काठमाडौं– गत फागुन महिनामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको देखिए पनि चैतको सुरुदेखि नै कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ।
दुई अंकमा झरेको संक्रमितको संख्या पछिल्ला दिनहरुमा फेरि तीन अंकमा उक्लिएको छ। छिमेकी मुलक भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न सक्ने सम्भावना उच्च छ।
भारत–नेपालमा आवतजावत बाक्लिएपछि नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै सरकारले उच्च स्वास्थ्य सतर्कताका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको छ। मानिसहरु नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको आशंका गर्न थालिएको छ।
नेपालमा दोस्रो लहर सुरु भएको हो ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भन्न नमिल्ने बताउँछन्। उनी भन्छन्, ‘भारतमा दोस्रो लहर सुरु भएपछि नेपालमा पनि संक्रमणदर बढ्न सक्ने जोखिम पक्कै बढेको हो।
त्यसो त नेपालमा जोखिम कम भएको पनि थिएन। अहिले मानिसहरु कोरोना केही पनि होइन भन्ने हिसाबले लिन थालेको देखिन्छ। मानिसहरुले हेलचक्र्याँई गर्न थालेपछि पछिल्लो साताहरुमा कोरोना संक्रमितको संख्या बढेको छ। तर अहिले नै दोस्रो लहर सुरु भएको भन्न मिल्दैन।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन पनि दोस्रो लहर सुरु भयो भनेर भन्न नसकिने बताउँछन्। पछिल्ला दिनमा कोरोना परीक्षण र संक्रमितको संख्या घट्दै गएको देखिए पनि संक्रमणको अवस्था अहिले पनि उस्तै छ– पुन भन्छन्, ‘मानिसको हेलचक्र्याँइले संक्रमणको अवस्था भयावह बन्ने र त्यसबाट हुने मृत्यु पनि उच्च हुने सम्भावना छ। त्यसकारण हामीले नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्छ भनेर भनिरहेका छौं। तर अहिले नै दोस्रो लहर भन्न सकिँदैन।’
डा. पुनका अनुसार दोस्रो लहर सुरु हुनका लागि पहिलो लहर निकै न्यून अवस्थामा पुगेर फेरि दोस्रो लहरको लागि संक्रमण फैलावट बढ्दै जानुपर्छ। तर हाल नेपालमा त्यति धेरै उच्च विन्दुमा पुगिसकेको अवस्था छैन। परिक्षण कम भएकाले पनि संक्रमितको संख्या कम देखिएको पुन बताउँछन्।
तर, नेपालमा भने संक्रमितको दरमा कमी आएको छैन। बरु, मानिसहरु परीक्षणको दायरामा नपुग्दा केही समय पीसीआर परीक्षण दरमा कमी आएकोमा पछिल्लो केही दिनमा परीक्षण दर बढ्दा संक्रमित संख्या पनि बढ्दै गएको छ।
पुन भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा कोरोना संक्रमितकोे संख्या थोरै देखिए पनि अस्पतालमा दैनिक कोरोना संक्रमित भर्ना भैरहेका थिए। तर, यसलाई ख्याल नगरी मानिसहरू कोरोना हटिसक्यो भन्ने भ्रम परेर नियमित दैनिकीमा फर्कन थालेपछि संक्रमण बढेको हो जसले कोरोनाको जोखिम झनै बढाएको छ।
नयाँ भेरियन्टको परीक्षण सुरु
गत पुसमा बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखियो। तीव्र गतिमा फैलिने भेरियन्ट देखिएपछि नेपालमा नयाँ भेरियन्ट फैलन सक्ने भन्दै डर उत्पन्न भएको थियो।
बेलायतमा नयाँ भेरियन्ट पुष्टि भएपछि बेलायतबाट आएका मानिसको स्वाब हङकङको प्रयोगशालामा पठाई परीक्षण गर्दा ३ जनामा नयाँ भेरियन्ट पुष्टि भयो। तर त्यसपछि नेपालमा नयाँ भेरियन्टको अवस्थाबारे त्यति परीक्षण तथा अन्य अध्यायन भएन।
तर जब छिमेकी देश भारतमा नयाँ भेरियन्ट देखियो तब नेपालमा पनि नयाँ भेरिएन्टको आशंका गरिएको छ। फलस्वरुप बल्ल सरकारले जिन सिक्वेन्सिङ गर्न सिक्वेन्सर मेसिन ल्याएको छ। डब्लूएचओको सहयोगमा नेपालले मेसिन पाएको हो। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हाल ३ वटा मेसिन रहेका छन् जसले नयाँ भेरियन्टको लागि परिक्षण गर्छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं विश्वविद्यालय र अर्को निजी प्रयोगशालामा उक्त मेसिन भएको उनले बताए।
अधिकारी भन्छन्, ‘अहिले हामीले नयाँ भाइरस हो वा होइन भन्न परीक्षण गरिरहेका छौं। हामीसँग ३ वटा प्रयोगशालामा सुरु भएको छ, साथै हामीले समय समयमा परीक्षणको लागि हङकङ पठाउने काम पनि गरिरहेका छौं। तर हामीसँग अहिले रिएजेन्ट कम छन्, जसले गर्दा परीक्षणमा समस्या भएको छ, अब छिट्टै रिएजेन्ट ल्याएपछि परीक्षण सहज हुनेछ।’
ड. पुन यतिबेला अस्पताल भर्ना भएका बिरामीमा नयाँ भेरियन्टको आशंका गरिएको बताउँछन् उनी भन्छन्, ‘आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन। त्यसका लागि नेपाल सरकारले ‘होल जिनम सिक्वेन्सिङ’ गर्नका लागि प्रक्रिया अघि बढाइसकेको छ। त्यसैले कोरोनाको दोस्रो लहर आउने जोखिम छ। डा. पुन भन्छन्।
गत वर्ष यो समयमा नेपालमा जम्मा ५ जना कोरोना संक्रमित भेटिएका थिए। १ बर्षको अवधिमा करिब ३ लाख कोरोना संक्रमित भेटिएका छन्। कोरोनाको उच्च संक्रमण भएको समयमा नेपालमा सरकारी तथा निजी गरी ८४ वटा ल्याबमा कोरोना परीक्षण गरिएको थियो।
तर संक्रमण कम हुँदै गएपछि १० दिनसम्म नचलेका, निकै कम परीक्षण भएका संख्या प्रयोगशालालाई बन्द गरिएको थियो। तर ती प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। साथै अस्पतालको हकमा पनि कोभिड केसहरु कम हुँदै गएपछि केही अस्पताल मात्रै कोभिडका लागि तोकिएका थिए। फेरि संक्रमितको संखया बढ्दै गएमा कोभिड र ननकोभिड अस्पताल छुट्याएर उपचार गरिने डा. अधिकारी बताउँछन्।
गत पुसमा बेलायतबाट आएका केही व्यक्तिमा कोरोनाको नयाँ भाइरस पुष्टि भएको थियो। नेपालमा भाइरस म्युटेसनको सम्भावना निकै बढी छ। किनकी भारतमा पनि बढीरहेकाले निगरानी बढाएका छौँ। नाकामा परीक्षणदेखि प्रयोगशालामा परीक्षण गरिएकामध्ये निश्चित प्रतिशत जिनोनम सिक्वेन्सिङ परीक्षण गर्ने प्रवन्ध गरिरहेका छौं। परिवर्तित भाइरस पनि देखिइसकेको अवस्था छ। जसले गर्दा नयाँ भाइरस फैलिएको छैन भन्न सकिँदैन।