काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरु पहिला तयार गरेर लगानी सम्मेलन गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले लगानी सम्मेलन गर्दा ठूला आयोजनाहरुको अध्ययन नै नगरी गरिने भएकोले त्यस्ता सम्मेलन फलदायी नहुने बताए।
अब हामीले ‘रेडिमेड प्रोजेक्ट’ सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ, अध्यक्ष गोल्छाले भने, ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो। ’
महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउन सक्ने देशका नेपालस्थित दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको बताउँदै अध्यक्ष गोल्छाले आफूहरुको प्रयास साँच्चिकै परिणाममूखी हुनुपर्ने र महासंघ त्यसको तयारीमा रहेको पनि स्पष्ट पारे।
‘मुलुकले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानीसमेत आएका थिए तर विविध कारणबाट त्यो विस्तार भएर जान सकेन।’ उनले भने।
‘नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रिन सकेको छैन, समस्या कहाँ छ त्यसको निर्क्याेल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासको खाँचो छ’, अध्यक्ष गोल्छाले भने, ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरुरी देखिएको छ।
बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको छ। अध्यक्ष गोल्छाले भने, ‘बाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं।’ उनले अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक रहेको बताए।
महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार समितिमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपीका श्रेष्ठ रहेका छन्।
त्यसैगरी समितिका सल्लाहकारहरुमा इन्जिनियर देशबन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त छन् भने आमन्त्रितहरुमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशालमणि उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी छन्।