काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले सात जना प्राध्यापकलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित सामाग्री चोरी गरेको आरोपमा कारबाही गर्ने भएको छ।
त्रिविका प्राध्यापक, सहप्राध्यापकहरुको ७ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको आरोपमा सातै जनालाई कारबाही गर्ने भएको हो।
त्रिविको महेन्द्र मोरङ बहुमुखी क्याम्पसका अवकास प्राप्त प्राध्यापक पर्शुराम मिश्र, रसायन शास्त्रका आंशिक शिक्षक रोहित कुमार देव, सहप्राध्यापक जनक अधिकारी, विमल कुमार कण्ठ, भौतिकशास्त्रका लेक्चर हरेराम मिश्र, कल्पना मिश्र र पूर्वाञ्चल क्याम्पसका लेक्चर युवराज साहुलाई परिषद्ले कारबाही गरेको छ।
कार्यकारी परिषद्ले त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा, प्रा.डा. निरञ्जन पराजुली र उपप्राध्यापक भानुभक्त न्यौपानेसहितको ३ सदस्यीय छानबिन समितिले तयार गरेको प्रतिवेदनको प्रमाणको आधारमा कारबाही गरिएको हो।
कार्यकारी परिषद्ले उनीहरुको अहिलेसम्म विभिन्न जनरलमा छपिएका आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाउने र दुई वर्षसम्मै कुनै पनि विद्यार्थीको थेसिस गाइड तथा सुपरीवेक्षक हुन नपाउने निर्णय गरेको छ।
आंशिक प्राध्यापक रोहित देवलाई भने दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्याम्पसमा कक्षा सञ्चालन गर्न नपाउने गरी कारबाही गरेको छ। कारबाहीका लागि सम्बन्धित कलेजहरुमा पत्राचार भइसकेको त्रिविका रजिस्ट्रार पेसल दाहालले जानकारी दिए।
लेखकले आफ्नो लेखबाट सारिएका अंश चित्रसहित राखेर त्रिवि उपकुलपति कार्यालयमा बौद्धिक चोरी भएको भन्दै सात जनाविरुद्ध उजुरी दर्ता गराएका थिए। कार्यकारी परिषद्ले पहिलोपटक पहिलोपटक यस्तो निर्णय गरेको हो।