काठमाडौं- २० माघ ०५७ को दिन शुक्रबार थियो । त्यस दिन दरबारमा नियमित 'शुक्रबारे भोज' थियो । राजा वीरेन्द्र र उनका माइला भाइ तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वाइन पिइरहेका थिए ।
त्यही क्रममा वीरेन्द्रले भतिजा तथा तत्कालीन शाहज्यादा पारसको उद्दण्डताले सीमा नाघेको विषय कोट्याए, भाइसँग । स्रोतका अनुसार ज्ञानेन्द्रले युवराज दीपेन्द्रको बदमासीलाई आफ्नो छोराले काँध थाप्नु परिरहेको दाजुलाई सम्झाउन खोजे ।
दाजुको कुरा मान्न ज्ञानेन्द्र तयार थिएनन् । उनले युवराज दीपेन्द्रले गर्ने बदमासी ढाकछोप गर्दै गर्दा आफ्नो छोरो बदनाम हुन पुगेको तर्क गरे ।
पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो उपन्यासकृत पुस्तक 'महानिशा'मा दाजुभाइबीचको तनावको प्रसंग उल्लेख गरेका छन् । 'हातमा भएको वाइनको गिलास टेबलमा राख्दै भने, त्यस्तो होइन, मैले सबै कुरा बुझिरहेको छु । मेरो छोराभन्दा युवराज दीपेन्द्र नै बढी एब्नर्मल छ, दीपेन्द्रका बदमासीलाई मेरो छोरोले काँध थाप्नु परिरहेको छ । बरू, दीपेन्द्रलाई नै सम्झाउनु राम्रो हुन्छ ।'
भाइको जवाफबाट क्रुद्ध भएका वीरेन्द्रले क्रोधमिश्रित आवाजमा भने, 'हेर, तिमीले छोरालाई सम्झाऊ, यहाँ ममाथि पारसको श्री ५ पदवी हटाउन दबाब परिरहेको छ । पाँच लाख जनताले त हस्ताक्षर नै गरेर दिइसकेका छन् । यदि तिमी उसलाई सम्झाएर ठीक ठाउँमा राख्न सक्दैनौ भने म उसको श्री ५ को पदवी हटाउन बाध्य हुनुपर्नेछ ।'
दाजुभाइको संवाद तात्दै जाँदा ज्ञानेन्द्रले वाइन त्यहीं फालिदिएर निस्केको पत्रकार त्रिपाठीले उल्लेख गरेका छन् । तर, स्रोतका अनुसार उनले दाजुको शरीरमै पर्ने गरी वाइन फालेर हिँडेका थिए । र, त्यसपछिका कुनै शुक्रबारे भोजमा उनी सामेल भएनन् ।
ज्ञानेन्द्रले दाजुको शरीरमा पर्ने गरी वाइन फाल्नै नसक्ने तर्क गर्नेहरू पनि नभएका होइनन् । १९ जेठ ०५८ मा पनि उनी त्यही भोज टार्नका लागि चितवनबाट पोखरा पुगेका थिए । दाजु-भाइको तिक्ततापूर्ण सम्बन्ध नसंग्लिँदै दरबार हत्याकाण्ड भयो । संयोगवस, दाजुको उत्तराधिकारी उनै ज्ञानेन्द्र बन्न पुगे । 'कोमा'मा रहेका युवराज दीपेन्द्रलाई त औपचारिकताका लागि मात्र राजा घोषणा गरेजस्तो भयो । गद्दीमै बस्न नपाई महाप्रस्थानतर्फ उनको बाटो सोझियो ।
प्रेम, यौन, ड्रग्स, मदिरा र हतियारको ताण्डव
उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम शाह र पूर्वअधिराजकुमार धीरेन्द्रको मृत्यु भएको थियो ।
राजा वीरेन्द्रको वंश नाशसहित शाही परिवारका १० सदस्यको ज्यान जानुको मुख्य कारण लागूपदार्थ र मदिराको अनियन्त्रित प्रयोग रहेको जानकारहरू बताउँछन् ।
