शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशी पर्यटकका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाइयो

विदेशी पर्यटकका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाइयो

पर्यटन मन्त्रालयले ‘पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको छ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन भन्दै पर्यटन मन्त्रालयले ‘पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको छ। 

विदेशी पर्यटकलाई नेपाल आउन र घुम्नका लागि सहज वातावरण बनाउन मन्त्रालयले शर्तहरु केही खुकुलो गर्दै नयाँ मापदण्ड तयार गरेको हो।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको मापदण्ड आज शुक्रबारदेखि लागू हुने मन्त्रालयले जनाएको छ।

नयाँ मापदण्डअनुसार पर्यटक विमान चढ्नुअघि बढीमा ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउन सक्नेछन्। नेपाल अवतरण गरेपछि पर्यटकले पीसीआर नेगेटिभ आएमा पर्यटकीय गतिविधिमा सहभागी हुन पाउनेछन् भने पोजेटिभ आएमा सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अनुसार आइसोलेसनमा बस्नु पर्नेछ। 

नेपाल आएका पर्यटकले कोभिडविरुद्धको खोप लगाएको भए पनि नेपालमा पीसीआर परीक्षण भने अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरिएको छ। पर्यटकीय गतिविधिका लागि पर्यटकले नेपालस्थित कुनै एजेन्सीसँगको समन्वयमा कार्यक्रम निश्चित गर्नुपर्ने र सो एजेन्सीले पर्वतारोहणका लागि पर्यटन विभागसहित नेपाल पर्यटन बोर्डमा अनुरोध गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

नेपालमा स्वास्थ्यसम्वन्धी सेवा प्राप्त गर्न चाहने पर्यटकले कुनै स्वास्थ्य संस्थासँग आवद्ध रही कार्यक्रम निश्चित गरी बोर्डमा अनुरोध गर्ने तथा सम्बन्धित एजेन्सी वा संस्थाको अनुरोधपश्चात विभाग वा बोर्डले परराष्ट्र मन्त्रालय र अध्यागमन विभागमा सिफारिस गर्न सक्ने मापदण्डमा उल्लेख छ। 

सम्बन्धित देशमा नेपालको भिषा उपलब्ध नहुने वा कठिन भएको अवस्थामा अनएराइभल भिसा लिनेगरी हवाई मार्गबाट नेपाल आउने पर्यटकले आवश्यक कागजातहरु जहाजमा वोर्डिङ हुनुअघि वायुसेवाको चेक–इन काउन्टरमा प्रस्तुत गरेको कागजात आफूसँगै राखी नेपाल प्रवेश गर्दाको विमानस्थलस्थित अध्यागमन विन्दुमा पेश गर्नुपर्नेछ।  

मापदण्डका अनुसार, कोभिड विरुद्धको खोप लगाएका पर्यटकहरु नेपाल प्रवेशपछि सम्वन्धित एजेन्सीमार्फत सम्वद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन पाउने र पीसीआर परीक्षणको प्रतिवेदन लिएर आएका पर्यटकले नेपाल प्रवेशपछि सम्वद्ध एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गरी नतिजा नआएसम्मको अवधि होटल क्वारेन्टाइनमा वस्नुपर्ने मापदण्डमा उल्लेख छ।

परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म प्रचलित स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने तथा यस्तो परीक्षण नेगेटिभ आएमा सम्वन्धित एजेन्सीमार्फत पदयात्रा वा पर्वतारोहणमा जान वा सम्वद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन पाइने पनि मापदण्डमा उल्लेख छ। 

एजेन्सी वा संस्थाले पर्यटकलाई पदयात्रा, पर्वतारोहण वा अन्य पर्यटकीय गतिविधिमा सरिक गराउनुअघि पालन गर्नुपर्ने सम्वद्ध मापदण्डहरु पूर्ण जानकारी गराउनु पर्ने, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सम्वद्ध एजेन्सी वा संस्थाबाट प्राप्त पर्यटकको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउनुपर्नेछ। 

अनुगमन गर्दा मापदण्ड पालन नगरेको पाइएमा सम्वन्धित पर्यटक र सम्वन्धित एजेन्सी वा संस्थालाई प्रचलित कानुनबमोजिम कारवाही हुने पनि मापदण्डमा उल्लेख छ। 

यसैगरी भारतीय पर्यटक एयर बबल एग्रिमेन्ट अनुसार नेपालमा प्रवेश गर्न पाउने विशेष व्यवस्था पनि मापदण्डमा गरिएको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकको हकमा स्वाब दिएको बढीमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ भएको प्रमाण वा कोभिड विरुद्धको खोप लगाएको प्रमाण सिमानाको अध्यागमन विन्दुमा पेश गर्नुपर्नेछ। भारतीय पर्यटकहरुलाई मात्र स्थलमार्ग हुँदै नेपालमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ। 
 

प्रकाशित: Mar 26, 2021| 04:16 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्