अमेरिकामा ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)’ ले फाइजर–बायोएनटक, मोडोर्ना र जोन्सन एन्ड जोन्सन कम्पनीका कोरोना भ्याक्सिन आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।
अनुमति पाएको करिब दुई महिनापछि मैले पनि फाइजर कम्पनीको भ्याक्सिन लगाएँ। अहिले मेरो हात दुखिरहेको छ र शरीरमा कुनै शक्ति नभएजस्तै महसुस भएको छ। मैले जीवनलाई अलिकति सुस्त गतिमा अगाडि बढाइरहेकी छु। यस्तो अवस्थामा मलाई देखेर मेरा साथीहरूले ‘तँलाई भ्याक्सिन लगाउने निर्णयमा पुर्याउने कारकतत्त्व के हो’ भनेर सोध्ने गर्छन्।
वास्तवमा जनवरीको अन्तिम दिन मेरो अंग्रेजी जन्म दिन पारेर उपहारस्वरूप पाखुरामा मैले कोभिड–१९ को भ्याक्सिन लगाउने निर्णय गरेकी थिएँ। सीडीसीले स्वीकृति दिएको झन्डै दुई महिनापछि मात्रै बल्लतल्ल साहस बटुलेर पाखुरामा भ्याक्सिन लगाउने निर्णयमा पुग्नु मेरा लागि ज्यादै महत्त्वपूर्ण थियो। किनभने मसँगै काम गर्ने मेरा अमेरिकी सहकर्मीहरू र अन्य साथीहरू कोही पनि भ्याक्सिनका लागि मानसिक रुपमा तयार थिएनन्।
मैले भ्याक्सिन लगाउने निर्णय गर्दा मजस्तै स्वास्थ्य क्षेत्रमा काम गर्नेमध्ये ३८ प्रतिशत कर्मचारीले मात्र भ्याक्सिन लगाएका थिए। कुल अमेरिकीमध्ये ८ प्रतिशतले मात्र दुवै डोज लगाएर ढुक्क थिए भने १६ प्रतिशतले पहिलो डोज मात्र लगाएको अवस्था थियो। उनीहरूले खोप उपलब्ध नभएर वा नपाएर भ्याक्सिन नलगाएका भने होइनन्। भ्याक्सिन उनीहरूको सामुन्ने उपलब्ध थियो। आवश्यक फाराम भरेर पाखुराको बाहुला माथि सुर्केर कुर्सीमा बस्ने मात्रै हुन्थ्योे।
भ्याक्सिन लगाइसकेपछि दीर्घकालीन असर, मृत्यु, डीएनए नष्ट, प्रजनन क्षमतामा ह्रास, किड्नीमा असर, क्यान्सर, एचआईभी संक्रमण आदि–इत्यादि भ्रम फैलाइएका कारण उनीहरूले निर्णय लिन सकिरहेका थिएनन्। यस प्रकारको भ्रम फैलिनुमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मुख्य जिम्मेवार थिए। उनले मिडियामा पटकपटक विज्ञान र भ्याक्सिनप्रतिको अविश्वास प्रकट गर्दै आएका थिए। तर ट्रम्प स्वयं र उनकी पत्नी मेलानिया ट्रम्पले भने ह्वाइट हाउस छोड्नुअघि गत जनवरीमा गोप्य रुपमा भ्याक्सिन लगाइसकेका थिए।
वास्तवमा वैज्ञानिकहरूले वर्षाैंसम्म अध्ययन, अनुसन्धान र परीक्षण गरेर ल्याएको खोपलाई राष्ट्र प्रमुखले नै शंका गरिदिएपछि जनताले विश्वास नगर्नु स्वाभाविक पनि हो। एकातिर राष्ट्रपतिको विवादास्पद अभिव्यक्ति र अर्कोतिर सामाजिक सञ्जालमा भेटिने तथ्यरहित भ्याक्सिनसँग सम्बन्धित भिडियो र लेखहरूले गर्दा विभिन्न शंकामा थप बल पुग्यो।