युवराज दीपेन्द्रमा किशोर वयदेखि नै मदिरा र 'ड्रग्स'को लत बसिसकेको थियो । लामो समय लागूऔषध नियन्त्रण ब्युरोमा बिताएका नेपाल प्रहरीका एक पूर्वअधिकृतका अनुसार उनी मामा उदयसमशेरको साथ लागेर डिल्लीबजार चारखाल अड्डामा चरेस खरिद गर्न आउँथे, ०४२ सालतिरै । त्यतिबेला उनी १४ वर्षका मात्र थिए ।
जब युवा वयमा प्रवेश गरे, दरबारले उपलब्ध गराएका एडीसीहरू उनका लागि चरेस ल्याउने माध्यम बने । झोंछेका गल्लीहरूतिरबाट उनका एडीसीहरूले उनका लागि चरेस त्रिभुवन सदनमा पुर्याउँथे ।
प्रहरीका ती पूर्वअधिकृतका अनुसार राजा वीरेन्द्र तथा उनका भाइहरूले लागूपदार्थ सेवन गरे/नगरेको थाहा पाउन सकिएन । उनीहरूका सन्तानमा भने चरेसको लत राम्रैसँग लागेको थियो । 'युवराज हुँदा वीरेन्द्रका एडीसीहरू कडा थिए, उनले खान पाएनन्,' उनी भन्छन्, 'आफ्नै उमेरका एडीसीहरू राखिएकाले दीपेन्द्रलाई रोक्ने कोही भएन ।'
तिनै एडीसीहरूले उनका लागि सम्भ्रान्त वर्गका युवतीहरूको व्यवस्था गर्थे । दरबारमार्ग र जमलका होटेलहरूमा पुर्याइने युवतीहरूसँग रोमान्स गर्थे, दीपेन्द्रले ।
उनको सुरक्षा टोलीमा नौ वर्ष बिताएका एक पूर्वसैनिकका अनुसार बूढानीलकण्ठ स्कुलमा पढ्दैदेखि उनले चुरोटमा गाँजा, चरेस मिसाएर पिउन थालिसकेका थिए । आफ्ना माथिल्ला तहका अधिकृतहरूलाई रिपोर्ट गर्दा उनीहरूले 'मनिटर' मात्र गर्न अह्राउँथे, रोक्ने कोही हुँदैनथ्यो ।
एसएलसी दिएर दीपेन्द्र बूढानीलकण्ठबाट बाहिरिएको राति उनको सुरक्षार्थ तैनाथ सैनिकहरूले ठूलै राहत महशुस गरे । ब्यारेकमै ल्याएर मदिरा सेवन गरे । कमान्डरसहित सबै मातिसकेका थिए । तीन जना स्कुलको पर्खाल नाघ्दै भित्र प्रवेश गरेको देखे, दरबारमा काम गरेका एक पूर्वसुरक्षा अधिकारीले भने ।
सैनिक टोलीलाई ठम्याउन मुस्किल भएन, तीमध्येका एक जना दीपेन्द्र थिए । दरबारभित्रबाट बग्ने टुकुचाको ढलबाट बाहिरिएर दरबारको पर्खालबाहिर बसेका दुई साथीका साथमा उनी बूढानीलकण्ठ पुगेका थिए । बिहान चार बजे मात्र उनीहरू निस्किए । बूढानीलकण्ठमा विज्ञान विषय पढाउने एक शिक्षिकाको कोठामा रात बिताएका थिए, दीपेन्द्र र उनका दुई साथीले ।
त्यतिबेलासम्ममा राजा वीरेन्द्रलाई पनि दीपेन्द्र बूढानीलकण्ठमा रहेको जानकारी गराइसकेका थिए, एडीसीहरूले । र, दीपेन्द्रले बाहिर निस्किँदा घुँडामुनि गोली हानिदिन आदेश दिएका थिए ।
त्यहाँबाट गाडी हुइँक्याएर निस्किएका उनीहरू महाराजञ्जबाट एयरपोर्ट हुँदै बानेश्वर चोकबाट केही तल पुग्दा राजारानी देखे । अनि मात्र गाडी रोके । रानीले गाडीबाट उतारेर रातो हुने गरी गालामा चड्काइन् । र, आफूहरूसँगै गाडीमा राखेर दरबार पुर्याइन् ।
उनका दुई साथीलाई दरबारको सैनिक प्रहरीमा लगेर बाथरुममा थुनिएको थियो । भोलिपल्ट मात्र छाडियो ।
