काठमाडौं– कुमारी क्यापिटल लिमिटेडको १० करोड इकाई कुमारी इक्विटी फण्ड बाँडफाँट भएको छ। बिहीबार कम्पनीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी बाँडफाँट गरिएको हो।
कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई फागुन १४ गतेदेखि फागुन २८ गतेसम्मका लागि निष्कासन गरेको थियो। जसमा मागभन्दा १३६ गुणा बढी दरखास्त परेकाले नियमअनुसार बढीमा २५ प्रतिशतसम्म थप गर्न सक्ने व्यवस्था अनुसार १० करोड इकाई बाँडफाँट गरिएको हो।
जसमध्ये १५ प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई आवेदकलाई रितपूर्वक बाँडफाँट गरिएको हो।
जसमा रितपूर्वक आवेदन दिने ९४ हजार ७३३ जनालाई इकाई बाँडफाँट गरिएको हो। आवेदन दिनेमध्ये ७५ वटा संस्था र बाँकी व्यक्तिगत रुपमा आवेदन परेको थियो।
कम्पनीका अनुसार १०० देखि २० लाख इकाई आवेदन दिनेलाई मागबमोजिम नै बाँडफाँट गरिएको छ भने २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात् २५ लाखदेखि ५० लाख इकाईसम्म माग गरी दरखास्त दिने प्रत्येक ७ जनालाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँट गरिएको हो।