आइतबार, वैशाख २३, २०८१

कसले दियो दोहोरी प्रतिष्ठानलाई दुर्गेश बहिष्कार गर्ने अधिकार?

‘हामीले दुर्गेशजीलाई यो गीत रिलिज गर्नुअघि नगर्न भनेर सम्झायौं। तर, उहाँले संस्था नै मान्दिनँ भनेर हिँड्नुभयो। त्यसैले हामीले पनि उहाँलाई नमान्ने भनेर बहिष्कार गर्ने निर्णयमा पुगेका हौं।’
 |  मंगलबार, साउन १९, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, साउन १९, २०७८

‘पोहोर परार नाच्यौ दिदी रातो सारी उचाली

triton college

यसपालिको तीज बरै ख्यास्स पुतली...’

गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्दका कारण गायक दुर्गेश थापा यसपटक पनि विवादमा तानिएका छन्। करिब दुई वर्षअघि ‘ह्याप्पी तिहार, चिसो बियर’बोलको गीत ल्याउँदा समाजमा गलत सन्देश प्रवाह गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला विवादस्पद शब्द हटाएर ‘रि–अपलोड’ गर्ने सर्तमा उनलाई छाडिएको थियो। 

अघिल्लो वर्ष तीजमा ‘बीच्चबीच्चमा’ गीतको तेस्रो शृंखला ल्याउँदा भिडियोमा साडी लगाएर नाचेको भन्दै उनको विरोध भएको थियो। र, यसपालि ‘ख्यास्स पुतली’ बोलको गीत ल्याउँदा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालचाहिँ उनलाई बहिष्कार नै गर्ने निर्णयमा पुगेको छ। यद्यपि युट्युब ट्रेन्डिङको दुई नम्बरसम्म उक्लिएको यो गीत अझै ट्रेन्डिङमै छ।

प्रतिष्ठानको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले उनलाई संस्थागत बहिष्कार गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका उपमहासचिव एवम् विकृति विसंगति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालका अनुसार यो गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्दकै कारण दुर्गेशलाई बहिष्कार गर्ने निर्णय गरिएको हो। ‘यो हाम्रो आमा दिदीबहिनीका अगाडि सुन्न सकिने या गाउन सकिने गीत होइन,’ उनी भन्छन्, ‘हामीले दुर्गेशजीलाई यो गीत रिलिज गर्नुअघि नगर्न भनेर सम्झायौं। तर, उहाँले संस्था नै मान्दिनँ भनेर हिँड्नुभयो। त्यसैले हामीले पनि उहाँलाई नमान्ने भनेर बहिष्कार गर्ने निर्णयमा पुगेका हौं।’

corrent noodles
Metro Mart
 प्रतिष्ठानमा आबद्ध कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने र प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई मेला–महोत्सवमा नबोलाउन आग्रह गर्ने निर्णयसमेत भएको उनले बताए।

हमालका अनुसार प्रतिष्ठानले उनलाई आजीवन सदस्यबाट निलम्बन गर्ने, सुविधाबाट वञ्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने निर्णय गरेको छ। त्यतिमात्रै होइन, प्रतिष्ठानमा आबद्ध कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने र प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई मेला–महोत्सवमा नबोलाउन आग्रह गर्ने निर्णयसमेत भएको उनले बताए।

यता प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने दुर्गेशलाई बहिष्कार गर्ने निर्णय गरेको बताए पनि संस्थाका सदस्यले उनीसँग व्यावसायिक सहकार्य पनि गर्न नपाउने निर्णय गरेको विषयमा चाहिँ खुल्न चाहेनन्। मात्रै यति भने, ‘संस्थालाई नटेर्नेसँग संस्थाका सदस्यले सहकार्य नगर्न पनि सक्छन्।’

केही मिडियामा खबर आए पनि संस्थाले औपचारिक रुपमा विज्ञप्तिमार्फत बहिष्कारको निर्णय सार्वजनिक गरिसकेको छैन। तर, दुर्गेशविरुद्ध भएको यो ‘माइन्युट’ ले लोकदोहोरी वृत्तमा खैलाबैला मच्चिरहेको छ।