'ड्रग्स' प्रयोगको पुरानै प्रवृत्ति
सिंगापुरमा लामो समय नेपालका अवैतनिक महावाणिज्य दूत रहेका एमएन स्वामीले आफ्नो पुस्तक 'अबाउट किङ्स, किलर्स एन्ड जस्टिस'मा नेपालको राजदरबारका सदस्यहरू पहिलेदेखि नै 'ड्रग्स' प्रयोगकर्ता रहेको उल्लेख गरेका छन् ।
पूर्वयुवराज पारस शाहको ड्रग्स प्रयोगको प्रसंगबाट शुरू गरेका छन्, उनले । स्वर्गीय राजा वीरेन्द्रकी काकी अधिराजकुमारी प्रिन्सेप शाह एक पटक थाई राजधानी बैंककमा लागूपदार्थसहित पक्राउ परेको स्वामीले उल्लेख गरेका छन् ।
'स्रोतहरूका अनुसार अधिराजकुमारी प्रिन्सेप निर्दोष थिइन्, शाही परिवारकै एक सदस्यले उनको झोलामा ड्रग्स राखिदिएका थिए,' उनको पुस्तकमा उल्लेख छ, 'त्यस घटनाको जाँच गर्न राजा वीरेन्द्रले कुनै कदम उठाएको जानकारी छैन ।'
एक शाही नातेदारले नेतृत्व गरेको नेपाली फुटबल टोली अमेरिकाको लस एन्जलसमा आयोजित ओलम्पिक खेलमा सहभागी हुन जाने क्रममा पक्राउ परेको थियो । उक्त टोलीले बोकेका दुई वटा फुटबलमा लाखौं मूल्यको हेरोइन बरामद भएको थियो ।
उक्त घटनाको जाँच गरेर दोषिमाथि कारवाही गर्ने कुरामा पनि राजा वीरेन्द्रले उदासिनता देखाएका थिए । 'कारवाही नै गर्न नसकिने त्यो कुन पीडक थियो ? के ऊ अति शक्तिशाली भएकै कारण राजाले समेत कारवाहीका लागि चासो नदेखाएका हुन् ?' स्वामीले प्रश्न गरेका छन् ।
राजा वीरेन्द्र कुनै निर्णय लिनु परे प्रायः अदालतको सहारा लिन्थे । औपचारिकता नै सही, उनीसँग यस्तो गर्ने अधिकार थियो । उनी अत्यधिक सम्मानित र लोकप्रिय राजा थिए । र, आफूबाट कुनै गल्ती नहोस् भन्ने चाहन्थे ।
राजा वीरेन्द्रले माओवादीले पनि विश्वास गरेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाएर सत्ता कब्जाको तयारी गरेको स्रोतको दाबी छ ।
तथापि, उनले राजपरिवारका सदस्यहरू माथि कारवाही नचलाएर गल्ती गर्न पुगे । 'र, त्यो उनको विफलता पनि थियो,' स्वामीले तर्क गरेका छन्, 'संयोगवस राजा वीरेन्द्रले रुसका बादशाह जार अलेक्जेन्डरको गल्ती दोहोर्याए । आफ्नै दरबारमा नृशंस नरसंहारलाई मौन स्वीकृति दिए ।'
आफूले हत्याकाण्डको वर्षदिनअघि सिंगापुरमा युवराज दीपेन्द्रसँग लामो संवाद गरेको र उनी हत्याकाण्ड मच्चाउने गरी मानसिक रूपमा विछिप्त अवस्थामा नपाएको स्वामीले उल्लेख गरेका छन् ।
स्वामीले आफ्नो पुस्तकमा तीन वटा गम्भीर प्रश्न उठाएका छन् । पहिलो, के दरबार हत्याकाण्ड सुरक्षा व्यावसायिकताको कमीका कारण भएको हो, जसले नरसंहारमा योगदान दियो ? दोस्रो, के दरबारभित्रको षडयन्त्रका कारण नरसंहार मच्चिएको हो ? र, तेस्रो, के नरसंहारको योजना बनाएका अरू नै व्यक्तिले त्यसलाई अन्जाम दिएका हुन् ?
