पोखरा- पोखरा उद्योग वाणिज्य संघले आगामी बजेट कोभिड-१९ ले अर्थतन्त्रमा पुर्याएको असर न्यूनीकरण गर्ने र निजी क्षेत्रलाई राहत दिने खालको हुनुपर्ने माग दोहोर्याएको छ।
पोखरा उद्योग वाणिज्य संघ तथा आइबिएन मिडिया एण्ड रिसर्चले बिहीबार पोखरामा आयोजना गरेको आउँदोको बजेट तथा गण्डकी प्रदेशको अपेक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा संघका अध्यक्ष नारायण कोइरालाले सो माग दोहोर्याएका हुन्। उनले कोभिड–१९ को दोस्रो लहर सुरु भएको र यसले समग्र आर्थिक क्षेत्रमा प्रभाव पार्नसक्ने देखिएकोले बजेट राहत प्याकेजमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘गिर्दो अर्थतन्त्र उकास्नका लागि सरकारबाट घोषित कार्यक्रम कार्यान्वयनमा सुस्तता देखिएको छ, राजनीतिक तरलताले लगानी सुरक्षित नहुने जोखिम बढेको छ’, उनले भने, ‘लागत बढ्ने र उत्पादकत्व घट्ने परिस्थिति निजी क्षेत्रको लागि अभिषाप भएको छ अबको बजेट वर्तमान परिस्थितिले सिर्जना गरेका समस्या सल्टाउने बजेट आओस्।’
उनले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तथा संघीय सरकारको बजेट निर्माणमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्थशास्त्री केशव आचार्यलाई संघको तर्फबाट बजेटमा समेटिनुपर्ने विषयहरु लिखित रुपमै हस्तान्तरण गरे। अध्यक्ष कोइरालाले नीतिगतसहित उद्योग, निर्यात, कृषि, राजश्व र कर, पर्यटन, यातायात क्षेत्रको लागि सरकारले दिनुपर्ने सुविधाबारे विस्तृत सुझाव पेश गरेका हुन्।
कार्यक्रममा बोल्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकार निजी क्षेत्रको माग सम्बोधन गर्न सकारात्मक भएको बताए। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले उद्योगको कच्चा पदार्थ र विद्युतीय सामानहरुमा भन्सार छुटको माग पनि गरे। महासघंका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले बजेट वितरणमुखी नभई अर्थतन्त्र उकास्ने खालको हुनुपर्नेमा जोड दिए।
अर्थशास्त्री केशव आचार्यले मानव विकास सूचकांकमा गण्डकी प्रदेश अगाडि रहेको तथ्य पेश गर्दै सरकारले आउँदो बजेट सार्वजनिक स्वास्थ्यको क्षेत्रमा लगाउनुपर्ने धारणा राखे। उनले गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रको ५२.६४ प्रतिशत योगदान रहेकोले पनि सेवा क्षेत्र तहसनहस हुँदा अर्थतन्त्र खस्कनसक्ने चिन्ता व्यक्त गरे।
उनको कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक डाक्टर यादव शर्मा गौंडेलले बजेट विनियोजन गर्दा कार्यप्रगतिलाई आधार बनाउनुपर्ने बताए। पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले गण्डकी प्रदेश सरकारले पर्यटन, जलस्रोत र जडिबुटीको क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी विकास समिति सदस्य रामकली खड्काले विदेशी मुद्रा भित्र्याउने हस्तकला उद्योगलाई विशेष सहुलियत र प्राथमिकता दिनुपर्नेे माग गरिन्। नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बिदा पर्यटनको अवधारणा कार्यान्वयन हुनुपर्ने बताए।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले आउँदो बजेटले उत्पादनमूलक क्षेत्रलाई विशेष महत्व दिनुपर्ने तथा रुग्ण उद्योगलाई सहुलियत प्याकेजको माग गरे। पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पवित्रा गुरुङले महिला उद्यमीहरुको उत्पादन बिक्रीको लागि कोसेली घर बनाउनुपर्ने बताइन्।
सुनचाँदा व्यवसायी संघ कास्कीका महासचिव तारा गौतमले सुनको आपूर्ति बढाउन माग गरे। थोक व्यवसायी संघ कास्कीका अध्यक्ष लेखनाथ सुवेदीले कर तिर्ने व्यवसायीहरुको संरक्षण हुन नसकेको गुनासो गरे। पर्यटन व्यवसायी पुष्पराज बरालले होमस्टेलाई अनुदान दिने प्रदेश सरकारको नीति गलत भएको बताए।
नेसनल लाइफ इन्स्योरेन्सका गण्डकी प्रमुख केशवराज ढकालले पेन्सन योजना नै इन्स्योरेन्स कम्पनीलाई दिनुपर्ने माग गरे। जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक विश्वमोहन अधिकारीले सरकारबाट घोषित राहत प्याकेजहरु सबै व्यवसायीसम्म नपुगेको तथ्य प्रस्तुत गरे। आइबिएन मिडिया एण्ड रिसर्च सेण्टरका प्रबन्ध निर्देशक हृदय गौतमले बजेटमा निजी क्षेत्रका भावना प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।