सोमबार, वैशाख ८, २०८२

कोरोना नियन्त्रणमा हामी कहाँ चुक्यौं? 

पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। कोरोना संक्रमणका कारण मंगलबार पाँच हजार २०३ जनाको परीक्षण गरिएकामा ९.८ प्रतिशतमा संक्रमण पुष्टि भयो। ‍मंगलबार एकै दिन ९ जनाको मृत्यु भएको छ। 
 |  बुधबार, वैशाख १, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख १, २०७८

vianetvianet

काठमाडौं - पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। कोरोना संक्रमणका कारण मंगलबार पाँच हजार २०३ जनाको परीक्षण गरिएकामा ९.८ प्रतिशतमा संक्रमण पुष्टि भयो। ‍मंगलबार एकै दिन ९ जनाको मृत्यु भएको छ। 

triton college

अस्पतालका आइसोलेसन र सघन उपचार कक्ष संक्रमित बिरामीले फेरि भरिन थालेका छन्। देशभर आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ११७ पुगेको छ। 

जटिल अवस्थाका बिरामीमा युवा र बालबालिकाको संख्या उल्लेख्य छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक सागरराज भण्डारीका अनुसार पहिलेको दाँजोमा बिरामीलाई अक्सिजनको आवश्यकता बढी छ। संक्रमित ढिलो र जटिल अवस्था भएपछि मात्र अस्पताल पुग्ने गरेका छन्। 

यसअघि शंका लाग्नेबित्तिकै उपचार गराउँदा समयमै रोगको पहिचान भई संक्रमण जटिलतातर्फ जाने सम्भावना कम देखिएको थियो तर अब यस्तो अवस्था नरहेको चिकित्सक बताउँछन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि बालबालिका र युवामा संक्रमण देखिनु चिन्ताको विषय भएको बताउँछन्। 

छिमेकी भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि त्यसको असर नेपालमा देखिन थालेको हो। 

National life insurance

कहाँ चुक्यौं हामी? 

जनस्वास्थ्य विज्ञ तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार कोरोना संक्रमण बढ्नुमा सरकार तथा आममानिस दुवैको कमजोरी देखिएको छ। उनी भन्छन्, ‘नियन्त्रणका लागि पर्याप्त कदम नचाल्नु सरकारको कमजोरी हो।’ 

मरासिनीका अनुसार सरकारले खुला सिमाना व्यवस्थित गर्न नसकेकाले नेपालमा कोरोना संक्रमण बढ्न थालेको हो। 

उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सीमा सबै एकै हुन्, भारतबाट आउनेलाई एन्टिजेन गरी छोड्नु तथा अन्य देशबाट आउनेको मात्र पीसीआर परीक्षण गर्नु र क्वारेन्टिनमा राख्नु गैरजिम्मेवारी हो।’ 

गत वर्ष पनि सीमाबाट स्वदेश प्रवेश गर्नेलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको थियो, जसले गर्दा पनि नेपालमा करिब तीन लाख मानिस संक्रमित बन्न पुगे। यसपटक पनि सीमा व्यवस्थापन फितलो देखिएको छ। 

मरासिनीका अनुसार हेल्थ डेस्क स्थापना गरेर मात्रै कोरोना संक्रमण नियन्त्रण गर्न सकिँदैन। सीमामा चिकित्सकसहितको टोली परिचालन गरी पीसीआर परीक्षण अनिवार्य गर्नु आवश्यक रहेको उनी बताउँछन्। 

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त पनि सीमा नाकाको व्यवस्थापन, परीक्षण र जनस्वास्थ्यका मापदण्ड पालना गराएमा कोरोना नियन्त्रण गर्न सहज हुने बताउँछन्। 

जनस्वास्थ्यका मापदण्ड नअपनाएर आममानिसले पनि लापरबाही गरिरहेको उनको भनाइ छ। वन्त भन्छन्, ‘मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने र भीडभाड गर्ने क्रम बढेको छ।’

मन्त्रालयको तथ्यांकअनुसार मंसिर, पुस, माघ र फागुनमा कोरोना संक्रमतिको संख्या कम थियो। ‘कोरोना नियन्त्रणका लागि ठूलो अवसर थियो। तर त्यति बेला कोरोनालाई आममानिसले गलत रूपमा लिए’, वन्तको भनाइ छ। 

राजनीतिक दलले गरेका आन्दोलन पनि कोरोना संक्रमण दर बढ्नुको कारण रहेको डा. वन्त बताउँछन्। 

अर्कोतर्फ सरकारले फेरि एन्टिजेन परीक्षण गरेर अर्को गल्ती गरेको विज्ञहरुको भनाइ छ। सरकारले अहिले सीमा नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ। 

