काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का सांसदहरुले दार्चुला घटनाको बारेमा सरकार संवेदनशील नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
बैठकको सुरुमै सांसदहरु उठेपछि सभामुख अग्नि सापकोटाले गणेशसिंह ठगुन्नालाई बोल्न दिए। ठगुन्नाले दार्चुलाको व्यासस्थित मालघाटमा जयसिंह धामी बेपत्ता भएकोबारे सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'एसएसबीले तार काट्दा महाकाली नदीमा मानिस बेपत्ता भएका छन्। हारगुहार गर्दा समेत एसएसबीले सहयोग गर्न मानेनन्। युद्धरत राष्ट्रका बीचमा पनि नागरिकको सुरक्षा गर्ने धर्म हुन्छ।'
भारतीय थानामा आफन्तहरुले किटानी जाहेरी दिएको भन्दै उनले गृह मन्त्रालय र स्थानीय प्रशासनले घटनालाई ढाकछोप गरिरहेको आरोप लगाए। 'महाकाली वारिपारिका जनताको विशेष सम्बन्ध छ। यस क्षेत्रको सांसदको हैसियतले घोर विरोध गर्न चाहन्छु। दोषीमाथि कारबाही होस्, पीडितलाई क्षतिपूर्ति पाउन्। यो प्रतिनिधिमूलक घटना मात्रै हो। दार्चुलाबासी तुइन चढेर भारतको बाटो भएर सदरमुकाम आउनुपर्ने बाध्यता छ,' उनले भने।
ठगुन्नाले थपे, 'अहिलेको सरकारको नेतृत्वमा डडेल्धुराका शेरबहादुर देउवा हुनुहुन्छ। दार्चुला घटनाले डडेल्धुरालाई दुख्ला। घटनाको छानविनका संसदीय छानबिन समिति घटना गरियोस्। भारतसामु विरोध दर्ता गरियोस्।'