जानकारहरूका अनुसार दीपेन्द्रले लिने गरेको भनिएको 'कालोपदार्थ' चरेस थियो । र, साथमा रक्सी पनि पिएका थिए । 'चरेस र रक्सी एकसाथ लिएको मानिस 'हुमन बम' बन्छ,' तत्कालीन दरबार निकटस्थ एक जानकार भन्छन्, 'त्यसदिन दीपेन्द्र त्यसरी नै हुमन बम बन्न पुगेका थिए । दुवै चिज सेवन गरेको व्यक्ति आफूले के गर्दैछु भन्ने थाहा नहुने गरी बौलाउँछ । त्यसदिन दीपेन्द्र त्यसरी नै बौलाएका थिए ।'
दरबारभित्र लागूपदार्थलाई पूर्वअधिराजकुमार धीरेन्द्रले प्रवेश गराएका थिए । दीपेन्द्रलाई इटन कलेजमा पढ्न पठाएका थिए, राजा वीरेन्द्रले । त्यहीं उनी ड्रग्सको संगतमा आइसकेका थिए । र, त्यतिबेलै मुम्बईबाट प्रकाशित हुने 'ब्लिज' म्यागेजिनले दीपेन्द्र मदिराको नसामा लठ्ठिएको तस्बिर छापेर नेपालमा तरंग पैदा गरेको थियो ।
त्यसो त, नेपालमा हिप्पी संस्कृति भित्र्याएको राजा वीरेन्द्रले नै हो । उनको शासनकालमा काठमाडौंमा ड्रग्स बिक्री गर्ने खुला पसलहरू नै थिए । झोंछेलाई त्यतिबेला 'फ्रिक स्ट्रिट' अर्थात् रंगीन सडक भन्ने गरिएको थियो । गाँजा र चरेसको सेवन वैधानिक थियो । त्यतिबेलैदेखि दरबारमा पनि ड्रग्सको प्रयोग हुन थाल्यो ।
रेखदेखमा राजारानीको गल्ती
दीपेन्द्र दुवै हातले बन्दुक चलाउन सक्ने 'सार्प सुटर' बनिसकेका थिए । उनी खुल्लमखुला सरकारी हतियार बोकेर हिँड्थे । तिनै हतियार परिवारको नृशंस अन्त्यका लागि प्रयोग गरिदिए ।
जानकारहरूका अनुसार राजा महेन्द्रले युवराज वीरेन्द्रले हतियार चलाएको थाहा पाए तत्काल कब्जामा लिन लगाएर कोतमा चाबी लगाई राख्न लगाउँथे । दीपेन्द्रका हकमा हतियारको सहज उपलब्धता दरबारले गरेको ठूलो त्रुटि रहेको एक पूर्वसुरक्षा अधिकारी बताउँछन् ।
त्यसमाथि सेनाको खरिपाटी तालिम केन्द्रमा उनलाई सैनिक तालिम लिन पठाउनु अर्को त्रुटि रहेको उनको तर्क छ । भन्छन्, 'दीपेन्द्रलाई राजा होइन, सैनिक बनाउन खोजियो । त्यसैको परिणाम हो, दरबार हत्याकाण्ड ।'
बिहे नभएको छोरालाई एक माइल टाढाको त्रिभुवन सदनमा लगेर राख्नु वीरेन्द्र र ऐश्वर्याको गल्ती थियो । र, युवराजको आदेश पालना गर्नैपर्ने एडीसीहरूको बाध्यता ।
लन्डन पढ्दा एक स्थानीय पत्रिकालाई दिएको अन्तरवार्तामा दीपेन्द्रले आफूले नेपालका धेरै युवतीसँग रोमान्स गरिसकेको बताएका थिए, जसले नेपालमा समेत विवाद निम्त्याएको थियो । उनको स्त्रीलम्पट स्वभाव विकास भएको थियो, सानैदेखि ।
