तीनतले घर। टेको लगाइएका काठ कमजोर देखिन्छन्। भर्याङ मक्किसकेका छन्। कोठा अँध्यारा छन्। जोडले हिँड्यो भने चोटाबाट बुर्बुर माटो झर्छ। भित्ताका लिउनको पाप्रा उप्किन थालेका छन्।
मूलढोकामाथि झुन्ड्याएको बोर्डमा लेखिएको छ– नेपालमा सबैभन्दा पहिला बत्ती बालिएको घरमा यहाँलाई स्वागत छ। खोकना म्युजियम।
१०९ वर्षअगाडि अर्थात् १९६८ सालमा बिजुली बलेको घरमा अहिले अन्धकारको साम्राज्य छ। ढोकाको ताल्चामा खिया।ललितपुर खोकनाको रुद्रायणी मन्दिर नजिकै पूर्वतर्फ ठडिएको ‘बिजुली घर’ मा पाँच वर्षदेखि ताल्चा लागेको छ।
घरका भित्तामा पुरानो भित्तेपात्रो झुन्डिएको छ। भित्तामै झुन्डिएको छ, घरधनी सिद्धिलाल महर्जनको तस्बिर।
म्युजियम अर्थात् संग्रहालय। प्राचीन महत्त्वका दुर्लभ, अनौठा वस्तुहरू बटुलेर राखिने ठाउँ वा घर। तपाईंलाई लाग्न सक्छ यहाँ बिजुलीका पुराना सामग्री संरक्षण गरेर राखिएका छन्। त्यसो होइन, घरमा ठेकी, धिमे, ओखल, ढिकी, कृषि औजार, तान लगायतका सामग्री छन्।
घर कहिले बनेको हो अन्दाज लगाउन सकिँदैन। यति मात्र भन्न सकिन्छ– घर निकै पुरानो हो। स्थानीय बूढापाका घर दुईतीन सय वर्षअघि बनेको बताउँछन्। उनीहरूका अनुसार घरले १९९० र २०७२ सालको भूकम्प थेग्यो। वर्षा र हुन्डरी पचाउँदै ठडिइरहेको घरमा २०७२ सालको भूकम्पपछि घरमा मानिस बस्न छाडेका हुन्।
भूकम्पले हल्लाउनुअघिसम्म यही घरमा बस्दै आएका मदनकृष्ण महर्जन केही घर पर माइलो भाइको घरमा बस्छन्। उनी बिरामी छन्। त्यति बोल्न सक्दैनन्।
मदनकृष्णका कान्छो भाइ नारायणहरि महर्जनको घर भने ‘बिजुली घर’ नजिकै छ।
सिद्धिलाल राणाको दरबारमा जागिरे थिए रे। खोकनापारि फर्पिङमा रहेको चन्द्र–ज्योति विद्युत् गृहबाट उनको घर पायकमा पर्थ्याे। ‘त्यसैले राणा सरकारले यही घरमा बिजुली बाल्ने निर्णय गरेका रहेछन्’, नारायणहरि हजुरबाले भनेको कुरा सुनाउँछन्।
सो घरलाई मदनकृष्ण महर्जनले संग्रहालय बनाएका हुन्। संग्रहालय कति सालमा बनाइएको भन्ने प्रश्नमा नारायणहरि भन्छन्, ‘२०–२५ वर्ष भयो होला।’
मदनकृष्ण सन् १९८० मा लन्डन भ्रमणमा गएछन्। लन्डन टावर ब्रिजको नेसनल म्युजियम देखेपछि उनलाई पनि संग्रहालय बनाउने इच्छा जागेछ। सरकारी सेवाबाट अवकाश पाएपछि मदनकृष्णले संग्रहालय बनाएको नारायणहरि बताउँछन्।
नारायणहरि भन्छन्, ‘निजी प्रयासमा म्युजियम बनाएर गाउँलाई चिनाउने प्रयास हो।’ यति बेला मदनकृष्णजस्तै संग्रहालय पनि बिरामी छ।
