काठमाडौ: काठमाडौँका विभिन्न स्थानबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित छ जनालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा नक्कली रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिए । उनले होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागुऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गरे ।
एक लाखलाई १० हजार रुपैयाँमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले बताए । बरामद गरिएको नेपाली नक्कली नोट अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएको प्रहरीले जनाएको छ ।
कसरी समातियो नक्कली नोट ?
काठमाडौँको नयाँ बसपार्कमा बाबुराम कँडेलले सञ्चालन गरेको सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेतका महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दुई हजार तिरेर हिँडेको र सोही नोट नक्कली भएपछि गोँगबु प्रहरीलाई खबर गरेर सोधखोज गर्दा एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको प्रभागका प्रमुख प्रताप पौडेलले जानकारी दिए ।
'बोगटीले दिएको सूचनाका आधारमा जेठ १ गते विहान सुजित तामाङ, साजन तामाङलाई लुभुबाट नक्कली नोट सातलाख ४३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएका हौं', पौडेलले भने ।
यसैगरी समातिएका तीनै जनाको बयानका आधारमा शुक्रबार दिउँसो काठमाडौँ महानगरपालिका चारढुंगेस्थित तेजेनजङ्ग थापाको घरमा प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा दुई करोड ५२ लाख बरामद गरिएको हो ।
यो रकम बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेवावा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापीतलाई छाप्न दिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
पक्राउ परेकाले राष्ट्रबैँकको अनुमति विना नै नक्कली नोट छापेको पाइएको छ । नक्कली नोट छाप्नेलाई विगोबमोजिमको जरिवना गरी दश वर्ष कैद हुने कानूनी व्यवस्था रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४