१५ वर्षको उमेरमै दीपेन्द्रले दरबारकी 'नानी' पदमा कार्यरत एक युवतीलाई गर्भवती बनाएका थिए । गुरुङ थरकी उनलाई पुतलीसडकको एक क्लिनिकमा गर्भपतन गराएर रानी ऐश्वर्याले ओखलढुंगास्थित घर फर्काइदिएकी थिइन् ।
एक पूर्वसैनिक प्रहरीका अनुसार त्रिभुवन सदनमै केटी लिएर जान सक्ने अवस्था भने थिएन । युवराजका पाहुनाको सूची सैनिक प्रहरीलाई दिनुपथ्र्यो । सैनिक प्रहरीले सीधा राजाकोमा जाहेरी चढाउँथे ।
परिपक्व एडीसीहरू तैनाथ नगर्नु दरबारको अर्को गल्ती थियो । युवराजकै उमेरका र उद्दण्ड एडीसीहरूलाई छोरो जिम्मा लगाएर श्रीसदनमा मस्त थिए, राजा-रानी । परिणाम, हत्याकाण्डको ताण्डव मच्चाउन पुगे, भावी राजाले ।
आफ्ना बाबु राजा महेन्द्रले परिपक्व एडीसीहरू दिएर नियन्न्त्रणमा राखेको कुण्ठाका कारण पनि छोरालाई खुला छाडेका हुन सक्छन्, वीरेन्द्रले ।
रिसाहा थिए वीरेन्द्र
वीरेन्द्रको सार्वजनिक छवि शान्त र भलाद्मी राजाको थियो । खासमा, उनी पनि बेला-बेलामा रिस देखाउँथे ।
एक पटक राजारानीको बासस्थल बनेको थियो, नागार्जुन दरबार । वीरेन्द्र कुकुरको साङ्लो समातेर अगाडि-अगाडि थिए । रानी पछाडि-पछाडि हिँडिरहेकी थिइन् । राजाले साङ्लोसहित कुकुरलाई तीन कान्लामुनि पुग्ने गरी फालिदिए, 'इडियट' भन्दै । रानी फरक्क फर्किइन् ।
आत्तिएका सैनिक प्रहरीले मेसिनगनबाट गोली छुटेको पत्तै पाएनन् । ५० राउन्ड गोली लगातार पड्कियो, जसका कारण हतियार कोतको छानो छियाछिया भयो । राजाले ती सैनिक प्रहरीलाई केही नगर्नू भनेर आदेश दिए । र, उनको ड्युटी मात्र परिवर्तन भयो ।
उनले कुकुरलाई किन फाले भन्ने कसैले थाहा पाउने कुरा भएन । शायद, रानीसँग रिस देखाएका थिए, उनले ।
राजा वीरेन्द्रको पोस्टमार्टम नगर्न तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रमार्फत् आएको दबाब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सबै उच्चपदस्थहरूले स्वीकारेको देखिन्छ । तर, कसले र किन पोस्टमार्टम नगर्न आदेश दियो भन्ने तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग सोध्ने हिम्मत कसैले गरेको पाइँदैन ।
'कु' गर्दै थिए, वीरेन्द्र !