‘प्रतिष्ठान यो देशको अदालत हो र?,’ बहिष्कार निर्णयबाट दुर्गेश चकित छन्। ‘विवाद गर्लान् भनेर मैले गीत रिलिज गर्नुभन्दा तीन–चार महिनाअघि नै पोस्टर सार्वजनिक गरेको थिएँ, त्यतिबेला प्रतिष्ठानले केही भनेन,’ दुर्गेश भन्छन्, ‘तर, गीत रिलिज हुनुभन्दा एक दिनअघि मात्रै मलाई शिव हमाल सरबाट फोन आएको थियो। तर, मैले त्यतिबेला गीत रोक्न सक्ने सम्भावना नै थिएन।’

‘बहिष्कार’ : प्रतिष्ठानको हास्यास्पद निर्णय 

भनिन्छ, लोकगीतको कलेवरमा लोक छर्लंगिने ऐना हुन्छ। यसले आफ्नो रूप र विधा आफैं जन्माउँछ। यो समाजको गीत भएकाले यसलाई समाजले नै गाएको हुन्छ, समाजले नै बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै गइरहेको हुन्छ। 

हामी कथ्य भाषालाई लोकभाषा भन्छौं। कथ्य भाषामा ठेट र झर्रा शब्द हुन्छन्। विशेषतः लोकगीतमा स्थानीय चलनचल्तीका भाषा प्रयोग गरिएका हुन्छन्। भनिन्छ, लोकगीत व्याकरणयीय सीमाभित्र मात्र रहँदैन। 

दुर्गेशले ल्याएको पछिल्लो गीतले तीजको मर्म बुझेको छ/छैन, त्यो पक्कै बहसको विषय हो तर उनले प्रयोग गरेको ‘ख्यास्स पुतली’ शब्दकै कारण बहिष्कार गर्ने निर्णय गर्नु खेदजनक रहेको बताउँछन्, लोक गायक अञ्जान बाबु। 

‘यो गीत तीजको संस्कृतिअन्तर्गत छैन त्यो सत्य हो तर ‘ख्यास्स पुतली’ चलनचल्तीकै शब्द हो। यो एउटा शब्दले तीजको संस्कृति बिग्रने हो र?,’ उनी प्रश्नसहित टिप्पणी गर्छन्, ‘दुर्गेशले आज एउटा गीत निकालेर तीज गीतको बिगारेको हैन। पछिल्लो समयमा जस्ता तीज गीत निस्किरहेका छन्, उसले त त्यसैको संरक्षणमात्रै गरिरहेको हो। अहिले निक्लिरहेका तीजका गीत कस्ता छन् र! उही ख्यास्स पुतली जस्ता होइन?’

तीजको संस्कृति र मर्मलाई अहिलेका तीज गीतले भुलिरहेको उनको धारणा छ। ‘तीज गीत भनेको त विवाह भएकी एउटा चेलीले तीजमा माइत गएपछि दुःखसुःख साट्दै या हाँसोठट्टा गर्दै गाउने गीत हो,’ ‘चरी लैजा समाचार...’ गीतका गायक उनी भन्छन्, ‘तर, यहाँ पुरुष कसरी आइपुगे? कसले ल्यायो? के पुरुष श्रीमतीसँग माइत जान्छ र? भनेपछि संस्कृति त दुर्गेशले बिगारेको होइन नि? पहिल्यैदेखि बिग्रिरहेको छ।’

दुर्गेशलाई बहिष्कार गर्ने प्रतिष्ठानको निर्णय एउटा सर्जकको अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप रहेको उनी बताउँछन्। ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष अभिव्यक्ति स्वतन्त्रता पनि हो तर आफ्ना सदस्यलाई दुर्गेशसँग गीत नगाउनु भनेर उर्दी दिने, सिन्डिकेट लाद्न खोज्ने संस्था कसरी यसको पक्षधर हुन सक्छ,’ उनी भन्छन्, ‘यहाँ सात–आठ वर्षका बालबालिकालाई विपरीत लिंगीसँगको आकर्षणका नाममा यति भद्दाभद्दा दोहोरी गाउन लाइरहँदा कहाँ बोलिरहेको छ प्रतिष्ठानकलिला बालबालिकाको दुरुपयोग भइरहँदा आफैं संरक्षण गर्ने अनि, कुनै रिसइबीका निहुँमा दुर्गेशको एउटा शब्दलाई लिएर बहिष्कार गर्ने? यो त हास्यस्पद निर्णय भयो।’

केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा सम्प्रेषित हुन उचित नलागेको ठहर गर्दैै ध्यानाकर्षण पत्र लेखेको थियो। साथै प्रतिष्ठानले थापालाई प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गर्न आग्रहसमेत गरेको थियो। 


आफूहरुको आग्रह अटेर गरेका कारण बहिष्कारको निर्णयमा पुगेको प्रतिष्ठानको तर्क छ। तर, दुर्गेश आफूले प्रतिष्ठानलाई सधैं सम्मान गरेको तर आफ्नो सिर्जनाकर्ममा प्रतिष्ठानले सधैं रोक लाउन खोजिरहेको अनुभूत गरिरहेका छन्। 

उनी आफूले ‘ख्यास्स पुतली’ शब्द त्यस्तो अश्लीलता झल्काउने गरी या महिलालाई अपमान गर्ने हिसाबले प्रयोग नगरेको बताउँछन्। यहाँ धेरै छाडा गीत बन्दा प्रतिष्ठान चुइँक्क नबोल्ने तर व्यक्तिगत रिसिइबी साँध्न आफूलाई सधैं टार्गेट बनाउने उनको आरोप छ।

‘यो त संस्थाको स्टयाम्प छ भन्दैमा हामी जे पनि गर्न सक्छौं भन्ने दम्भमात्रै हो। यसले कुनै पनि मुद्दालाई समाधानतर्फ लाँदैन, झन् भड्खालोमा हाल्छ। कुनै पनि संघसंस्था नेपालको कानुन, विधि, प्रक्रियाभन्दा माथि हुन सक्दैनन्।

‘ख्यास्स पुतली शब्दमा अश्लीलता र संस्कृतिलाई हानि हुने कुनै अर्थ लुकेको जस्तो लाग्दैन तथापि मेरी आमा मेरो गीत सुनेर रमाइलो गरेको मैले अहिलेसम्म पाएको छैन’, गीत विवादमा आएपछि उनले भिडियोमै स्पष्ट पारेका छन्, ‘मेरी आमा, फुपू, दिदीबहिनीहरु अझै पनि हरिदेवी कोइरालाका गीत गाउँदै नाच्दै गर्नुहुन्छ। यसको मतलब मैले दिएको कुनै पनि वस्तु तपाईंले लिनुभएन भने त्यो तपाईंको होइन। जुन चिज तपाईंको होइन, त्यो मेरो हो भनेर जिकिर गर्नु केवल नियत न हो। मेरो आफ्नै खालको दर्शक/श्रोता छन्, जो मेरो अवधारणा र प्रस्तुतिमा रमाउँछन्। मैले उनीहरुलाई नै लक्षित गरेर गीत निर्माण गरेको हुँ। मेरो भर्चुअल पसलमा पाइने सामग्रीले अरुको पसललाई हानि गरेको छैन।’ 

फिल्म समीक्षक मनोज पण्डित कुनै पनि व्यक्तिले स्वतन्त्र रुपमा कुनै प्रवृत्ति अर्थात् व्यक्तिविरुद्ध असहमति जनाए पनि संस्थाले बहिष्कार गर्ने कुराको नैतिक आधार नरहने बताउँछन्। ‘केही समयअघि चलचित्र कलाकार संघले प्रकाश सुवेदीको रजतपट कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो, अहिले दोहोरी प्रतिष्ठानले दुर्गेशलाई,’ उनी भन्छन्, ‘यो त संस्थाको स्ट्याम्प छ भन्दैमा हामी जे पनि गर्न सक्छौं भन्ने दम्भमात्रै हो। यसले कुनै पनि मुद्दालाई समाधानतर्फ लाँदैन, झन् भड्खालोमा हाल्छ। कुनै पनि संघसंस्था नेपालको कानुन, विधि, प्रक्रियाभन्दा माथि हुन सक्दैनन्। कोही पीडित भएको छ भने उसलाई न्याय कानुनले दिन्छ, संघसंस्थाले होइन। संघसंस्था कसैलाई कारबाही गर्नलाई बनेका निकाय होइनन्।’

कुनै पनि गीत या सिर्जना कस्तो छ, यसले समाजमा कस्तो प्रभाव छाडिरहेको छ? यो पक्कै पनि बहसको विषय हो। तर, कसैको गीत या सिर्जनालाई लिएर उसलाई बहिष्कार गर्नु उचित हो त? 

प्रकाशित: Aug 03, 2021| 15:03 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।