भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किएकाहरू सीधै समुदायमा पुग्दा संक्रमणकाे जाेखिम बढेकाे छ।
विराटनगर – विराटनगरको रानी नाका हुँदै आइतबार भारतबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया उनको विराटनगर महानगरपालिका–१५ रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरेका थिए।
भारतबाट आउने कोरोना संक्रमित ती महिलामा नयाँ भेरियन्टको आशंका गरिएको छ। भारतबाट प्रवेश गरेकाहरूको परीक्षण गर्दा धेरैमा संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
‘हेल्थ डेस्क’मा खटाइएका स्वास्थ्यकर्मीहरूलाई भारतबाट आउनेहरूको विवरण संकलन गर्ने, एन्टिजेन परीक्षण गर्ने, तापक्रम लिने, सोधपुछ गरेर घरतिर पठाउने जिम्मेवारी दिइएको छ। कोरोना भए/नभएको तत्काल पुष्टि गर्न एन्टिजेन परीक्षण गर्दै रिपोर्ट पोजिटिभ आएमा स्वास्थ्यकर्मीले माथिल्लो निकायमा जानकारी पनि दिनुपर्छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ। नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएपछि कोरोना फैलने जोखिम झन् बढेको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए।
तत्कालै संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर नियन्त्रणका लागि पहल नगरे अवस्था भयावह बन्न सक्ने उनको भनाइ छ। पर्याप्त मात्रामा एन्टिजेन नहुँदा पनि परीक्षणमा समस्या भएको कार्कीको भनाइ छ। क्वारेन्टिनमा राखेर परीक्षण गरेर घर पठाउने व्यवस्था नगरे जोखिम बढ्ने उनी बताउँछन्।
भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्कनेहरूको संख्या अहिले बढ्दो छ। मजदुरीका लागि भारत गएकाहरू दैनिकरूपमा फर्किरहेका छन्। फर्किनेहरूको संख्या पनि बढ्दो छ।
फर्किनेहरू सीधै समुदायमा पुग्दा संक्रमणको जोखिम देखिएको छ। शनिबार झापाको काँकडभिट्टा नाकाबाट मात्रै ९ हजार ५१६ जना नेपाल प्रवेश गरेका छन्।
उनीहरू सीमामा रहेको हेल्थ डेस्कमा सामान्य परीक्षण गराउँदै घर पुगे। शनिबार विराटनगर रानीबाट १२ र पशुपतिनगर नाकाबाट ३९ जना नेपाल प्रवेश गरेको सीमामा राखिएको हेल्थ डेस्कको तथ्यांकमा उल्लेख छ।
भारतबाट फर्कनेहरू सोझै समुदायमा पुग्दा संक्रमणको जोखिम बढेको जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले बताए। ‘भारतबाट आउनेहरू सोझै समुदायमा पुग्दा जोखिम बढेको छ,’ उनले भने, ‘परीक्षण कम भएर पनि संक्रमित कम देखिएको छ।’
परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित बढ्ने उनले बताए। भारतबाट फर्किएकाहरू समुदायमा पुगिरहेकाले यसको असर चाँडै देखिने उनको भनाइ छ। यसको नियन्त्रणका लागि तीनै तहको सरकारको ध्यान जान आवश्यक रहेको उनी बताउँछन्।
खुल्ला सीमाका कारण नाका बाहेकका स्थानबाट पनि नेपाल प्रवेश गर्नेहरू बढिरहेको छ। मोरङका छोटी भन्सारहरूबाट भारत जाने–आउनेको घुइँचो लागेपछि अनियन्त्रित आवतजावतलाई नियन्त्रण गर्न स्थानीयले माग गरेका छन्।
मोरङको ६३ किलोमिटरमा रहेका २६ वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरू बढिरहेका छन्। अत्यावश्यक कामबाहेक भारततर्फ नजान आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
सीमामा हेल्थ डेस्क राख्न स्थानीय तहरूलाई भनिसकिएको उनले बताए। स्वास्थ्य परीक्षण गरेर मात्र आवतजावत गर्न दिन भनिएको प्रजिअ निरौलाले बताए।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि यसअघि सञ्चालित कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन्। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ। उनले अहिले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितहरू भर्ना भएको बताइन्।