पोखरा- पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रबर्द्धन र डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको छ।
पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्नेछन् भने फोनपेले इसेवालगायत उसका अन्य कम्पनीमार्फत् पोखराको पर्यटन प्रबर्द्धनमा सघाउने छन्।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्नसके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाइ राखे। डिजिटल मुभमेन्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढीभन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे।
फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा कार्यक्रममा बताएका थिए। संघले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल विषयमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट सहयोग रहने उनले सो अवसरमा बताए।
नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरीप्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए।
सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने उनले बताए। राष्ट्र बैंकले यस्तो भुक्तानीलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबर्द्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाइ राखेका थिए। कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, फोन पे समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाई र संघका महासचिव गणेशराज पहारीले पनि भनाइ राखेका थिए।