शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माघमा क्युआर कोडमार्फत् एक अर्ब ७१ करोड बढीको कारोबार

माघमा क्युआर कोडमार्फत् एक अर्ब ७१ करोड बढीको कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत् भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत् भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ।

गत महिनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत् भुक्तानी हुने गरेकामा माघमा रु. ५० करोड बढीको कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महिनाको तुलनामा माघमा मात्र ४६ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। गत पुसमा रु. एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकामा माघमा रु. एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो। 

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएको छ। पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत् हुने कारोवार रकममा वृद्धि हुने गरेको छ। गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत् रु. १० अर्ब बढीको कारोबार भएको छ। 

कनेक्ट आइपिएसमार्फत् एक खर्ब चार खर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको छ। 

उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो। बैंकको तथ्यंकअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत् रु. एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ। सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ। 

माघमा मोबाइल बैंकिङमार्फत् रु. ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ। गत पुसमा रु. ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोबार भएको छ। माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ। 

इन्टरनेट बैंकिङमार्फत् रु. नौ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ। माघमा ३१ हजार ४८२ पटक कारोबार भएको छ। वालेटमार्फत पुसमा रु. नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोबार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु. नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ। एक महिनामा एक करोड ५१ लाख छ हजार पटक कारोबार भएको छ। 

यसैगरी गत पुसमा अनलाइन (इ-कमर्श) बाट रु. ८४ करोड ३० लाख बराबरको कारोबार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु. ९३ करोड २० लाख बराबरको कारोबार भएको छ। रासस

प्रकाशित: Mar 17, 2021| 14:43 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्