एजेन्सी- बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन भएका छन्।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन ढाका पुगेका मोदीको विरोधमा प्रदर्शनहरु भएका हुन्।
बंगलादेशका संस्थापक रहमानको स्वर्ण जयन्तीको अवसरमा समकक्षी शेख हसिनाको निमन्त्रणमा मोदी शुक्रबार ढाका गएका हुन्।
१० दिने स्वर्ण जयन्ती विशेष कार्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइसकेकी छन्। त्यस्तै श्रीलंका, भुटान र माल्दिभ्सका नेताहरु पनि सहभागी भइसकेका छन्।
मुस्लिम बाहुल्य बंगलादेशमा मोदी दुई दिने भ्रमणका लागि पुगेका हुन्। मोदी ढाका जाने भएपछि त्यहाँ केही समयअघि देखि नै प्रदर्शनहरु भइरहेका थिए। शुक्रबार उनी ढाका उत्रिएपछि पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएर मोदीविरुद्ध नाराबाजी गरेका थिए।
बंगलादेशका मुस्लिम समुदायका व्यक्तिहरुले भारतमा मुस्लिम समुदायमाथि सरकारले अत्याचार गरेको भन्दै मोदीको विरोध गर्दै आएका छन्।
गत हप्ता मोदीको विरोधमा प्रदर्शन भएको थियो। जसमा प्रदर्शनकारीहरुले भारतमा मोदी सरकारले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाएका थिए। बिहीबार भएको प्रदर्शनमा प्रहरीले ढाकामा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेको थियो भने अश्रुग्यास तथा लाठी चार्ज गरेर सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
शुक्रबार भएको प्रदर्शनमा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। उनीहरुले मोदीविरुद्ध आफ्ना जुत्ताचप्पल प्रदर्शन गरेका थिए।