मंगलबार, चैत १०, २०८२

अन्योलमा स्ववियु निर्वाचन : त्रिवि भन्छ- निर्वाचनकै पक्षमा छौं तर कहिले गर्ने भन्‍न सकिन्‍न

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबारे अन्योल कायमै छ। विद्यार्थीले आफ्ना माग राख्ने थलोको रुपमा रहेको स्ववियू केही वर्षयता थला परेर बसेको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबारे अन्योलता कायमै छ। विद्यार्थीले आफ्ना माग राख्ने थलोको रुपमा रहेको स्ववियू केही वर्षयता थला परेर बसेको छ।

National life

अहिले क्याम्पसमा भएका स्ववियूको म्याद सकिएपछि अधिकांश क्रियाशील पनि छैनन्। स्ववियूको आवश्यकता र औचित्यप्रति बेलाबखतमा प्रश्न उठ्ने गरेको छ। स्ववियू निर्वाचन नहँुदा विद्यार्थीले आफ्ना आवाज क्याम्पस प्रशासनलाई राख्नबाट बञ्चित भएको विद्यार्थी संगठनहरुको भनाइ छ। 

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका अध्यक्ष राजीव ढुंगान भन्छन् ,‘हामी सँधै स्ववियु चुनावको पक्षमा छौँ तर विगत केही वर्षदेखि त्रिविले नै चुनाव गर्न नदिने षड्यन्त्र बुनिरहेको छ।’

त्रिविले क्याम्पस प्रमुखको रजाई बढाउन स्ववियुलाई कमजोर पार्न लागिपरेको उनको आरोप छ। उनले भने, ‘स्ववियु नहुँदा हरेक क्याम्पसका प्रमुखहरुले मनोमानी ढंगले काम गर्न पाउँछन्। त्रिविको नेतृत्वले आफूखुसी मनलाग्दी काम गर्न पाउँछन्। उनीहरुको उद्देश्य जसरी हुन्छ स्ववियूलाई कमजोर पार्ने छ। अहिले २५ गते बस्ने भनेको वैठक पनि सारिएको छ।’

स्ववियू निर्वाचनको विषयलाई लिएर नेविसंघले त्रिभुवन विश्वविद्यलायमा चरणबद्ध रुपमा आन्दोलन गरेको थियो। त्रिविले स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गर्न ढिलाइ गरेकै कारण समस्या उत्पन्न भएको नेविसंघको बुझाइ छ। त्रिभुवन विश्वविद्यालयले भने विश्वविद्यालयको कारण भन्दा पनि विद्यार्थी संगठनकै कारण निर्वाचन गर्न नसकिएको दाबी गरेको छ।

Laxmi sunrise bank
kumari

विश्वविद्यालयका रजिस्ट्रार पेशल दाहालले भने, ‘हामी निर्वाचनको पक्षमा छौँ तर कोभिडका कारण यसै भन्न सकिने अवस्था छैन। ठूला विद्यार्थी संगठनको स्पष्ट धारण आइसकेपछि मात्र यस विषयमा निर्णय हुन्छ। विद्यार्थी संगठनबीचमा नै विवाद कायम रहे स्ववियू निर्वाचन हुँदैन।’ 

यसअघि चैत्र ९ गते विश्वविद्यलायले नेविसंघ त्रिवि समितिसँग आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति गरेको थियो। नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच सहमति भएको थियो। उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत पनि गरेका छन्।

नेकपा एमाले ओली पक्ष निकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले स्ववियु चुनाव गराउने विषयमा आफूहरु पनि सहमत भएको बताउँछन्। उनले भने, ‘सहमति भएअनुसार निर्वाचन गराउन समय पनि छ। विश्वविद्यालयले चाँडै सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका प्रकाशन गर्नुपर्छ।’

त्यस्तै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरु पनि स्ववियु निर्वाचनको पक्षमा रहेको बताएका छन्। उनले भने, ‘निर्वाचन दुई–दुई वर्षमा गर्नुपर्ने हो। विद्यार्थी संगठनको पनि साझा धारणा बन्न सकेन। विद्यार्थी संगठनमा भएको विवादका कारण आज स्ववियु कमजोर भएको छ।  स्ववियु निर्वाचन जतिसक्दो चाडो गर्नुपर्छ। हामी हाम्रा ऐजेण्डा राख्न पाउनुपर्छ।’ उनले थपे, ‘स्ववियु निर्वाचन जेठ मसान्तसम्ममा गर्न सकिन्छ। कोभिड–१९ जस्तो माहामारीका बेलामा विद्यार्थीलाई सहयोग पुर्‍याउने संस्था स्ववियु नै हो त्यसैले बहानावाजी गरेर सार्ने भन्दा पनि जतिसक्दो चाडो स्ववियु निर्वाचन गर्नुपर्छ।’ 

स्ववियु चुनावमा भाग लिन २८ वर्षे उमेर हद लागू गरिएको छ। गत वर्ष स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो। अहिले पनि नेविसंघ र त्रिविबीचमा आगामी जेठ ३० मा चुनाव गराउने गरी सहमति भएको छ। तर, निर्वाचन हुने विषयमा भने अन्योल कायमै छ।

प्रकाशित: Apr 08, 2021| 13:37 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्