सामाजिक सञ्जालमा धेरैजसो त्यस्तै अत्यासलाग्दा समाचार पस्किँदा मानिस आनन्द मान्छन्। आधिकारिक र गलत छुट्याउन नसक्दा जुनसुकै समाचारलाई सजिलै पत्याइदिने प्रवृत्ति छ। भ्याक्सिनको अनुसन्धान र उत्पादनमा लागेका सयौं कम्पनीको प्रयास असफल भइरहेको अवस्थामा अकस्मात् भ्याक्सिन प्रयास सफल भएको घोषणा स्वाभाविक मान्न मानिसलाई अप्ठ्यारो परेको देखियो। अझ सीडीसीले एकाएक स्वीकृति पाएपछिको घटनाले भ्याक्सिनप्रति मानिसको संशय हराएन।
स्वयं अमेरिकीहरूले शंकाको घेरामा राखेको भ्याक्सिन मैले चाहिँ लगाउने निर्णय गरें। र, फाइजरको पहिलो डोज लगाउन लाइनमा बसें। तर मनमा हजारौं आशंकाको आँधीबेहरी थियो। आफूजस्तै हिम्मत गरेर भ्याक्सिनका लागि पर्खिएका साथीहरूले पनि मुटुु दह्रो बनाएका थिए। कुर्सीमा बसेको केही सेकेन्डमै ‘सीभीएस’ भन्ने प्रतिष्ठित फार्मेसीकी कर्मचारीले थाहै नपाउने गरी भाक्सिन लगाइदिइन्।
साँझ घर फर्कंदा दुख्न कम गर्ने र निद्रा लाग्ने औषधि लिएँ। तर औषधि नलिइकनै रात बितेको पत्तो भएन। प्रायः अलि लामो समय हवाईयात्रामा तनाव हुँदा एलर्जीको औषधि खाने गर्छु, जसले मलाई निदाउन मद्दत गर्छ। बिहान उठ्दा सुई लगाएको भाग सुन्निएको थियो। अलिकति दुखेको पनि थियो तर कुनै अतिरिक्त प्रभाव परेको थिएन।
पहिलो खोप लगाएको २१ दिनपछि दोस्रो डोजको पालो आयो। लगाएको एक घण्टापछि शरीरमा एलर्जी हुने, ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने आदि धेरै प्रकारका समस्या एकैपटक देखिए।
पाँच दिनसम्म पनि उस्तै समस्या दोहोरिएपछि डाक्टरसँग सल्लाह लिन गएँ। डाक्टरले अरू थप दुई दिन यस्तो लक्षण देखिने र अधिकांशलाई ठिक हुँदै जाने सल्लाह दिए। नभन्दै त्यस्तै भयो पनि। अहिले मेरो स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। वास्तवमा भ्याक्सिनप्रति एक प्रकारको आशंकाको बीचमा पनि मैले खोप लाउने निर्णय गरेकी थिएँ। किनकि कोभिड–१९ को विश्वकै केन्द्र बनेको न्युयोर्कमा दैनिक हजारौंको मृत्यु भइरहेको थियो। कैयौंले आईसीयू नपाएर मृत्यु रोज्नु परेको आँखाअगाडिको तितो यथार्थ सम्झें।
अस्पताल र नर्सिङ–होममा कोरोनाले सास फेर्न नसकेर छटपटाइरहेका, मृत शरीर चिसा ट्रकमा लादिएर महिनौंसम्म अत्येष्टिका लागि कुरिरहेका र भौतिक दुरी कायम गर्नुपर्ने कारणले प्रियजनसँग ‘गुडबाई’ समेत गर्न नपाउँदाको पीडा भनिसाध्य थिएन। न्युयोर्क आएपछि गहिरो मित्रता गाँसिएका प्रियजनहरू गुमाउँदा मुटु चिराचिरा भएको क्षण सम्झेर मैले भ्याक्सिन लगाउने निर्णय गरेकी थिएँ।
आज बिस्तारै समयले घाउ निको पार्दै गएको छ। महामारीले पचासौं हजार मानिस गुमाएको पीडाबाट न्युयोर्क सहर जसोतसो उम्केला। तर कोरोना भाइरसका कारण न्युयोर्कको मेन्हाटनस्थित ‘अम्पायर स्टेट–बिल्डिङ’ ले बैंकहरू टाट पल्टँदै गएको सूचना दिँदा बेलाबेलामा ‘रेडलाइट’ को खतरनाक संकेत हो कि जस्तो लाग्छ र मन चसक्क दुख्छ।
