चितवन – पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा गाडीको ठक्करबाट चितुवाको बच्चा मरेको छ।
शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई गाडीले ठक्कर दिँदा मृत्यु भएको हो।
मुखमा चोट लागेको चितुवाको बच्चालाई डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए।
ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको उनको भनाइ छ। रासस