमा युवा तथा बालबालिका संक्रमणको निसानामा पर्न थालेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार शिशुदेखि ९ वर्षसम्म उमेर समूहका ५ जना, १० देखि १९ वर्ष उमेर समूहका ४३ जना, २० देखि २९ वर्षका १ सय १० जना, ३० देखि ३९ वर्षका १ सय १९ जना, ४० देखि ४९ वर्षका ७० जना, ५० माथिका १ सय १३ जना संक्रमित भएका छन्।
त्यस्तै बुधबारको तथ्यांकअनुसार शिशुदेखि ९ वर्षसम्म उमेर समूहका २२ जना, १० देखि १९ वर्ष उमेरका ४८ जना, २० देखि २९ वर्ष उमेरका १ सय ३८ जना, ३० देखि ३९ उमेर समूहका व्यक्तिमा सबैभन्दा बढी १ सय ४३ जनामा संक्रमण देखिएको छ।
४० देखि ४९ वर्ष उमेर समूहका १ सय २, ५० देखि ५९ वर्ष उमेर समूहका ६९, ६० देखि ६९ वर्ष उमेर समूहका २८, ७० देखि ७९ वर्ष उमेर समूहका २२, ८० देखि ८९ वर्ष उमेर समूहका ६ र ९० देखि एक सय वर्ष उमेर समूहका २ जना छन्।
बिहीबारको तथ्यांकअनुसार शिशुदेखि ९ वर्ष उमेर समूहका १२ जना, १० देखि १९ वर्ष उमेर समूहका ४० जना, २० देखि २९ वर्ष उमेर समूहका १ सय ७, ३० देखि ३९ वर्ष उमेर समूहका १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका ९२ जना, ५० देखि ५९ वर्ष उमेर समूहका ७२, ६० देखि ६९ वर्ष उमेर समूहका ३३, ७० देखि ७९ वर्ष उमेर समूहका १२, ८० देखि ८९ वर्ष उमेर समूहका ५, र ९० देखि एक वर्ष उमेर समूहका २ जना संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल नेपालमा कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिममा रहेको बताउँछन्। डा. पैडेल भन्छन्, 'हामी महामारीको दोस्रो लहरको संघारमा छौं। पहिलाको अवस्था भन्दा अहिलेको अवस्था चिन्ताजनक देखिएको छ। नयाँ भेरियन्टका साथै डबल म्युटेड भेरियन्ट पनि नेपालमा पुष्टि भइसकेको छ।’
नयाँ भेरियन्ट पत्ता लगाउन शरीरमा ५ वटा जिन परीक्षण गरिन्छ। एस जिन, एन जिन, ई जिन, ओराएफ जिन र आरडीआरपी जिन। यीमध्ये नयाँ भेरियन्ट पत्ता लगाउनका लागि एस जिन नेगेटिभ आउनुपर्छ भने अरु सबै जिनको रिपोर्ट पोजेटिभ आउनुपर्छ।
नयाँ भेरियन्ट पत्ता लगाउन मानिसमा कोरोना पोजेटिभ हुनैपर्छ र एस जिन नेगेटिभ हुनैपर्छ। एस जिन नेगेटिभ भएमात्रै नयाँ भेरियन्टको आशंका गर्न सकिन्छ।
कोरोना पोजेटिभ र एस जिन पोजेटिभ देखिएमा त्यो नयाँ भेरियन्ट होइन। पीसीआर र जिन सिक्वेन्सिङ फरक हुन्। पीसीआर भाइरस शरीरमा छ वा छैन भनेर पत्ता लगाउनका लागि गरिन्छ भने सिक्वेन्सिङ अनुसन्धान तथा वैज्ञानिक प्रयोजनका लागि गरिन्छ।
काठमाडौंमा गत साता संकलन गरिएका ७६ नमुनामध्ये ४८ नमुना (६३ प्रतिशत) मा एस जिन नेगेटिभ भेटिएको छ। ती नमुनामा करिब २० वर्षमुनिका बालबालिका झन्डै २० प्रतिशत छन्। सबैभन्दा बढी ३५ देखि ३९ वर्षका छन्। त्यस्तै १७६ वटामध्ये १०५ वटा नमुनामा एस जिन नेगेटिभ देखिएको छ। उनीहरूमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका छन्।
गत पुसमा नेपालमा पनि नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि जोखिम बढ्न थालेको हो। बेलायतमा नयाँ भेरियन्ट पुष्टि भएपछि त्यहाँबाट आएकाको जिन सिक्वेन्सिडबाट ३ जनामा नयाँ भेरियन्ट पुष्टि भएको थियो।
त्यसयता सरकारले सीमानाकाबाट आउनेलाई निगरानी हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालामा एसजिन नेगेटिभ भएका १० र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि पठाएको थियो। जसको नतिजामा १ जनामा ९ जनामा युके भेरियन्ट र १ जनामा डबल म्युटेड भेरियन्ट पुष्टि भएको थियो।
यतिबेला काठमाडौं र पोखरामा नयाँ भेरियन्टको जोखिम धेरै देखिएको छ। पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको युके भेरियन्ट जिम्मेवार रहेको डा. पौडेल बताउँछन्।
के हो डबल म्युटेन्ट भेरियन्ट?
डबल म्युटेसन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन भएको हो। भाइरसहरूको सिक्वेन्स अर्थात् नम्बर हुन्छ।
एकैपटक दुईवटा म्युटेन्ट (उत्परिवर्तन) हुनुलाई नै डबल म्युटेन्ट भेरियन्ट भनिन्छ। भाइरसको कोड क्रमिक रूपमा १, २, ३, ४ हुन्छ। त्यो भाइरसले जन्माउने वा फैलाउने तत्व १, २, ३, ४ नै हो। तर १, २, ३, ४ लगातार हुनु पर्नेमा २ वा ३ अरु कुनै अंकमा परिवर्तन भएर त्यो ठाउँमा अर्को अंक पनि आउन सक्छ। यो अवस्था सिर्जा हुनु भनेको भाइरसले रुप परिवर्तन गर्नु हो। त्यसैलाई नै डबल म्युटेन्ट भनिन्छ।
अहिले भेटिएको डबल म्युटेन्टमा ई ४८४ क्यू र एल ४५२ आर छ। यसरी दुई ठाउँमा नम्बर परिवर्तन हुँदा यसले नयाँ रुप लियो। यसलाई सामान्यतया भाइरसको परिवर्तित स्वरुप भनिन्छ।
यो भाइरसले निम्त्याउने जोखिमबारे अझै विस्तृत अध्ययन भइसकेको छैन। यो भाइरस अहिलेसम्म नेपालमा ललितपुरका ५९ वर्षीय एक व्यक्तिमा मात्रै पुष्टि भएको छ। उनमा यो भाइरस देखिएको तीन हप्ताभन्दा बढी भइसकेको छ। र, उनको अवस्था सामान्य रहेको ईडीसीडीका निर्देशक डा. पौडेले बताए।
नयाँ भेरियन्टका धेरै तथा फरक लक्षण
विश्व अहिले तीन प्रकारको नयाँ भेरियन्टको जोखिममा छ। बेलायतमा पत्ता लागेको यूके भेरियन्ट १ सय ३० बढी मुलुकमा फैलिएको छ।
दक्षिण अफ्रिकाको भेरियन्ट ८० देश र ब्राजिलको भेरियन्ट ४५ भन्दा बढी देशमा फैलिएको छ। अफ्रिका र ब्राजिलको भेरियन्ट छिमेकी देश भारतमा भेटिएकाले यसको जोखिम नेपालमा पनि बढेको डा. पौडेल बताउँछन्। भारतमा यसले भयावह रुप लिइरहेको छ। र, नेपाल पनि यो आक्रामक रुपमा फैलिरहेको चिकित्सकहरू बताउँछन्। यही भाइरसले बालबालिका तथा युवालाई निसाना बनाइरहेको छ।
यसको संक्रमण हुँदा दुई/चारवटा लक्षण देखिने, स्वासप्रश्वास प्रणालीसँगै अन्य प्रणालीमा असर गर्ने, रगत जम्ने प्रक्रिया जस्ता रिपाेर्ट देखिने गरेको डा. पौडेलको भनाइ छ। 'अक्सिजनको मात्रा धेरै चाहिने, छिट्टै गम्भीर अवस्थमा पुग्ने जस्ता लक्षण देखिएका छन्। त्यसैले पहिले भन्दा यो भेरियन्ट निकै जोखिमयुक्त छ', उनले भने।
यो भाइरस समुदाय स्तरमा फैलिसकेको भन्दै जनश्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरिरहेका छन्। सरकारले पनि जेठ अन्तिमदेखि असारमा यसले भयावह रुप लिने आकलन गरेको छ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही दिन पहिले पत्रकार सम्मेलनमा असारसम्म दैनिक ११ हजारका दरले संक्रमित भेटिने भन्दै चिन्ता व्यक्त गरेका थिए।
अबको योजना के छ?
