आइतबार, मंसिर २८, २०८२

खोर खै बाघ थुन्नलाई ?

बाघलाई थुन्नका लागि देशभर नै खोर अभाव छ। भएका केही पनि मजबुत छैनन्। बाँकेमा राखिएको बाघ डण्डी तोडेर भाग्नुले पनि यसको पुष्टि गर्छ।
 |  बिहीबार, चैत १२, २०७७

केशव राना

केशव राना

बिहीबार, चैत १२, २०७७

काठमाडौं– मानिसलाई आक्रमण गर्न थालेपछि चैत ४ र ५ गते बर्दियामा दुईवटा बाघ समातिए। एउटा गेरुवा गाउँपालिका–४ राजीपुर र अर्को मधुवन–३ को खाता जैविक मार्गबाट।

National life

बाघ त समातियो तर, राख्ने कहाँ ? किनभने निकुञ्जमा एउटा भाले बाघ पहिल्यैदेखि नै ठाकुरद्वारास्थित खोरमा छ।

कात्तिक १५ गते राजीपुर क्षेत्रबाटै सो पाटेबाघलाई नियन्त्रणमा लिइएको थियो। भाले बाघहरू जुध्ने भएकाले दुईवटा भाले बाघलाई सँगै राख्न मिल्दैन। 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ पोथी बाघ भए समस्या नहुने भए पनि भाले बाघ भए एउटै खोरमा राख्न नसकिने बताउँछन्। त्यसैले एउटालाई रम्मापुर र अर्कोलाई बाँके निकुञ्जको खैरीस्थित खोरमा राखियो। 

तर, मंगलबार बिहानै बाँकेमा राखिएको बाघ खोरको फलामे डण्डी तोडेर भागेको छ। 

Laxmi sunrise bank
kumari

विज्ञका अनुसार बाघले एकपटक मान्छेको मासु खायो भने त्यो नरभक्षी हुने सम्भावना रहन्छ। त्यसैले पनि त्यस्ता बाघलाई नियन्त्रणमा लिनुपर्छ वा निगरानी बढाउनुपर्छ। ताकि अर्को मान्छे सो बाघको शिकार नहोस्। तर, नेपालमा बाघजस्ता हिंस्रक जनावर राख्ने पर्याप्त खोर छैनन्। 

न उद्धार केन्द्र, न प्राविधिक

०७६ माघ ८ मा कञ्चनपुरको एक सामुदायिक वनमा तस्करले थापेको पासोमा एउटा चितुवा पर्‍यो। 

चितुवाको उद्धारका लागि वन कार्यालय, सुरक्षाकर्मीहरू वनमा पुगे। तर, उद्धार गर्ने कसले ? न उद्धार सामग्री छ न प्राविधिक। 

बिहानै पासोमा परेकाले भोकले आक्रामक बन्दै थियो चितुवा। केही गरी फुत्किए मानिसलाई आक्रमण गर्ने सम्भावना पनि उत्तिकै थियो। त्यसैले सो क्षेत्रलाई सुरक्षाकर्मीले सुरक्षित राखेका थिए। 

चितुवाको उद्धारका लागि शुक्लाफाँटा निकुञ्जमा पनि प्राविधिक नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली बोलाइयो। टोली झण्डै सात घण्टापछि घटनास्थल पुग्यो। उद्धारका लागि लठ्याउने सुइ (डार्ट) हान्दै गर्दा चितुवा पासो तोडेर भाग्यो। सुइ हान्ने प्राविधिकलाई सामान्य घाइते पनि बनायो।

यतिमात्रै होइन, धेरै ठाउँमा प्राविधिक नहुँदा विभिन्न समस्या हुने गरेको छ। अझ पहाडी क्षेत्रमा चितुवाले आतंक नै मच्चाउने गरेको छ। 

गत माघ २४ मा पाल्पाको तानसेन नगरपालिका–५, ढुंगाखानीस्थित तारजालीले घेरिएको कालिज फार्ममा चितुवा पस्यो। रुख चढेर फार्ममा पसेको चितुवा निस्कन नसकेपछि वन डिभिजन कार्यालयबाट टोली पुग्यो। तर, उद्धार गर्न झण्डै पाँच घण्टाभन्दा बढी लाग्यो। 

‘हामीसँग भरपर्दो उद्धार सामग्री र प्राविधिक छैनन्,’ पाल्पा वन डिभिजन कार्यालयका रेञ्जर यामलाल पोखरेलले भने, ‘डार्ट गन नहुँदा नियन्त्रणमा लिन कठिनाइ हुन्छ। सुरक्षाकर्मी, वनको टोली मिलेर जंगलतिरै भगाइयो।’

उनका अनुसार उद्धार सामग्रीको नाममा पासो र तार काट्ने औजार, जाल, पोर्टेबल खोरहरू मात्रै छन्। हिंस्रक जनावरलाई नियन्त्रणमा लिन एकदमै जोखिम हुने उनी बताउँछन्। गत वर्ष घाइते चितुवालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट गर्ने टोली मगाउनु परेको थियो। यद्यपि सो चितुवालाई बचाउन सकिएन।

बुटवल क्षेत्रमा एउटा डार्ट टिम भयो भने पाल्पालगायत पहाडी जिल्लालाई पनि धेरै सहज हुने रेञ्जर पोखरेल बताउँछन्। ‘नत्र त प्रक्रियामै तीन दिन लाग्छ,’ उनले भने। 

वन डिभिजन कार्यालय सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्साल पनि उद्धार सामग्री र प्राविधिक अभावले हिंस्रक जनावरलाई नियन्त्रणमा लिनुपर्दा कठिनाइ भएको बताउँछन्। 

