काठमाडौं– नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट शुरू हुँदै छ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो। प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ।
यसै क्रममा आसन्नप्रतियोगितामा आइएमई ग्रुपअन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ। हालै राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको थियो।
पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सो सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतपत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गरे।