काठमाडौं– सर्वोच्च अदालतले भर्खरै खारेज गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।
तीन नेताबीच केही बेरमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेटवार्ता हुने भएको हो।
पुनस्र्थापनापछि आज ४ बजे पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ। प्रतिनिधिसभा पुनस्र्थापनासँगै दाहाल–नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए। त्यसका लागि उनीहरूले कांग्रेसको साथ खोजेका छन्।
कांग्रेसले कानुनीरुपमा नेकपा फुटिनसकेकाले अहिले नै कुनै पक्षलाई समर्थन गर्न हतार नगर्ने बताउँदै आएको छ। यही विषयमा संवाद गर्न देउवा निवास बुढानिलकण्ठमै भेटवार्ता गर्ने तय भएको थियो। तर दाहाल–नेपाल व्यस्त भएकाले बानेश्वरमा भेटवार्ता गर्ने तय भएको स्रोतले जानकारी दियो।
सरकार गठनमा सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपाल समूहका शीर्ष नेताहरूसँग देउवा अझै विश्वस्त हुन सकेका छैनन्।
नेकपा संसदीय दलको नेतामा दाहाल चुनिएका छन्। यसको जानकारीसहितको पत्र भर्खरै संसद् सचिवालयमा दर्ता भएको छ।
सर्वोच्च अदालतले पनि कानुनीरुपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेको छ। अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधानिकता दिएको छ। योसँगै ओली र दाहाल पार्टीविहीन भएका छन्।