काठमाडौं– सरकारले मुलुकलाई पशुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुजन्य चार वस्तुमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन्।
ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा आत्मनिर्भर भएको घोषणा गर्दै यो खुसीको अवसर रहेको बताए।
प्रधानमन्त्रीले मासुलगायत ४ वस्तुमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दैगर्दा विदेशबाट आयात हुने पशुजन्य वस्तुको परिमाण भने निकै धेरै छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म मात्रै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको मासुजन्य वस्तु आयात भएको छ।
विभागको तथ्यांक अनुसार चालू आवको फागुनसम्म १ अर्ब ५६ लाख ८ हजार रुपैयाँ बराबरको जिउँदा कुखुरा, टर्की, हाँसलगायतको मासु लागि आयात भएको छ।
७ करोड ४४ लाख ८२ हजार रुपैयाँ बराबरको बाख्रा आयात भएको भन्सार विभागको तथ्यांक छ। साउनदेखि फागुनसम्मको ८ महिनामा विदेशबाट भेडामात्रै ७ लाख ५० हजार रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांक छ।
त्यस्तै २ करोड ५३ लाख ५३ हजार रुपैयाँ बराबरका अन्य जिवित जन्तु शीर्षकमा पनि मासुजन्य वस्तु आयात भएको छ। विभागको आयात शिर्षक ०.२०७ अन्तर्गत २५ लाख ७ हजार रुपैयाँ बराबरको थप कुखुरा लगायतका अन्य पशुजन्य वस्तु नेपालमा आयात भएको भन्सार विभागको तथ्यांक छ। चाल्रू आर्थिक वर्षको सो अवधिमा ३ करोड २३ लाख ६ हजार रुपैयाँ बराबरको जिवित माछा आयात भएको छ।
विभागका अनुसार काटेका टुक्रा पारेका माछा मासु समेत विभिन्न मुलुकबाट आयात भएको छ। सो अवधिमा चिनी वा अन्य पदार्थ नमिसाइएको, गाढा नपारिएको दूधमात्रै ४५ लाख २४ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ। मोही, बटर लगायतका पदार्थ पनि आयात भएको भन्सार विभागले जानकारी दिएको छ।
अण्डामा भने आत्मनिर्भर
भन्सार विभागका अनुसार अन्य मुलुकबाट अण्डा आयात हुने गरेको छैन। पछिल्लो समय नेपाल अण्डामा भने आत्मनिर्भर भइसकेको छ। विभागका अनुसार वार्षिक १ अर्ब ५५ करोड अण्डा उत्पादन हुने गरेको छ। अण्डामा मुलुक आत्मनिर्भर हुनको लागि प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा उपभोग गर्न पाउनुपर्ने अनतर्राष्ट्रिय प्रचलन छ। सोअनुसार नेपालीले प्रतिव्यक्ति प्रतिवर्ष औषत ५१ अण्डा उपभोग गर्न पाइरहेका छन्।
त्यस्तै मुलक दूधमा आत्मनिर्भर हुनको लागि प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्न पाउनुपर्छ। मासुमा मुलुक आत्मनिर्भर हुनका लागि वार्षिक प्रतिव्यक्ति करिब १५ केजी मासु उपभोग गर्न पाउनुपर्छ। दूध र मासुको उत्पादन पछिल्लो समय बढे पनि यीबाट बन्ने वस्तुको आयात निरन्तर रहेको छ।