मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ऋषि कट्टेल भन्छन्- दुई साँढेले मिच्न खोजेका थिए, सकेनन् 

ऋषि कट्टेल भन्छन्- दुई साँढेले मिच्न खोजेका थिए, सकेनन् 

‘हामीमाथि दुई वटा झगडिया (केपी ओली र पुष्पकमल दाहाल) ले अन्याय गरेका थिए। अहिले अदालतले न्याय दिएको छ।’ 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले अदालतले आफ्नो दललाई न्याय दिएको बताएका छन्। 

सर्वोच्च अदालतले आइतबार कट्टेल नेतृत्वको नेकपा नै वैधानिक पार्टी भएको फैसला गरिदिएपछि उनले सत्तामा बसेकाहरुले गरेको अन्यायलाई अदालतले न्याय दिएको बताएका हुन्। 

‘हामीमाथि दुई वटा झगडिया (केपी ओली र पुष्पकमल दाहाल) ले अन्याय गरेका थिए। हामीले सडक र कानुनी रूपमा त्यसको प्रतिरोध गरिरहेका थियौं,’ उनले नेपाल समयसँग भने,  ‘अहिले अदालतले न्याय दिएको छ।’ 

उनले आफ्नो पार्टी जनसंघर्षमा रहेको र त्यसलाई नै निरन्तरता दिने बताए। 

‘हामी जनसंघर्षमा थियौं। त्यसलाई निरन्तरता दिन्छौं। हामीलाई यो फैसलाले केही फरक पर्दैन। सरकारी पक्षलाई फरक पर्ने हो,’ उनले भने। 

उनले आफू नेतृत्वको नेकपाले वैधानिकता पाएपछि ढुक्क भएको बताए।

‘निर्वाचन आयोगले दुई साँढे (ओली र दाहाल) को दबाबका कारणले नाम जुध्ने दल दर्ता गरिदिएको थियो। म साथीहरुसँग भएका बेला नै पत्रकार साथीहरुले फोन गरेर फैसलाको जानकारी दिनुभयो। मलाई ढुक्क लागेको छ,’ कट्टेलले भने, ‘अदालत जाने तयारीमा थिएँ। बाटैमा फैसला सुन्न पाइयो।’ 

उनले आधिकारिकताका विषयमा पहिलेदेखि नै भ्रम फैलाइएको गुनासोसमेत गरे। ‘पहिले पनि हामी नै आधिकारिक थियौं। आधिकारिकता खोस्ने ठाउँ नै थिएन। किनकि दल दर्ता र त्यसको प्रमाणपत्र हामीसँग थियो,’ उनले भने, ‘तर दुई साँढे प्रश्न उठ्ने गरी नाम जुधाउँदै दल दर्ता गर्न गए र आयोगले गरिदियो।’

उनले नेकपाको आधिकारिकता ओली–दाहालले नै पाउँछन् कि भन्ने धेरैले आशंका गरे पनि आफू भने विश्वस्त रहेको सुनाए।

‘अब नेकपा एमाले र माओवादी केन्द्र नै हुने भयो भन्ने फैसला आएको छ रे१ पढेको छैन। उनीहरुको जे थियो, त्यही पाए,’ कट्टेलले भने, ‘मैले आफ्नो दलको वैधानिकता पाएँ। जे हुनुपर्ने हो उनीहरुलाई भयो। मलाई केही फरक पर्ने होइन क्यारे!’ 

सर्वोच्चले आइतबार कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिने फैसला गरेको थियो। यस्तै साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै कायम रहने र एकता गर्नुपर्ने भए नयाँ प्रक्रियाअनुसार जानुपर्ने फैसला सर्वोच्चले गरेको छ।

प्रकाशित: Mar 07, 2021| 10:37 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।