काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको दुई महिनाभन्दा बढी हुँदा पनि त्यसको प्रभावकारी परीक्षण नेपालमा सुरु हुन सकेको छैन।
गत पुुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको थियोे। बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि त्यहाँबाट आएका मानिसलाई निगरानीमा राखी परीक्षण गर्दा उनीहरुमा नयाँ भेरियन्टको आशंका भयो।
नयाँ भेरियन्टको पुष्टिका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने थियो। तर नेपालमा त्यसको लागि मेसिन नभएकाले परीक्षणका लागि उनीहरुको नमुना हङकङ पठाइएको थियो। करिब एक महिना पछिमात्रै उनीहरुमध्ये तीन जनामा नयाँ भेरियन्ट पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा जिन सिक्वेन्सिङका लागि त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभाग, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन छ। ती मेसिनमा केही नमुना पठाइए पनि रिपोर्ट प्राप्त भएको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार अहिले १५ जनाको नमुना संकलन गरी जिन सिक्वेन्सिङको प्रक्रिया अगाडि बढाइएको छ, तर रिपोर्ट प्राप्त भइसकेको छैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्छ। हाल कोरोना परीक्षण गरिरहेका पीसीआर ल्याबले नयाँ भेरियन्ट पत्ता लाग्दैन। तर पहिलेकै ल्याबबाट नयाँ भेरियन्टको लागि पहिलो चरणमा स्क्रिनिङ भने गर्न सकिन्छ।
गुप्ता भन्छन्, ‘नयाँ भेरियन्ट पत्ता लगाउन शरीरमा ५ वटा जिनको परीक्षण गरिन्छ– एस जिन, एन जिन, ई जिन, ओराएफ जिन र आरडिआरपी जिन। यीमध्ये नयाँ भेरियन्ट पत्ता लगाउनको लागि एस जिन नेगेटिभ आउनुपर्छ भने अरु सबै जिनको रिपोर्ट पोजेटिभ आउनुपर्छ। नयाँ भेरियन्ट पत्ता लगाउन मानिसमा कोरोना पोजेटिभ हुनैपर्छ र एस जिन नेगेटिभ हुनैपर्छ। एस जिन नेगेटिभ भएमात्रै नयाँ भेरियन्टको आशंका गर्न सकिन्छ।'
कोरोना पोजेटिभ र एस जिन पोजेटिभ देखिएमा त्यो नयाँ भेरियन्ट नहुने गुप्ता बताउँछन्। ‘सिक्वेन्सिङ गर्नु भनेको रुटिन पीसीआर परीक्षण होइन। पीसीआर र जिन सिक्वेन्सिङ फरक हुन्। पीसीआर भाइरस शरीरमा छ वा छैन भनेर पत्ता लगाउनका लागि गरिन्छ भने सिक्वेन्सिङ अनुसन्धान तथा वैज्ञानिक प्रयोजनका लागि गरिन्छ,’ गुप्ताले प्रष्ट्याए। भाइरसको सिक्वेन्सिङ नेपालमा धेरै प्रयोगमा नआएको तथा नयाँ भाइरसको जिन नै हेर्नुपर्ने भएकोले छुट्टै प्रविधिको आवश्यकता पर्ने गुप्ता बताउँछन्।
उनका अनुसार हाल प्रयोगशालामा जिन सिक्वेन्सिङको लागि रिएजेन्टहरु भए पनि मेसिन छैन। उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको मेसिन भन्सारमा आएर अड्किएको छ, अब मेसिन आएपछि हामी सिक्वेन्सिङ गर्नेछौं।’
यसअघि पनि नेपालमा जिन सिक्वेन्सिङ मेसिन नभएका होइनन्। तर कोभिड–१९ को लागि होइन, अन्य रोगको लागि सिक्वेन्सिङ गरिन्थ्यो। कोभिड–१९को सन्दर्भमा पहिलो पटक हुन लागेको हो। गुप्ता भन्छन्, ‘‘हामीसँग परीक्षण गर्न सक्ने जनशक्ति भए पनि अनुभवी जनशक्ति नभएकाले उनीहरुलाई तालिम दिने तथा बाहिरबाट मगाएर पनि परीक्षण गर्ने तयारी गरेका छौं।’
गुप्ताका अनुसार केही समयअघि सिक्वेन्सिङको काम स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने भनिएको थियो तर अहिले यो जिम्मेवारी मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। त्यसपछि सुरु गर्दा केही समय ढिला भएको हो। ‘स्वास्थ्य मन्त्रालयको निर्णयपछि हामीले परीक्षण गर्ने तयारी गरेका छौं। प्रयोगशालामा परीक्षण गर्ने प्रविधि पनि नभएका कारण ढिलाइ भएको हो,’ गुप्ताले भने।
समुदायको चिन्ता
अहिले पछिल्लो समय परीक्षण गर्दा एस जिन नेगेटिभ रिपोर्ट आउन थालेपछि समुदायमा पनि नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिन थालेको आशंका गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेल भन्छन्, ‘भारतबाट आउनेहरुमा नयाँ स्वरुपको कोरोना भाइरसको शंका लागेपछि उनीहरुको नमुना परीक्षण गर्न लागिएको छ। सुदूरपश्चिमबाट नमुना संकलन गर्ने काम सुरु भएको छ। चाँडो फैलने भनिएको नयाँ भेरियन्टको पहिचानका लागि ढिलो भएमा समुदायमा निकै जोखिम हुनेछ।’
समुदायमा यस्ता केस बढ्दै गएमा सबैको जिन सिक्वेन्सिङ गरिने केन्द्रीय प्रयोगशालाका सूचना अधिकारी गुप्ता बताउँछन्। ‘मेसिन आइसकेपछि हामी जुनसुकै भाइरस म्युटेन्ट भएर देखिए पनि जिन सिक्वेन्सिङ गर्न सक्छौं। नेपालमा जति केस आए पनि हामी अड्किन सक्दैनौं। अहिले धेरै केस छैनन्। केस धेरै हुँदै गएमा हामी रिसर्चको रुपमा मात्रै होइन, नियमित परीक्षणकै रुपमा अगाडि बढाउँछौं,’ गुप्ताले भने।
सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला अहिले एस जिन नेगेटिभ देखिएका मानिसको संख्या बढ्दै जानुले समुदायमा नयाँ भेरियन्टको खतरा बढिसकेको बताउँछन्।
‘कोरोना भाइरसभन्दा नयाँ भेरियन्ट तीव्र रुपमा फैलने भएकाले समुदायमा जोखिम बढेको छ। पुरानै भाइरसले सताइरहेको बेला नयाँ भेरियन्ट थपिनु चुनौतीपूर्ण हो,’ बास्तोला भन्छन्, ‘जिन सिक्वेन्सिङ ढिला हुँदा नयाँ भेरियन्ट पत्ता लगाउन सम्भव छैन। जसले गर्दा नयाँ भेरियन्टका लागि अपनाउनुपर्ने नीतिहरु बनाउन पनि ढिलो भइरहेको छ।’