जनकपुरधाम - होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्याल ठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा छ। पछिल्ला वर्षमा मिथिलाञ्चलमा फागु गीत कम सुनिन थालेका छन्।
परम्परागतरूपमा मनाइने हाेली पर्वकाे संस्कृति नहराओस् भन्नका लागि जनकपुरधामको मिथिला नाट्य कला परिषद् लागिपरेकाे छ।
परिषद्ले प्रत्येक वर्ष होली महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।
यस वर्ष पनि महामुर्ख सम्मेलन आज (शनिबार) र भोलि (आइतबार) गरी दुई दिनसम्म चल्ने छ।
दुई दिवसीय होली महोत्सवको पहिलो दिन जोगिरा गायन प्रतियोगिता गरिने छ।
जोगिरा गायनका विभिन्न १० वटा टिमलाई सहभागी गराइने परिषद्काे भनाइ छ।
महजोडीलाई महामुर्खको उपाधि !
जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षणमध्ये महामुर्ख सम्मेलन एक हो।
त्यसका लागि महामुर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ।
परिषद्ले महामुर्ख सम्मेलनमा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाएको छ।
परिषद् स्राेतका अनुसार नेपाली कला जगतको स्थापित नाम महजोडीलाई नै महामुर्खको उपाधि प्रदान गर्ने तयारी गरिएको छ।
जनकपुरधाममा २०६१ सालबाट महामुर्ख सम्मेलन हुँदै आएको छ।
हालसम्म महामुर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, एमाले नेता शीतल झा, जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर विसी, तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा, नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडि़ भ्रमर, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, जसपा नेता डा. विजयकुमार सिंहले पाइसकेका छन्।
यस्तै प्रदेशसभा सदस्य शत्रुधन महतो, शमसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानिया, जसपा नेता वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामुर्खको उपाधि प्रदान गरिसकिएकाे छ।
२०७३ सालमा भने सप्तरीको मलेठमा तत्कालीन एमालेले गरेको मेची-महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम परिषद्ले स्थगित गरेको थियो।
यसरी सुरु भयाे महामुर्ख सम्मेलन ?
महामुर्ख सम्मेलन नेपालका विभिन्न स्थानमा हुँदै आएकाे छ। तर, जनकपुरधामले भने निकै चर्चा पाउने गरेकाे छ।
यसकाे सुरूआत कसरी भयाे त ?
मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० मा पहिलाेपटक सम्मेलनकाे आयोजना गरेको थियो।
नेपालमा वीरगञ्जबाटै यसकाे प्रारम्भ भएकाे मानिन्छ।
सम्मेलनबाट नेपालकाे पहिलाे महामुर्खकाे उपाधि लाला माधवेन्द्रजीलाई दिइएकाे थियाे।
यस्ताे सम्मेलन भारतमा पहिलेदेखि हुँदै आएको छ।