विज्ञहरूले एन्टिजेन परीक्षण उपयुक्त नहुने भनिरहेका बेला सरकारले भने एन्टिजेन परीक्षणलाई नै प्राथमिकतामा राखेको छ। 

डा. मरासिनीका अनुसार एन्टिजेन परीक्षण त्यति भरपर्दो होइन। उनी भन्छन्, ‘एन्टिजेन नै गर्ने भए पनि १४ दिनको क्वारेन्टिन अनिवार्य गर्नुपर्छ। होइन भने कोरोनाले भयावह रुप लिन सक्छ र दोस्रो लहर चाँडै आउँछ।’ 

तीन तहका सरकारबीच समन्वय नहुँदा पनि समस्या देखिएको विज्ञहरु बताउँछन्। मरासिनीका अनुसार स्वास्थ्य मन्त्रालयलाई एकदुई मन्त्रालयले बाहेक अन्यले सहयोग गरेको देखिँदैन। 

अर्थ मन्त्रालयले बजेट दिएको छ, गृह र परराष्ट्र मन्त्रालयबाहेक अन्य मन्त्रालयले बेवास्ता गरेको देखिएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘उद्योग मन्त्रालयले श्रमिकको बेवास्ता गर्नु, सामान्य प्रशासनले सरकारी सेवामा कुनै ठोस कदम नचाल्नुलगायत अन्य मन्त्रालयले प्रभावकारी भूमिका नदेखाउँदा स्वास्थ्य मन्त्रालयलाई सकस भएको छ।’ 

नेपालमा अहिले फेरि लकडाउनको डर देखाइएको छ। आममानिसले सतर्कता नअपनाए लकडाउन गर्ने भनिएको छ। 

डा. मरासिनी भन्छन्, ‘नेपालमा गरिएको लकडाउनले कुनै अर्थ राखेको छैन। लकडाउन भनेको निकै गाह्रो अवस्था हो। लकडाउनको समयमा नागरिकसँग सामान, औषधि जे आवश्यक पर्छ ती चिज घरमै पुग्नुपर्छ। तर त्यो खालको लकडाउन नेपालमा सम्भव हुँदैन, त्यसैले पहिलेको जस्तो लकडाउनको कुनै अर्थ हुँदैन।’

पछिल्लो तीन महिना कोरोना संक्रमण कम भएको थियो। तर जोखिम भने उत्तिकै थियो। अहिले झनै जोखिम बढेको छ। 

डा वन्त भन्छन्, ‘त्यसको डर हामीलाई थियो, कति बेला यसले फेरि भयावह रुप लिने हो भन्ने लागिरहेको थियो अहिले परिणाम देखिएको छ।’ 

कोरोना नियन्त्रण गर्ने अवसर गुमायौं

संक्रमणको दर कम भएका बेला आममानिस र सरकार सबैले जनस्वास्थ्यका मापदण्डलाई पटक्कै ख्याल गरिएन। वन्त भन्छन्, ‘हामीले खोपको अभियान सुरु गरिसकेका थियौं। थप सुरक्षित हुने अवसर दिएको थियो, तर त्यो बेला कोरोना नियन्त्रणका कुनै उपाए लागू भएनन्।’

जनस्वास्थ्यका मापदण्ड पालना गरेको भए संक्रमण दर घटाउन सकिने उनले बताए। 

अब के गर्ने? 

विज्ञका अनुसार अब सरकारले दुई तहमा रहेर काम गर्नुपर्छ– सिमाना व्यवस्थापन र जनस्वास्थ्यका मापदण्ड पालना। 

डा. वन्तका अनुसार भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको अनिवार्य परीक्षण र क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ। 

संक्रमक रोग विशेषज्ञ डा. अनूप सुवेदी पनि सीमापारिबाट आउने सबैलाई क्वारन्टिनमा राख्न जोड दिन्छन्। पीसीआर नेगेटिभ आएपछि मात्रै घर पठाउन उनले आग्रह गरेका छन्। क्वारन्टिन र पीसीआरको व्यवस्थापन खर्चिलो भए पनि जोखिम ख्याल गरी क्वारेन्टिनमा बस्ने वातावरण मिलाउन प्रेरित गर्नुपर्ने उनी बताउँछन्।

नेपालभित्रै फैलिएको संक्रमण नियन्त्रणका लागि आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, सम्पर्कमा आएको पत्ता लागेकालाई पनि क्वारन्टिन र निःशुल्क पीसीआरको व्यवस्था राज्यले गर्नुपर्छ।

प्रकाशित: Apr 14, 2021| 04:58 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।