काठमाडौं– दार्चुला, ललितपुर, मोरङ, महोत्तरी, रोल्पा र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
दार्चुलाकाे लेकम गाउँपालका-६ बनस्याडीस्थित सडकमा ग३ च १६९३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा जिप चालक सोही ठाउँ बस्ने ३८ वर्षीय करन नाथ लगायत तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका-१० कोर्टडाडाँस्थित सडकमा बा.१९ प ६५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं चाबहिल बस्ने ललितपुर गोदावरी नगरपालिका-२ त्रिवेणीका ९ वर्षीय मरिचमान नगरकोटीको घटनास्थलमै मृत्यु भएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाँउस्थित सडकमा प्रदेश २-०२-००१ प ३८७८ नम्बरको मोटरसाइकल र बा४ ख ६९६ नम्बरको हाइस गाडी एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-११ बस्ने २१ वर्षीय मनोज कटुवाल र बेलबारी नगरपालिका-११ बस्ने २१ वर्षीय अर्जुन न्यौपाने छन्।
दुर्घटनामा घाइते भएका उनीहरुको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका हाइस चालक र सहचालकको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरीको गौशाला नगरपालिका-३ नबराजपुरस्थित सडकमा ज.२ प ५८७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ रजखोर बस्ने २५ वर्षीय केदार आले मगरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएको हो ।
रोल्पाको रुन्टिगढी गाउँपालिका-६ गातिनास्थित सडकमा रा.७ त ६४०० नम्बरको ट्याक्टरको ट्रलीमा च्यापिएर ट्याक्टरमा सवार रुन्टिगढी गाउँपालिका-६ गातीना बस्ने ३१ वर्षीय खगेन्द्र रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
कास्कीको पोखरा महानगरपालिका-७ बुलौदीस्थित सडकमा ग.५ प ८३६४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको सवारीसाधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-६ बैदाम बस्ने धनकुटा सहिद भूमि गाउँपालिका-१ हुगुवा घर भएका ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।