सरकारले जोखिमलाई ध्यानमा राखेर बिहीबार ८ बुँदे अपिल जारी गरिसकेको छ। ‘अहिले संक्रमित बढिरहेका छन्। हामीले अस्पतालको तयारी गरिसकेका छौं। सरकारी अस्पतालका ५० प्रतिशत बेड कोरोना संक्रमितको लागि छुट्याउन अपिल गरेका छौं', ईडीसीडीका महानिर्देशक डा. पौडेल भन्छन्, 'आइसोलेसन, क्वारेन्टिन, केस इन्भेस्टिकेसन, जनस्वास्थ्यका मापदण्ड कडाइसाथ गर्न लगाउने, सीमानाकामा होल्डिङ सेन्टर स्थापना गर्ने तयारी गरिएको छ। संक्रामक रोग ऐनले प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिएको छ। उनीहरूले त्यहाँको जोखिमलाई ख्याल गरेर आवश्यक निर्णय लिन सक्नेछन्।'
तत्काल क्वारेन्टिनका लागि उपयुक्त ठाउँ नभए होटल क्वारेन्टिन राख्न मन्त्रालयले निर्देशन दिएको छ। त्यसका लागि सरकारले प्रतिदिन प्रतिव्यक्ति २ हजारका दरले रकम उपलब्ध गराउने जनाएको छ।
होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापनका लागि बजेट आवश्यक परे मन्त्रालयसँग समन्वय गर्न प्रदेशलाई आग्रह गरिएको छ। यसअगाडि नै होल्डिड सेन्टरका लागि बजेट पठाए पनि अहिलेसम्म कतै बन्न नसक्नु चिन्ताको विषय भएको उनले बताए।
संक्रमणबाट जोगिन जुलुस, प्रदर्शन, भीडभाड, मन्दिर नजान उनको अनुरोध छ। यसअगाडि भएका राजनीतिक घटनाक्रमका कारण भएका जुलुस प्रदर्शनले कोरोना संक्रमण बढाउने काम गरेको उनले बताए।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन पनि नेपालमा दोस्रो लहरको जोखिम रहेको बताउँछन्।
‘नेपालमा दोस्रो लहर आउन सक्छ भनेर सुरुदेखि नै भनिएको हो’, उनले भने, ‘पहिलेको अनुभव पनि छ। के गर्यौं, कहाँ चुक्यौं समीक्षा गर्नुपर्छ। परीक्षणका लागि काठमाडौं आउनुपर्ने छैन। जनघनत्व भएको ठाउँमा ध्यान दिनुपर्छ।’
नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गएको छ। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म नेपालमा २ लाख ८२ हजार ५४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
हालसम्म कुल ३ हजार ६६ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये २ लाख ७४ हजार ६ सय ४ जना संक्रमण मुक्त भएका छन्।
बिहीबार मात्रै चार हजार १ सय ५२ पीसीआर परीक्षण गरिएकोमा ४ सय ९० तथा ५ सय ६४ एन्टिजेन परीक्षण गरिएकोमा ४४ नमुनामा पोजेटिभ देखिएको छ।
मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङलाई कोरोनाको अति प्रभावित जिल्लाको सूचीमा राखेको छ।