के वीरेन्द्र माओवादी समस्या समाधानका लागि सत्ता हातमा लिने योजनामा थिए ? दरबारलाई नजिकबाट बुझ्ने धेरैको यही बुझाइ देखिन्छ । पछिल्ला दिनमा उनी एमाले नेता वामदेव गौतमसँग नजिकिएका थिए । र, माओवादीले समेत विश्वास गरेका गौतमलाई प्रधानमन्त्री बनाएर सत्ता कब्जाको तयारीमा रहेको स्रोतको दाबी छ ।
आफू निकटस्थ पत्रकारहरूसँगको एक रात्रिभोजमा गौतमले त्यसको संकेत पनि गरेका थिए । ती पत्रकारहरूले 'प्रधानमन्त्रीका लागि दौरासुरुवाल ठीक पार्नुभयो त' भन्दै जिस्क्याएका थिए । गौतमले त्यस्तो सम्भावना टाढा नरहेको बताउँदै उनीहरूलाई टारेका थिए ।
दशैंमा राजा वीरेन्द्रसँग टीका लगाउन जाने थोरै कम्युनिस्ट नेताहरूमध्ये उनी पनि पर्थे । तत्कालीन शाहज्यादा पारसविरुद्ध पाँच लाख जनाको हस्ताक्षर संकलनका लागि राजा वीरेन्द्रले नै गौतमलाई उकासेको दाबी गर्नेहरू पनि छन् ।
आफ्नो 'दर्शनभेट'मा आउने नेताहरूसँग राजा वीरेन्द्रको एउटै प्रश्न हुन्थ्यो, 'माओवादी समस्या सैद्धान्तिक हो कि जनताले पीर मर्काका कारण उनीहरूको साथ दिएका हुन् ?' अधिकांशको जवाफ 'माओवादी समस्या राजनीतिक रहेको' हुने गथ्र्यो ।
माओवादीविरुद्ध सेना प्रयोग गर्न नदिनुको कारण पनि वीरेन्द्रले पाउने गरेको त्यही सुझाव थियो । र, उनी नयाँ तुलसी गिरी तयार पारेर सत्ता हातमा लिने र माओवादीलाई शान्तिपूर्ण राजनीतिको धारमा ल्याउने सोचमा देखिन्थे ।
पत्रकार त्रिपाठीको पुस्तक 'महानिशा'मा उल्लेख भएको एउटा प्रसंगले पनि वीरेन्द्र बाहिर देखिएजस्तो प्रजातान्त्रिक थिएनन् भन्ने पुष्टि गर्छ । तत्कालीन गृह तथा कानुन मन्त्री शम्भुप्रसाद ज्ञवालीलाई राजा महेन्द्रले पञ्चायतभित्रै राजनीतिक दलहरूलाई छुट दिने गरी संविधान संशोधनको खाका तयार पार्न निर्देशन दिएका थिए ।
राजाले भनेअनुसार ज्ञवालीले तयार पनि पारे । १७ माघ ०२८ मा भरतपुरको दियालोबंगलामा हुने मन्त्रिपरिषद् बैठकमा सीधा प्रवेश गराएर पारित गराउने राजा महेन्द्रको सोच थियो । तर, सोही बिहान उनको अप्रत्यासित मृत्यु भयो ।
बाबुको उत्तराधिकारी बनेका वीरेन्द्रले त्यसबारे जानकारी पाउनासाथ मन्त्री ज्ञवालीसँग मस्यौदा मागे । र, उनलाई राजीनामा दिन लगाए । निरंकुश पञ्चायती व्यवस्था कायमै रह्यो ।
देवयानीमाथि शंकाको घेरा
राजा वीरेन्द्रको जीवनको उत्तराद्र्धतिर दरबारमा दुई जर्नेलको प्रभाव देखिन्थ्यो, शान्तकुमार मल्ल र ताराबहादुर थापा । युवराज दीपेन्द्रसँग सुप्रिया शाहको विवाह हुँदा मल्लको प्रभाव एकाएक बढ्ने थियो ।
पत्रकार त्रिपाठीको पुस्तक 'महानिशा'मा उल्लेख भएअनुसार मल्लको प्रभाव घटाउन उनका विरोधी मानिने थापाले देवयानी राणालाई अगाडि सारेका थिए । त्यसका लागि देवयानीका पिता पशुपतिसमशेर राणाले पनि सहमति दिएका थिए । र, उनमा राजाको सम्धी बन्ने लोभ पलाएको थियो ।
