नेपाल समय लिएर हामी तपाईंहरूमाझ आजैदेखि प्रस्तुत भएका छौं । मुलुकमा गणतन्त्र स्थापना भएको एउटा ऐतिहासिक अवसर पारेर हामीले यात्रा थालेका छौं । १५ जेठ व्यवस्था फेरिएको दिन मात्र थिएन, नयाँ युगको प्रारम्भ थियो । झण्डै अढाइ सय वर्ष लामो एकात्मक राजतन्त्र अन्त्य भएर यही दिन मुलुकमा विधिवत् रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । ११ वर्षअघि आरम्भ भएको गणतान्त्रिक यात्रालाई संस्थागत र परिस्कृत गर्ने सिलसिला अहिले पनि जारी छ । स्वतन्त्र सूचना र स्वच्छ विचारको प्रवाह गर्ने क्रममा हाम्रो यात्रा परिवर्तन, लोकतन्त्रर र समृद्धिका पक्षमा सधैं समर्पित रहनेछ।
समय सत्य हुन्छ । दुनियाँमा समयजति बलियो सत्य अरू केही छैन । हामी सचेत छौं, समय जति बलवान् छ, तपाईंको सन्तुष्टि र स्वाद त्यति नै मूल्यवान् छ । आम पाठकको स्वाद र सन्तुष्टीलाई ख्याल गर्दै हामी समयमै सही सूचना र सटिक विचार पस्किने छौं । खास खबर तथा गहन विचारका लागि तपाईंको समय अब हाम्रो समय हुनेछ । संसारलाई नियाल्दै हामी नेपाल समयसँगै अघि बढ्नेछौं । हामी पेश गर्नेछौं, समयको सत्य । हामीलाई चाहिएको छ, तपाईंको साथ ।
पन्ध्रौं शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले छापाखानाको विकास गरेपछि शुरू भएको छापा पत्रकारिताको परम्परागत अभ्यास रेडियो र टेलिभिजन हुँदै डिजिटल चरणमा आइपुगेको छ । प्रविधिको चमत्कारसँगै पत्रकारिताका आयाम पनि परिवर्तन भएका छन्। प्रविधिको व्यापक पहुँचसँगै सूचना प्रवाहको गति मात्रै बढेको छैन, सूचनाको तृष्णा पनि तीव्र भएको छ।

पाठकसमक्ष सूचनाको प्राप्ति र अभिव्यक्तिका अनेक माध्यम र विकल्प छन् । मूल प्रवाहका आममाध्यमलाई सामाजिक सञ्जालबाट चुनौती थपिएको छ । इन्टरनेटको व्यापकतासँगै नागरिक पत्रकारिताले छलाङ नै मारेको छ । समाचार तथा सूचनाका लागि एकछिन पनि कुर्ने धैर्य अहिलेका पाठकसँग छैन । यो डिजिटल सागरमा पत्रकारिता सजिलो जागिर होइन, यो निकै संवदेनशील र चुनौतीपूर्ण अभ्यास हो। डिजिटल दुनियाँको यो वास्तविकतालाई हामीले नजिकबाट नियालेका छौं।
अनलाइन पत्रकारितामा हाम्रो प्रवेश केवल रहर र लहड मात्र होइन, व्यावसायिक पत्रकारिताको एउटा संकल्प र सपना बोकेर हामी यो भीडमा सामेल भएका छौं । भीडमा हामी मिसिएर हराउँदैनौं, त्यो आत्मविश्वास हामीसँग छ । भीडमा रमाउने रहरभन्दा पनि जम्ने जाँगर हाम्रो टिमसँग छ।
अबको पत्रकारितामा बलवान् हामी पत्रकार होइनौं, यसका पाठक र प्रविधि हुन् भन्ने वास्तविकतालाई हामीले राम्रोसँग मनन गरेका छौं । पाठकको स्वाद र सन्तुष्टी, सामग्रीको विविधता र गुणस्तर अनि प्रविधिको प्रभावकारी संयोजनबाटै हाम्रो सफलता सम्भव हुन्छ भन्ने विश्वास हामीलाई छ। पाठकको रुचि र रोजाइअनुसार हामी हिँड्न सकेनौं भने हाम्रो यात्रा अधुरो हुनेछ भन्नेमा हामी पूर्ण सचेत छौं । अनि, प्रविधिको गति र समयको मागअनुसार हामी दौडिन वा बदलिन सकेनौं भने हाम्रो यात्रा अर्थहीन हुनेछ भन्ने हेक्का हामीलाई छ।
हामीले पनि मनन् गरेका छौं, अहिले अनलाइन पत्रिकाप्रतिको आमधारणा त्यति राम्रो छैन । बजारमा अनलाइन भन्नासाथ अनेक नकारात्मक प्रतिक्रिया मात्र सुन्नुपर्छ।
कति धेरै अनलाइन ! मनपरि लेख्छन् ! कसलाई पत्याउने ? कपीपेस्ट गर्छन् ! स्रोतको टुंगो छैन ! हेडिङ एउटा, भित्र अर्कै ! यस्ता धेरै प्रतिक्रिया र गुनासो हामीले पनि बजारमा सुन्यौं । त्यसबाट हामीलाई थप सिक्ने र सच्चिने प्रेरणा पनि मिलेको छ।
गुणस्तर र विश्वसनीयताको प्रश्न आफ्नो ठाउँमा छ । तर, अनलाइन पत्रिकाहरूको संख्यात्मक वृद्धि निकै उत्साहजनक छ । अनलाइन कति छन्, त्यसको आधिकारिक लेखाजोखा छैन । प्रेस काउन्सिलको सूचीकरणमा सहभागी तथा सूचना विभागमा दर्ता हुने अनलाइन पत्रिकाहरूको संख्या करिब हजारको हाराहारीमा छ । यसभन्दा धेरै गुणा बढी अनलाइन खुलेका छन्, बजारमा छन् । असरल्ल उम्रेका अनलाइन पत्रिकाको नियमन र अनुगमन गर्न राज्यका निकायलाई पनि सकस भएको छ।
प्रसिद्ध दार्शनिक इडवार्ड डे बोनोले भनेका छन्, 'यदि तिमी अवसरको प्रतीक्षामा छौ भने तिमी पनि भीडको सदस्य बन्नुपर्छ ।' हामी पनि त्यही अवसरको पर्खाइमा भीडमा सामेल भएका छौं । किनभने, भीडमा अवसर ज्यादा हुन्छ । कमजोरहरूको भीडमा थोरै राम्रो गर्दा पनि अगाडि बढ्ने आधार बलियो बन्छ ।