मैले जस्तै सबैले पाखुरामा भ्याक्सिन लगाइसकेपछि यहाँ पनि भाइरस नियन्त्रणमा आउला। अनि न्युयोर्कले ‘क्रेडिट’ को पहाडमा आफ्नो बाटो सम्याउँदै जाला। आफ्नो एकाग्रता भंग गर्ने गरी शंखनाद स्वरमा साइरन बजाउँदै हुइँकिने एम्बुलेन्सभन्दा निर्माण सामग्री बोक्ने भीमकाय ट्रकहरू मन्द गतिमै भए पनि गुडून् भन्ने लाग्छ।
घरदेखि काम र कामदेखि घर गर्न मात्र गर्न थालेको एक वर्ष पुगेछ। दुई वर्षअगाडिसम्म सबै मानिस छुट्टीमा आफ्ना घरतिर जान्थे। यस वर्ष कोहीकतै गएनन्। मलाई फेरि ‘ब्रड–वेड वा समुद्री किनारामा हिँड्न मन छ। फिल्म थिएटर, बार, रेस्टुरेन्ट, स्टोरहरू, म्युजियम र स्ट्रिट जीवनमा फर्केर रमाउन मन छ। कुनै पनि ठाउँको टिकट काटौं र जुनसुकै दिशामा उडौं भन्ने छटपटी भइसकेको छ।
‘स्टारबक्स’ कफीको मिठो बासनाले सताएको पनि धेरै भइसकेको छ। यही लतले गर्दा ‘स्टारबक्स’ कफीका दाना किनेर घरमा नै बनाउने कोसिस नगरेको पनि होइन। तर ‘कफी–सप’ मा बसेर कफीको चुस्कीसँगै कसैलाई सम्झनु, बहकिनु र आफैंप्रति गुनासो वा गर्व गर्नु बेग्लै आनन्दको विषय हो। घरमा भने त्यस्तो वातावरण मिल्दैन। त्यसैले मलाई कफीको कपभन्दा प्रिय लाग्ने कमै चिज छन्। एक प्रकारले भन्ने हो भने कफी मेरो सबैभन्दा मिल्ने साथी हो। आजकाल परिवार तथा मित्रहरूसँग संवाद गर्न पनि कफी बिना मलाई असम्भवजस्तै लाग्छ।
न्युयोर्कमा मलाई आनन्द लाग्ने विषयमध्ये रेलमा चढ्नु पनि एउटा हो। न्युयोर्कको रेलमा संसारमा बोलिने धेरै भाषा बोलिन्छन्। कुनै डिब्बाको कुनामा बसेर मोबाइल फोन चलाएको वा निदाएको अभिनय गरेर मानिसका गफ सुन्दा निकै आनन्दा आउँछ। म हरेक दिन यस्तो मौकाको फाइदा लिन्थें। छ डलर खर्च गरेर समेत मानिसका गफ सुन्न भनेर म यत्तिकै रेलमा ओहोरदोहोर गरेकी छु। कोभिडका कारण मेरो यो बानीबाट वञ्चित बनेको पनि धेरै समय भइसकेको छ।
न्युयोर्कमा मेरो अर्को महत्त्वपूर्ण सोख हो– खानेकुराको स्वाद। यहाँ झन्डै ३३ हजार रेस्टुरेन्ट रहेको तथ्यांक छ। संसारका करिब १७० मुलुकका नागरिकले यहाँ रेस्टुरेन्ट खोलेका छन्। उनीहरू आफ्नो देशका परिकार पस्किन्छन्। दैनिक एउटा मुलुकको रेस्टुरेन्टमा जाने हो भने पनि यहाँ उपलब्ध परिकारको स्वाद चाख्न एक सय ७० दिन लाग्छ।
म पाकशास्त्रमा खासै ज्ञान नभएको मान्छे हुँ। विगत एक वर्षदेखि मैले दाल, भात, तरकारी र रोटी मात्र खानुपर्दा नेपालको कुनै गाउँमा बसेजस्तै लागिरहेको छ। रेस्टुरेन्टहरूको निकै लोभलाग्दो सजावट, उनीहरूले गर्ने स्वागतसत्कार र मिठो मुस्कानसहित बोल्ने वेटरहरूको सम्झना गर्नुबाहेक बितेको वर्ष कतै हिँडडुल गर्न सकिएन।
कोभिड महामारीका बेला ‘ग्रोसरी–स्टोर’ मा एक मुठो हरियो धनियाँ किन्न पनि पट्यारलाग्दो लामो लाइनमा बस्नुपर्थ्याे। अब त्यसरी कहिल्यै लाइनमा बस्नु नपरोस् भनेर मैले भ्याक्सिन लगाएँ। बिरामीको उपचार गर्न प्रयोग गरिने सम्पूर्ण औषधि खर्चभन्दा भ्याक्सिनले धेरैको जीवन बचाउँछ भन्ने विश्वासले गर्दा मैले भ्याक्सिन लगाएँ।