त्रिपाठीका अनुसार त्यतिञ्जेलसम्म दीपेन्द्रको ध्यान देवयानीतिर गएको पाइँदैन । उनको ध्यान आकर्षित गर्नकै लागि राणाको महाराजगञ्जस्थित निवास 'विजयवास'मा भोज आयोजना गरियो, जसमा दीपेन्द्र पनि निम्त्याइए । सोही भोजपछि दीपेन्द्र र देवयानी नजिकिएको र त्यो नियमित भेटघाट मात्र नभई शारीरिक सम्पर्ककै तहमा पुगेको त्रिपाठीले उल्लेख गरेका छन् ।
त्यही सम्बन्धको कारण हुन सक्छ, देवयानीसँग मोबाइल साथमा हुँदाहुँदै पनि उनको कोठामा ०१-४२३०५१ नम्बरको ल्यान्डलाइन नम्बर जोडिएको थियो । उनले त्यतिबेला बोक्ने गरेको ९८१०२४३३९ नम्बर आमा उषा राणाको नाममा थियो ।
दीपेन्द्र-देवयानी प्रेम कति झाँगिएको थियो भने गोकर्ण गल्फकोर्समा प्याराजम्प गर्दै थिए, दीपेन्द्रले । देवयानी पनि पुगेकी थिइन्, त्यहाँ । प्याराजम्पपछि उनी देवयानीको गाडीमा जान तयार भए । तर, सैनिक कमान्डरले 'हुँदैन' भन्दै जान दिएनन् ।
उनीहरूबीच शारीरिकस्तरको सम्बन्धलाई बेवास्ता गर्ने तर विवाह गर्न स्वीकृति नदिने तत्कालीन बडामहारानी ऐश्वर्याको व्यवहारले अन्ततः एक कहालीलाग्दो दुर्घटनामा पुर्यायो, राजसंस्थालाई ।
त्यो अन्तिम संवाद
१९ जेठ ०५८ को राति आठ बजेर १२ मिनटमा देवयानीले दीपेन्द्रको मोबाइल (९८१०२१५१३)मा एक मिनट १४ सेकेन्ड कुरा गरेकी थिइन् । यस्तै, आठ बजेर २५ मिनट जाँदा देवयानीले ल्यान्डलाइनबाट दीपेन्द्रसँग चार मिनट १४ सेकेन्ड कुरा गरेकी थिइन् । आठ बजेर ३९ मिनट जाँदा दीपेन्द्रले देवयानीसँग ३२ सेकेन्ड कुरा गरेको देखिएको थियो ।
हत्याकाण्डको ठ्याक्कै अगाडि उनीहरूबीच भएको कुराकानीको रेकर्ड खोज्ने प्रयास छानविन समितिले गरेको पाइँदैन । देवयानीले भनेकै कुरालाई मात्र प्रतिवेदनमा समेटिएको छ ।
दरबार हत्याकाण्डको राति घरमै रहेकी छोरीबारे २८ जेठमा समितिलाई बयान दिने क्रममा पशुपतिसमशेर राणाले उनी विदेशमा भएको बताएका छन् । तर, कुन देश भन्ने थाहा नभएको दाबी गरेका छन् ।
समितिले सोधेको 'कुनै निश्चित ठाउँ, मुलुक बाहिर कहीं छन् भन्ने कुनै यहाँहरूलाई ज्ञान छ' भन्ने प्रश्नमा राणाले 'अब हामी पत्ता लगाउन सक्छौं' भनेका छन् ।
लगत्तै अर्को प्रश्नमा राणाले 'देवयानीको अवस्था अहिले अस्वस्थ छ सभामुख ज्यु, कमजोर छ । अत्यन्त कमजोर छ, उसको अवस्था । ऊ विश्राममा छ । म प्रयासचाहीं गर्छु' भनेका छन् । र, देवयानीसँग तत्कालीन राजदूत भेषबहादुर थापाले डराई-डराई बयान लिएका थिए, नयाँदिल्लीस्थित नेपाली दूतावासमा । २९ जेठ ०५८ को राति सवा आठ बजे उनको बयान लिएका थिए, राजदूत थापाले ।
त्यति ठूलो दुर्घटनामा नाम जोडिएकी देवयानी रातारात कसरी नयाँदिल्ली पुगिन् ? उनलाई रोक्ने या सुरक्षा नियन्त्रणमा राख्ने प्रयास किन गरिएन ? र, स्वदेश फर्केपछि उनीसँग विस्तृत बयान किन लिइएन ?
