काठमाडौं- नेपाल विद्युत प्राधिकरणले प्रदेश नं २ का ८ जिल्लाको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न टाटा प्रोजेक्ट लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ।
प्रदेश २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको हो। प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको थियो।
आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। यो अनुदान एसियाली विकास बैकमार्फत् संचालित हुनेछ।
प्राधिकरणकातर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी रोशन खड्कालगायत अन्य ५ जना र टाटा प्रोजेक्टका तर्फबाट महाप्रवन्धकहरु श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरेका छन्।
आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९०० दिन अर्थात् ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पनि विद्युत प्राधिकरणले जनाएको छ।
सो काम सम्पन्न भएपछि प्रदेश २ को समग्र विद्युत प्रसारण र वितरण प्रणालीमा सुधार आई उद्योगधन्दा सञ्चालनको लागि पनि सहज हुने आयोजनाका संयोजक बोधराज ढकालले बताए।
निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दीप कुमारले प्रतिबद्धता जनाए।