काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी असारसम्ममा ६० लाख नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना रहेको बताएका छन्। सोमबार सांसद्हरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्।
'असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने योजना बनाएका छौँ। १८ लाख नागरिकलाई लगाइसकिएको छ। ६५ वर्षभन्दा माथिकालाई १० दिनमा लगाइसक्ने योजना सरकारले बनाएको छ,' मन्त्री त्रिपाठीले भने।
उनले सबै फ्रन्टलाइनरहरूका लागि जोखिम भत्ता पठाइसकिएको समेत दाबी गरे। 'सबै फ्रन्टलाइनरहरूलाई जोखिम भत्ता मन्त्रालयले पठाइसकेको छ। कुनै कुनै अस्पतालमा सबैलाइ दिन थालेकाले अप्ठेरो भएको हो,' उनले भने।
उनले पुनः लकडाउन गर्ने सरकारको तयारी नरहेको समेत जानकारी गराएका छन्। 'लकडाउन अवस्था आउन नदिने हाम्रो प्रयास छ,' उनले भने।