संग्रहालयका सामग्री देखाउँदै नारायणहरि भन्छन्, ‘पहिला पर्यटक आउँदा यी सामान नयाँ थिए। सामानको हेरचाह गर्ने मानिस थिए। पर्यटकहरू सामान ओल्टाइपल्टाई हेर्थे। सामान निकै पुराना भइसके।’
कोठाभित्र बत्ती बल्दैन। मुसाले तार काटेर बत्ती बाल्न पनि सकस छ। माथिल्लो तला उक्लँदै गर्दा नारायणहरिले सचेत गराए, ‘बिस्तारै आउनुस् है। काठ कमजोर भइसकेको छ। भाँचिएला।’
भर्याङ उक्लँदै गर्दा महर्जनले आफ्ना कथा भनिरहे।
‘म १६ वर्षको थिएँ। २०२७ सालमा हजुरबा सिद्धिलाल बित्नुभयो। बुवा त २०२५ सालमै बित्नुभएको थियो। हजुरबुबाले हाम्रो घरमा नेपालमा पहिलोपटक बिजुली बलेको भन्नुहुन्थ्यो।’
हजुरबा र बुबाको मृत्युसँगै धेरै कुरा गुमेको उनको दुःखेसो छ। उनी भन्छन्, ‘हामीले उहाँहरूबाट धेरै कुरा सिक्नुपर्थ्याे। जानकारी लिनुपर्थ्याे। तर हामी सानै थियौं। केही थाहा पाएनौं।’ सानैमा हजुरबाले घरमा बिजुली बलेको कथा सुनाएको उनी स्मरण गर्छन्।
उनी भन्छन्, ‘१९६८ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले फर्पिङको चन्द्रज्योति विद्युत् गृहबाट उत्पादन भएको बिजुली खोकना हुँदै दरबार पुर्याएका थिए रे।’
नारायणहरिका अनुसार दरबारमा पहिलोपटक बिजुली बाल्न डर भएकाले पहिला सिद्धिलालको घरमा बाल्ने निर्णय गरेछन्। ‘पहिलोपटक यही घरमा बिजुली बलेको हो’, उनी भन्छन्।
घरबाहिर मूलढोकामाथि सिंहको टाउकोको मूर्तिमा एउटा बल्ब झुन्ड्याइएको छ, त्यही ठाउँमा पहिलोपटक बिजुली परीक्षण गरिएको नारायणहरिको भनाइ छ। त्यसपछि खोकनाका चारपाँच घरमा बत्ती बलेका थिए।
‘निजी घर भनेर होला कसैले वास्ता गरेका छैनन्,’ उनले भने, ‘यो ऐतिहासिक घर हो। सरकारले यसको संरक्षण गर्नुपर्छ।’
भित्तामा टाँसिएको स्विच देखाउँदै उनी भन्छन्, ‘यी हेर्नुस् त पुरानो स्विच। यो हजुरबुबाको पालाको स्विच हो। यही एउटा बाँकी छ। यो पनि पहिलोपटक प्रयोग भएको स्विच होइन तर अचेल यस्तो स्विच पाइँदैन।’
स्थानीय पूर्णकृष्ण डंगोल निजी घर भए पनि सरकारले संरक्षण गर्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘पहिला बिजुली बलेको घरको अस्तित्व जोगाउन व्यक्तिले नै प्रयास गरे तर अहिले भूकम्पले गर्दा संरक्षण खोजिरहेको छ।’
मदनकृष्णका माइला भाइका छोरा किशोर महर्जन भन्छन्, ‘हामीलाई पनि यसको इतिहासबारे धेरै कुरा जान्न मन थियो। तर सम्भव छैन।’ उनी पनि इतिहास जोगाउने हो भने सरकारले संरक्षण गर्नुपर्ने बताउँछन्।
तीन पुस्ताअगाडिको आफ्नै घरको बारेमा थाहा नपाएका किशोर भन्छन्, ‘इतिहास हजारौं–हजारौं वर्षको पनि थाहा हुन्छ तर यो घर संरक्षण नभएमा यसको इतिहास तीन शताब्दी नपुग्दै मेटिने डर छ।’