‘घाइते भएका आहारा प्रजातिका वन्यजन्तुलाई ल्याएर उपचार गरेर जंगलमै छाड्ने गरिएको छ,’ उनले भने, ‘तर, हिंस्रक प्रजातिका वन्यजन्तु नियन्त्रणमा लिन कठिनाइ हुने गरेको छ।’

संरचनाको हिसाबले प्राविधिकसहितको उद्धार टोली बर्दिया र चितवन निकुञ्जमा मात्रै छ। पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा हिंस्रक प्रजातिका वन्यजन्तुको उद्धार गर्नुपरे यी दुई निकुञ्जको भर पर्नुपर्ने अवस्था छ। 

आवश्यकता पुनर्स्थापना केन्द्रको

बाघलाई थुन्नका लागि देशभर नै खोर अभाव छ। भएका केही पनि मजबुत छैनन्। बाँकेमा राखिएको बाघ डण्डी तोडेर भाग्नुले पनि यसको पुष्टि गर्छ। चिडियाखानामा पनि ठाउँ नहुँदा महिनौं दिनदेखि निकुञ्जका खोरमा बाघहरु पालिएका छन्। 

बर्दियामा दुईवटा बाघ छन्, अब त्यहाँ राख्ने ठाउँ छैन। बाँकेमा भएको खोरबाट बाघ डण्डी तोडेर भाग्यो। यस्तो अवस्थामा अर्को बाघ राख्नु परे के गर्ने ? 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन्, ‘बाघलाई चिडियाखाना पठाउने कि भन्नेबारे छलफल भइरहेको छ।’ तर, चिडियाखानामा पनि सम्भावना भने न्यून छ, किनभने त्यहाँ तीनवटा भाले बाघ पहिल्यैदेखि छन्।

त्यसो भए खोरमा रहेका बाघलाई फेरि प्राकृतिक बासस्थानमा फर्काउन सकिँदैन ?

बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल भन्छन्, ‘फर्काउन सकिन्छ। तर, त्यसका पनि विभिन्न अवस्थाहरु हुन्छन्।’ उनका अनुसार बाघ स्वस्थ र उसको व्यवहार सुधारिए जंगलमै फर्काउन सकिन्छ। बरु त्यसका लागि त्यस्ता बाघलाई ‘कोलर’ जडान गरेर निगरानी गर्न सकिन्छ। 

जंगलमा छाड्दा बाघलाई कठिनाइ भने धेरै हुन्छ। नयाँ ठाउँमा जाँदा उसले आफ्नो छुट्टै क्षेत्र बनाउनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा बाघहरु जुध्ने र मर्ने सम्भावना पनि हुने विज्ञहरु बताउँछन्। 

इकोलोजिस्ट हरिभद्र आचार्यले खोरमा राखेका बाघ अल्छी हुने र आहाराका लागि परिश्रम नगर्ने भएकाले प्राकृतिक वासस्थानमा छाड्दा कठिनाइ हुने बताए। तर, बाघ विज्ञ पोखरेल भने प्राकृतिक रुपमै हुर्किएको बाघलाई केही समय कठिनाइ भए पनि उसले आफ्नो क्षेत्र बनाउन सक्ने बताउँछन्।

‘बूढो, अस्वस्थ, घाइते बाघलाई जंगलमा छाड्नु हुँदैन। तर स्वस्थ बाघलाई भने निगरानी गर्ने गरी प्राकृतिक बासस्थानमै फर्काउन सकिन्छ। कतिपय बाघले अकस्मात् मानिसलाई आक्रमण गरेका हुन सक्छन्, त्यस्ता बाघमा समस्या नहुन सक्छ,’ आचार्य भन्छन्। 

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने अहिले बाघहरूलाई प्राकृतिक वासस्थानमा छाड्ने अवस्था नरहेको बताए। ‘हामीसँग थप बाघ राख्ने क्षमता छैन,’ उनले भने, ‘बाघको व्यवस्थापनका विषयमा छलफल गरेर योजना बनाउँछौं।’

बाघ विज्ञ डा. पोखरेलले यस्ता समस्या निराकरणका लागि विभिन्न ठाउँमा पुनर्स्थापना केन्द्र (रिह्याब सेन्टर) को आवश्यकता रहेको बताए। यो कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा उनी जोड दिन्छन्। ‘हामीलाई समस्या भएका हिंस्रक खालका जनावर नियन्त्रणमा लिन समस्या छैन। तर राख्ने ठाउँ भने छैन,’ उनले भने।

के छ सरकारी योजना ?

वन्यजन्तुको उद्धारका लागि उद्धार केन्द्र चाहिन्छ। दक्ष मानिस चाहिन्छ। देशभरमा बर्दिया र चितवनमा मात्रै प्राविधिकसहितको टोली छ। त्यो पनि राष्ट्रिय प्रकृति संरक्षण कोषको। 

सरकारले देशमा पाँच ठाउँमा उद्धार केन्द्र बनाउने योजना स्वीकृत गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार भक्तपुर, चितवन, कास्की, बर्दिया र कोशी टप्पुमा उद्धार केन्द्र बनाउने तयारी थालिएको छ। 

तर, यसको व्यवस्थापनमा भने ढिलाइ भइरहेको छ। हालसम्म लोक सेवा आयोगले प्राविधिकका लागि दरबन्दी नै खोलेको छैन। एउटा उद्धार केन्द्रमा पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, रेञ्जर, गेम स्काउट र सवारी चालक एक–एक जना हुन्छन् भने सिनियर गेम स्काउट दुईजना गरी सातजनाको टोली रहने आचार्यको भनाइ छ। उद्धार केन्द्र नहुँदा वन्यजन्तुको व्यवस्थापनमा समस्या भइरहेको उनी बताउँछन्। 

प्रकाशित: Mar 25, 2021| 01:04 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।