उनलाई उन्मुक्ति दिँदा शंकाको घेराबाट उनी पनि बाहिरिन सकेकी छैनन् । उनी आफैंले पनि मुख खोलेकी छैनन्, अहिलेसम्म ।
दीपेन्द्रका एडीसीद्वय गजेन्द्र बोहरा र राजु कार्की मात्र होइन, स्वयं देवयानीका मातापिताले समेत उनको दीपेन्द्रसँगको सम्बन्ध स्वीकारेका छन् । देवयानी स्वयंले पनि बयानमा उक्त सम्बन्ध स्वीकारेकी छन् । सुप्रिया शाहले त समितिलाई देवयानीसँग विवाह गर्ने दीपेन्द्रको सोच खुलाएकी छन् ।
एडीसी कार्कीले देवयानी करिब नौ वर्षदेखि दीपेन्द्रकी 'गर्लफ्रेन्ड' रहेको बताएका छन् । दीपेन्द्रले नै त्रिभुवन सदनमा देवयानीलाई लिएर आउने गरेको कार्कीको बयान छ ।
भएन अनुसन्धान
साना-ठूला सबै घटनामा प्रहरीले नेपाली या विदेशी नागरिक सबैसँग बयान लिने कानूनी अधिकार पाएको छ । तर, राष्ट्रप्रमुखकै वंशनाश भएको त्यति ठूलो हत्याकाण्डमा गम्भीर छानविनका लागि त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहले पनि चासो दिएनन्, न त तत्कालीन र त्यसपछिका सरकारहरूकै चासोको विषय बन्यो ।
जब पूर्वराजा ज्ञानेन्द्रले केही अभिव्यक्ति दिन्छन्, राजनीतिक दलका नेताहरूले उनलाई धम्क्याउनका लागि मात्र हत्याकाण्डको छानविन गर्ने बताउने गरेका छन् । के पूर्वराजा ज्ञानेन्द्र हत्याकाण्डमा जोडिएका छन् ? छन् भने नागरिक बनिसकेका उनीमाथि कारवाही गर्न केले रोकेको छ, सरकारलाई ? यदि दोषि छैनन् भने उनलाई धम्क्याउनुको तुक देखिँदैन ।
नेपालमा जब-जब ठूला घटना हुन्छन्, न्यायिक आयोग या छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिन्छ । प्रहरीबाट गम्भीर अनुसन्धान गराइँदैन । दरबार हत्याकाण्ड पनि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेर झारा टारियो । समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य थिए ।
प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले प्रयोग गरेका 'र्याटाटा' र 'भटटट'जस्ता शब्दका कारण समितिको गम्भीरतामाथि नै प्रश्न उठायो । उनको हलुका प्रस्तुतीका कारण हत्याकाण्डबारे गम्भीर छानविन भएको कुरामा कोही विश्वस्त बन्न सकेन ।
प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको भनाइमा दरबार हत्याकाण्ड छानविन समिति मात्र गठन भयो, अनुसन्धान समिति गठन भएन । अनुसन्धानको जिम्मा प्रहरीलाई दिन कसैले चासो दिएन । बरू, लाशहरूको पोस्टमार्टमसमेत नगरी हतार-हतार दाहसंस्कार गरियो ।
राजा वीरेन्द्रको पोस्टमार्टम नगर्न तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रमार्फत् आएको दबाब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सबै उच्चपदस्थहरूले स्वीकारेको देखिन्छ । सबैको बुझाइ मुमाबडामहारानी रत्नको आदेश भन्ने देखिन्छ । तर, कसले र किन पोस्टमार्टम नगर्न आदेश दियो भन्ने तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग सोध्ने हिम्मत कसैले गरेको पाइँदैन ।
प्रहरीका एक पूर्वएआईजीका अनुसार राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धानकर्मीहरूबाट गम्भीर अनुसन्धान गराएको भए कसको शरीरमा कति टाढाबाट र कसरी गोली लागेको थियो भन्नेसम्म खुल्ने थियो । गम्भीर अनुसन्धान नगराइँदा र हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काइँदा दरबार हत्याकाण्ड रहस्य र शंकाकै घेरा रुमल्लिएको छ ।
प्रकाशित: Jun 02, 2018| 18:23 शनिबार, जेठ १९, २०७५