काठमाडौं– वैदिक सनातन कर्मकाण्ड महासंघ नेपालका संस्थापक अध्यक्ष पण्डित चित्रप्रसाद सुवेदीले सामाजिक र सांस्कृतिक क्षेत्रमा दिएकाे याेगदानको चर्चा गरिएको छ।
सुवेदीको ४५ औं दिनको पुण्यतिथिमा राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार, प्राध्यापक र प्राज्ञिक व्यक्तित्वहरुले सनातन परम्पराअनुसार सुवेदीले समाज परिवर्तन र धार्मिक पुनरजागरणका क्षेत्रमा दिएको योगदानको स्मरण गरेका हुन्। उनीहरूले सुवेदीले देखाएको सत्मार्गमा अघि बढ्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पं. सुवेदी समाजले पत्याएका व्यक्तित्व रहेका भन्दै उनले छाडेर गएका असल कामको संस्थागत रूपमा प्रचारप्रसार गर्नु र सामाजिक परिवर्तनको अभियान अघि बढाउनु सबैको जिम्मेवारी रहेको बताए।
उनले भने, ‘पं. सुवेदी वैदिक सनातन धर्मको जगमा समाजसेवामा लागेका व्यक्तित्व हुनुहुन्थ्यो। मानिस आफ्नो कर्मले स्थापित हुन्छ भन्ने उदाहरण हुन् सुवेदी।’
सुवेदीले वैदिक सनातन धर्मलाई समाज सुधारको आधार बनाएको उप्रेतीको भनाइ थियो।
उनले भने, ‘सबै जातजाति र समुदायका लागि कर्मकाण्डप्रति अभियान चलाउन सुवेदीको अगुवाइमा वैदिक सनातन कर्मकाण्ड महासंघ स्थापना भयो। संस्थाले चालेको कदमबाट सुवेदी मानवतावादी, आध्यात्मिक र सामाजिक अभियन्ता बन्न सफल भए। अब उहाँका उत्तराधिकारीले त्यसलाई अघि बढाउनुपर्छ।’
आफ्ना सद्कर्मलाई अगाडि बढाउन सुवेदीले खोलेको वैचारिक संस्था महासंघलाई सार्थक रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
मानिसको हृदय कर्मले जित्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति सुवेदीको अभियान समाज परिवर्तनका लागि वैज्ञानिक रहेको उनको भनाइ थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले पं. सुवेदीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।
सुवेदीले वैदिक संस्कृतिलाई मूलमन्त्र र जीवनशैली बनाएको धारणा उपाध्यायको थियो। यस्तै उपाध्यायले नयाँ पुस्तासँग सहकार्य गर्ने सुवेदीको प्रवृत्ति लोभलाग्दो रहेको बताए।
उनले भने, ‘सुवेदी देशभर वैदिक संस्कृतिको प्रचार, प्रसार विस्तारका निमित्त आजीवन समर्पित महान् तपस्वी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले पौरस्त्य संस्कृति र धार्मिक पुनर्जागरणका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’
उपाध्यायले सुवेदीका कृति र उनको पुस्तकालयलाई घरमा संरक्षण गर्न सकिँदैन भने प्रज्ञा प्रतिष्ठानले त्यसको जिम्मेवारी लिने बताए। सुवेदीलाई जीवन्त बनाउन उहाँको नाममा पुरस्कार स्थापना गरेर र प्रतिष्ठान बनाएर अध्ययनअनुसन्धानका गतिविधि बढाउन उनले परिवारजन र महासंघलाई सुझाव दिए।
पूर्वमन्त्री एवम् साहित्यकार मोदनाथ प्रश्रितले समाज सुधारका लागि सुवेदीले अघि बढाएको अभियान सर्वमान्य बन्दै गएको बताए।
उनले सुवेदीको स्मृतिमा सभा आयोजनाले समाजलाई अलिकति भए पनि जागरुक बनाउन सहयोग गरेकाे भनाइ राखे।
साहित्यकार तुलसी भट्टराईले आफू प्रज्ञा प्रतिष्ठानमा रहँदा महासंघका संस्थापक अध्यक्ष सुवेदीले उठाएका सामाजिक मुद्दामा सहयोग गरेको स्मरण गरे। उनले सबैलाई समान भाव राखेर अघि बढ्ने पं. सुवेदीको अभियान स्तुत्य रहेको बताए।
भट्टराईले भने, ‘सुवेदी कर्मकाण्डमा समावेशिता भित्र्याएर सामाजिक अभियन्ताको पहिचान स्थापित गरेका व्यक्तित्व हुनुहुन्थ्यो। सुवेदी आफैं सिंगो पुस्तक हुनुहुन्थ्यो। उहाँमा जेजे खोजे पनि पाइन्छ। उहाँलाई सिंगो राष्ट्रले चिन्नुपर्छ र उहाँको अभियानलाई अघि बढाउनुपर्छ।’
सुवेदीले सुरु गरेको अभियानलाई अघि बढाउन महासंघको ठूलो जिम्मेवारी रहेको उनको भनाइ छ। उनले भने, ‘संस्थाले उहाँलाई वैदिक सनातनको मूल आधार बनाएर अघि बढ्न तयार रहनुपर्छ।’
साहित्यकार रामप्रसाद ज्ञवालीले पं. सुवेदीजस्ता सचेत नागरिकको समाजमा अझै अति आवश्यक रहेको बताए। उनले सुवेदीको अगुवाइमा स्थापित महासंघमा छुवाछूत र जातीय विभेद अन्त्य गर्दै चेतनाको स्तर माथि उकास्न विशेष उत्तरदायित्व रहेकोमा जोड दिए। उनले सुवेदीको भौतिक देह नरहे पनि उहाँका कृति र योगदान जीवन्त रहिरहने बताए।
कार्यक्रममा उनले ‘पिता राष्ट्रगान’ शीर्षकको कविता वाचन गरेका थिए।
साहित्यकार एवम् पं.सुवेदीका पुत्र कृष्णप्रसाद सुवेदी (भारद्वाज मित्र) ले पिता चित्रप्रसाद सुवेदीमा सामाजिक समानता, शिक्षा, सांस्कृतिक सुधार आदिमा दिएको योगदानको चर्चा गरे।
आफूले २०३६ सालतिर सहभोज आयोजना गर्दा होस् वा नवीन कार्यको थालनी गर्दा पिताबाट जहिल्यै सकारात्मक र रचनात्मक साथ एवम् सहयोग रहेको स्मरण सुवेदीले गरे।
आफ्ना पितामा स्वामी दयानन्द सरस्वतीको प्रभाव रहेको उनको भनाइ थियो।
वर्ष दिनको पुण्यतिथिमा स्मृति ग्रन्थ प्रकाशन गरिने भन्दै उनले त्यसका लागि विद्वानहरुलाई पं. चित्रप्रसाद सुवेदीबारे आफूलाई लागेका कुरा लेखिदिन आग्रह गरे।
कार्यक्रममा लोकराज पौडेल, सुनिता भट्टराई, डिल्लीराम गौतम, रामचन्द्र भण्डारीले सुवेदीको योगदानको चर्चा गरेका थिए।

पं. सुवेदीका सन्ध्योपासन पद्धति, नित्यकर्म विधि, नारायण सूक्त, सीता पूजन पद्धति, पुष्पाञ्जलि, जन्मोत्सव विधि प्रकाशित पुस्तक हुन्।
सन्न्यास शेखर, चतुषष्ठि ज्योतिर्लिंग वर्णन, पशुपति महात्म्य, ऋषि तर्पणी, (उपाकर्म), संस्कार, संकल्प, श्राद्धशौच निर्णय, संकल्प रत्नावली, अहिंसा धर्म प्रकाश उनका अन्य प्रकाशित कृति हुन्।
उनका विचित्र भाष्य, परिमार्जित पौराणिक अग्निस्थापना, श्राद्ध पद्धति, लक्ष्मीपूजा पद्धति आदि कृति प्रकाशन हुन बाँकी छन्।
सुवेदीको जन्म १९८९ साल वैशाख २२ गते सिन्धुपाल्चोकको दुबाचौरमा भएको थियो।
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट शास्त्रीसम्मको अध्ययन गरेका सुवेदीले ज्योतिष, कर्मकाण्ड, पुराण, चारै वेद तथा उपनिषद्को अध्ययन गरेका थिए।
सिन्धुपाल्चोक दुबाचौरको बालसुधार माविको संस्थापक अध्यक्ष रहेका सुवेदी विश्व हिन्दु महासंघको आजीवन सदस्य, वैदिक सनातन कर्मकाण्ड महासंघको संस्थापक तथा जीवनपर्यन्त अध्यक्ष र ज्योतिष महासंघको सदस्य एवम् संरक्षक थिए।
२०११ सालमा गठन भएको पञ्चायतमा गाउँसेवक पदमा रहेका उनले गोरखा परिषद्मा रहेर पनि काम गरेका थिए। गाउँ सुधार समितिको अध्यक्ष, तत्कालीन दुबाचौर गाउँ पञ्चायतको उपाध्यक्ष, प्रधानपञ्च र शान्ति पार्टी नेपालको संस्थापक उपाध्यक्षमा रहेर सुवेदीले राजनीतिक व्यक्तित्वको परिचय बनाएका थिए।
२०१३ सालबाट श्रीमद्भागवत्, कथा प्रवचन आरम्भ गरेका उनले १८ पुराणमध्ये अधिकांश पुराण पारायण तथा कथा वाचन गरेका थिए। यस्तै २०५७ र २०५८ सालमा खुलामञ्चमा आयोजित बृहत् ज्ञान महायज्ञमा वाचनशिरोमणि नारायणप्रसाद पोखरेलका साथ पारायणमा संलग्न थिए।
उनले तत्कालीन महेन्द्रबाट आदरपत्र पाएका थिए भने विश्व हिन्दु महासंघले सम्मानपत्रसहित स्वर्णपदक प्रदान गरेको थियो भने नेपाल राष्ट्रिय ज्योतिष महासंघबाट पण्डित तथा पुरोहित शिरोमणि पदबाट विभूषित भएका थिए।
यस्तै श्री ५ वीरेन्द्र रजत महोत्सवमा रजत पदकले विभूषित भएका थिए। उनको निधन गत माघ ८ गते भएको थियो। उनका पत्नी रमा, पाँच छोरी र दुई छोरा छन्।