काठमाडौं– सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार भएको भेटका क्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन्। उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिनभित्रै यस विषयमा निर्णय हुने जानकारी दिइन्।
माग र आपूर्तिबीच चरम असन्तुलन देखिएको स्वीकार गर्दै उनले अहिलेको बजारको वास्तविक मागका विषयमा व्यवसायीहरुसँग चासो राखेकी थिइन्। सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको बीचमा सन्तुलन ल्याउनका लागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिका लागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए। त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गरेका थिए।
उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे। अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनको दाबी थियो।
पछिल्ललो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो।